दशैँ नेपालीहरुका लागि सबैभन्दा ठूलो पर्व हो । यो पर्वलाई नेपाली हिन्दु धर्मालम्बिहरुले आफन्तसँग खुसीयाली साट्ने अवसरका साथमा आगामी कार्ययोजनाका लागि आशिर्वाद लिने महत्वपूर्ण दिनका रुपमा समेत स्वीकार गरेको पाईन्छ । दशैँको बाहना पारेर वर्ष दिन वा त्यो भन्दा धेरै समयावधि प्रत्यक्ष भेट नभएका परिवारका सदस्यहरु तथा आफन्तहरु भेटघाट हुने गर्दछन् । गणतन्त्रको स्थापनापछि देशमा धार्मिक स्वतन्त्रताको कार्यान्वयन भएको यसका कारण सबै धर्मका नागरिकहरुले निर्वाध रुपमा आफ्ना धार्मिक कार्यक्रमहरु गरिरहेका छन् । आम नागरिकहरुले धार्मिक स्वतन्त्रताको व्यवहारिक अभ्यास गरेको पुग नपुग दुई दशक भईरहेको छ । हामीले देशका सबै धार्मिक गतिविधि र तिनका मूल्य मान्यताहरुलाई सम्मान गर्नु आवश्यक छ । किनकी समाजका सबै जातजाति, भाषा भाषिका , धर्मको सम्मानले नै सामाजिक एकतालाई मजबुत बनाउनेछन् । जनगणना २०७८ को तथ्याङ्कलाई आधार मान्दा पनि बहुसङ्ख्यक नागरिकहरुले हिन्दु धर्ममा नै आस्था राखेको बताएको छ । यतिबेला नेपालीहरुको महान पर्व दशैँले नेपालीहरुको घरमा प्रवेश गरिरहेको छ ।
नेपाली अर्थतन्त्रमा दशैँ, तिहार तथा छठ जस्ताँ पर्वहरुले बजारलाई चलायमान तथा घरायसी क्षेत्रमा बचतका रुपमा रहेको पैँसालाई पुँजी निर्माण प्रक्रियामा पुर्याउनका लागि महत्वपूर्ण योगदान दिईरहेका छन् । अन्य समयमा भन्दा यो समयमा नेपालीहरुले मन खुलाएर आफ्ना लागि अनवश्यक उत्पादनहरु खरिद गर्ने कार्य विगत देखि नै परम्पराका रुपमा नेपाली अर्थतन्त्रमा रहेको छ । विभिन्न स्वदेशी तथा विदेशी कम्पनीहरुले आफ्ना धेरै उत्पादनहरु नेपाली बजारमा दशैँको अवसर पारेर बिक्रीका लागि सार्वजनिक भएकोले नेपाली अर्थतन्त्रको बलियो विशेषताका रुपमा चाडपर्वलाई लिन सकिन्छ । उत्पादकहरुले जसरी आम उपभोक्तलाई मध्यनजगर गरेर बजारमा वस्तु तथा सेवा ल्याएका छन् । त्यसरी म्याद सकिएका पुराना वस्तुहरु उत्पादकलाई विभिन्न उपहार तथा प्रलोभन देखाएर बिक्रि गरिरहेका घटनाहरु सार्वजनिक भईरहने समय पनि हो । आज देशमा सक्रिय जनशक्ति देशमा बस्न चाहिरहेका छैनन् । देशको राजनैतिक अवस्थाबाट आक्रान्त भएर आफ्नो परिवारका सदस्यहरु देश विदेशका विभिन्न कुनामा भएको अवस्थामा आएको दशैँले नेपालीहरुलाई खासै रौनक ल्याउन सकिरहेको छैनन् । वर्तमान समयमा मध्यम तथा निम्न आय वर्गका नेपालीहरुले दशैँ तिहार जस्ताँ पर्वलाई हार्दिकताका साथ स्वीकार गर्ने भन्दा पनि ठगिने, कालोबजारीयाको जालमा फस्ने, कृतिम अभावको सिर्जना गरि धेरै मुल्यमा वस्तु किन्नु पर्ने, खसिको मासु भनेर बाख्रीको मासु बेच्ने, आदि दिनका रुपमा चित्रण गर्न लागेका छन् । त्यसकारण वर्तमान समयमा मौलिक परम्पराको निरन्तरताका लागि मात्रै यस्ता पर्वहरु मानिने गरिएका छन् । कला , साहित्यको संरक्षणबाट पनि समृद्धिको यात्रालाई अगाडि बढाउन सकिन्छ भन्ने तथ्यलाई हाम्रो नेतृत्वले बुझ्न र बुझाउन नसक्दा पनि नेपालीहरुमा खुसियाली छाएको छैन् ।
सार्वजनिक यातायातमा पनि विगत देखि विकृत कर्म तथा अभ्यासहरु यो पटक पनि सुधार भएका छैनन् । एउटै सिटको टिकट ४ जनलाई बिक्री गर्ने देखि दोब्बर भाडा लिने कुरा यातायात क्षेत्रको सँस्कार नै बनिसकेको छ । यात्रुलाई मुस्कान सहितको सेवा दिनुपर्नेमा कमिसन सहितका राजमार्ग छेउका होटलमा खाना खुवाउने , चर्को मुल्यमा प्रतिस्पर्धी अन्य होटल नभएको स्थानमा गाडि रोक्ने उनिहरुको विधान नै बनेको छ । थुप्रै विकृतिका बीचमा यो क्षेत्रले हामीलाई दिईरहेको सेवाका लागि हामीले सम्मान गर्नैपर्ने हुन्छ । वर्तमान समयमा हाम्रा सडकहरुको अवस्था अत्यन्तै नाजुक र ईतिहासमा नै खतरायुक्त भएको अवस्थामा सार्वजनिक सेवका क्षेत्रमा हवाई यातायात सञ्चालक भने कमाउने ध्यानमा लागेका छन् । जसका कारणले हवाई यातायातको सुविधा लिएर गनतव्यमा पुग्नु पर्नेहरुका लागि दशैंको रौनक हराएको छ । सरकारले करौडौँ मुल्यका नयाँ बस किनेर यात्रुलाई सुरक्षित गनतव्यमा पुराईरहेका व्यवसायीका भन्दा पुराना जहाज किनेर उडाई रहेका व्यवसायीलाई प्राथमिकता दिने गरेका तथ्यले सरकार नी पहुचँवालको साथी हो भन्ने बुझ्न सकिन्छ । यात्रुको सहजता लागि राजमार्गहरु , टिकट काउन्टरहरुमा सरकारको उपस्थिती वजनदार हुन सकिरहेको छैन् । नागरिकहरुले भौतिक पूर्वाधारको बिजोगपूर्ण अवस्थालाई लिएर आफ्ना चाडपर्व मनाउन जन्मघर जान नसक्ने परिस्थिती आउदा पनि सरकारको ध्यान सत्ताको गणितमा हुनु अत्यन्त दुःखद पक्ष हो ।
आज दशैको छैटौँ दिन चलिरहेको छ । आम नागरिकहरुले पूर्ण विश्वासका साथ आफ्नो यात्रा सुरुवात गर्न नसकिए रहेको टिकट बिक्रीको अवस्थाले बताईरहेको छ । सरकारले अभिभाविकय भूमिकाको दायित्व भुलिरहेको छ । देशका दुई प्रमुख राजनैतिक शक्तिहरुको गठबन्धन मिलेर सरकार गठन भएको पहिलो दशैँमा नै आम नागरिकहरुले आफ्ना घरपरिवारसँगै एकसाथ दशैँ मनाउन कर्मस्थलबाट जन्मघर पुग्न ज्यानको जोखिम लिनुपर्ने अवस्था आफैमा पिडादायक र सरकारको असफलताको संकेत हो । चाडपर्वहरुलाई मित्रता ,सदभाव् , आत्मियता साटासाट गर्ने अवसरलाई जर्बरजस्ती व्यवसायीकतामा रुपान्तरण गरिएको छ । दशैँका अवसरमा खाद्यान्न, लत्ताकपडा, लगायत सबै आवश्यक कुरामा ठगिईरहेको अवस्थाले नै दशैँ खुसी र हर्षको पर्व नभई निरासा र चिन्ताको पर्व बनिरहेकोले नै उर्फ दशैँ हो ।
अन्त्यमा, अभाव र प्रतिकुल परिस्थितीका बीचमा सुरुवात भएका नेपालीहरुको महान पर्व दशैँ, शुभ दीपावली, छठ एवम् नेपाल संवत् का अवसरमा देशमा राजनैतिक स्थिरता, सामाजिक न्यायमा आधारित समतामूलक समाज, कृतिम बौद्धिकताले खस्किएको सामाजिक बौद्धिकता, मानवता, मानवीयता, बढ्दै गएका सामाजिक अपराध, भ्रष्टाचार, अनियमितता, अपारदर्शीता, नेतृत्वमा बढ्दो गैरजिम्मेवारीपना, प्राकृतिक प्रकोपबाट क्षती ग्रस्त भौतिक पूर्वाधार सबैमा सकारात्मक तथा गुणात्मक परिवर्तनको अपेक्षा सहित युवा बिहिन बन्दै गएको मुलुकलाई सुरक्षित, समुन्नत र सबैको साझा देश बनाउन हामी सबैलाई जिम्मेवार, नैतिक र ईमानदार बनाउने आशिर्वाद प्राप्त होस् भन्ने कामना सहित स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपाली आमा बुवा दाजुभाई तथा दिदीबहिनीहरुलाई हार्दिक शुभकामना व्यक्त गर्दछु ।
हुमराज भुसाल
प्रतिक्रिया