ताजा अपडेट »

दसैँ विदामा यी हुनसक्छन् घुम्नका लागि १० उत्कृष्ट गन्तव्य

बुधबार, २३ असोज २०८१, ०८ : ०२
226 Shares
बुधबार, २३ असोज २०८१
226 Shares

बुटवल । दसैँ-तिहार छठ जस्ता चाडपर्वका बेला कामबाट लामो छुट्टी मिल्ने, बच्चाहरूको स्कूल पनि बिदा हुने, मौसमसमेत अनुकूल हुने हुनाले यो समयमा धेरै नेपाली देशभित्रका साथसाथै देशबाहिर पनि घुम्न निस्कने गर्छन् । विदाको समय परिवार तथा साथीभाईसँग घम्नका लागि नेपाल भित्रै पनि उत्कृष्ट ठाउँहरु रहेका छन् । नेपालीमाझ पछिल्लो समय घुम्ने संस्कृति गज्जबसँग मौलाएको पनि छ ।

देशभर घुम्ने गन्तव्य धेरै छन् । नेपालीका निम्ति दशैं नै यस्तो अवसर हो, जसले घुम्न चाहनेहरुका लागि समेत उपयुक्त अवसर प्रदान गर्छ । किनभने कामकाजीहरुको लामो बिदा दसैँमा नै हुन्छ । दशैंमा घुमफिरको मूडमा हुनुहुन्छ भने यो उपयुक्त मौसम पनि हो । यहाँ हामी निकै चर्चामा रहेका भन्दा केही फरक १० गन्तव्यबारे तपाईंलाई जानकारी दिंदैछौं । 

लुम्बिनी र पाल्पाको रानीमहल 

विश्व शान्तीका अग्रदुत भगवान गौतमबुद्ध जन्मिएको ठाउँ हो लुम्बिनी । रुपन्देहीमा रहेको लुम्बिनी र बुद्धकालिन ऐतिहासिकताले जोडिएका ठाउँहरुमा घुमेर आनन्द लिन सकिन्छ । लुम्बिनीमा रहेका शान्ती दिप, अशोका स्तम्भ, मायादेवी टेम्पल, तिलौराकोट, रामग्राम लगायतका ठाउँहरु घुम्नका लागि वर्षेनी देश विदेशबाट पर्यटकहरु आउने गर्दछन् ।  

यसैगरी लुम्बिनी घुमेपछि एकै दिनमा पाल्पाको रानीमहल पुग्न सकिन्छ । सेन वंशीय राज्यको राजधानी पाल्पा विक्रम सम्वत् १८६१ मा नेपाल राज्यमा गाभियो । रानीमहल, श्रीनगर डाँडा, राम्दी सुन गुफा, कालीगण्डकी आदि पाल्पाका प्रमुख पर्यटकीय स्थलहरू हुन् । तत्कालीन पश्चिम कमाण्डिङ जनरल खड्गशमशेरले आफ्नी दिवंगत रानीको सम्झनामा रानीमहल बनाएका थिए । पाल्पा सदरमुकाम तानसेनबाट १५ किलोमिटर उत्तरपश्चिममा अवस्थित रानीमहल पुग्न गाडीमा एक घण्टा र पदयात्रा गर्दा तीन घण्टा लाग्छ । रानीमहल क्षेत्रमा खानाको व्यवस्था भएका सामान्य होटलहरु छन् ।

ranimahal

पाल्पा पुग्नेले छुटाउनै नहुने ठाउँ हो श्रीनगर डाँडा । तानसेनबाट २० मिनेटको हाइकिङमा पुगिने श्रीनगर डाँडाबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे हिमालहरू देख्न सकिन्छ । फर्किंदा पाल्पाली ढाका टोपी र करुवा उपहार ल्याउन सकिन्छ । यस्तै पाल्पाको चुकाउनीले पनि धेरैको जिब्रो रसाउँछ । 

शुक्लाफाँटा : विशाल घाँसे मैदानको फाँट र एकैसाथ देखिने दुई हजार भन्दा बढी बाह्रसिङ्गाको बथान शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रमुख आकर्षण हो । ३०५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको शुक्लाफाँटामा करीब १७ प्रतिशत घाँसे मैदान छ ।

शुक्लाफाँटामा बाह्रसिङ्गाका साथसाथै पाटेबाघ, एकसिङ्गे गैंडा, कृष्णसार लगायतका वन्यजन्तु पाइन्छन् । निकुञ्जभित्र रहेका बाबाताल, रानीताल, लालपानी क्षेत्रबाट बाघ हेर्नु निकै रोमाञ्चक हुन्छ । कञ्चनपुर जिल्ला सदरमुकाम महेन्द्रनगरबाट निकुञ्ज प्रवेशद्वार मजगाउँ पाँच किलोमिटर पश्चिममा पर्छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा परापूर्वकालमा थारू राजा सिंपालको दरबार रहेको उल्लेख भएको शिलालेख छ । शुक्लाफाँटा पुग्नेले छुटाउनै नहुने ठाउँ साविकका दोधारा र चाँदनी गाविस जोड्ने करीब १५०० मिटर लामो झोलुङ्गे पुल पनि हो ।

बर्दिया : ९६८ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघसहित एकसिङ्गे गैंडा, चितुवा, जरायो, चित्तल, बाह्रसिङ्गा, जंगली हात्ती लगायत ५६ प्रजातिका जनावर पाइन्छन् । यस्तै निकुञ्जमा घडियाल गोही, मगर गोही, सोंस लगायतका सरीसृप र ४५० भन्दा बढी किसिमका चरा छन् । चाहना अनुसार हात्ती वा जीपको सफारी या जंगलमा पैदल यात्रा गरेर मनोरम दृश्यसँगै जंगली जनावरको आनन्द लिन सकिन्छ ।

जंगलको आनन्दसँगै थारू संस्कृति बुझ्ने मौका पनि बर्दियाको महत्वपूर्ण आकर्षण हो । यहाँ कर्णाली र बबई नदीमा र्‍याफ्टिङ र फिसिङको मजा पनि लिन सकिन्छ । निकुञ्जबाट करीब २५ किलोमिटर पूर्वतर्फ खैरापुरमा रहेको लोपोन्मुख वन्यजन्तु कृष्णसार संरक्षित क्षेत्रमा कृष्णसारका बथान हेर्न पाइन्छ । संरक्षित क्षेत्र बर्दिया सदरमुकाम गुलरियाबाट ५ किलोमिटर दूरीमा छ ।

लाङटाङ र गोसाइँकुण्ड : सिन्धुपाल्चोक, नुवाकोट र रसुवा जिल्लामा ६,४४० मिटरको उँचाइसम्म फैलिएको लाङटाङ हिमाली क्षेत्रको पहिलो राष्ट्रिय निकुञ्ज हो । ६६० वर्ग किलोमिटर क्षेत्रफल ओगट्ने लाङटाङ राष्ट्रिय निकुञ्जमा चर्चित हिम उपत्यका लाङटाङ, केन्जिन भ्यालीका साथै धार्मिक स्थल गोसाइँकुण्ड छ । हिमाली क्षेत्रको पदयात्रामा लाङटाङ विश्वकै चर्चित गन्तव्यमध्येको हो ।

lantang

लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्ने गोसाइँकुण्ड र लाङटाङ उपत्यका जाने छुट्टाछुट्टै ट्रेकिङ ट्रेल छन् । लाङटाङ र केन्जिन भ्याली उपत्यकाको पदयात्रा पूरा गरेर काठमाडौं फर्किन पाँच दिन लाग्छ । गोसाइँकुण्डको पदयात्रा भने चार दिनमा पूरा गर्न सकिन्छ । असोज–कात्तिक महीना लाङटाङ ट्रेकमा जाने राम्रो समय हो । यहाँ पदयात्राका क्रममा रेड पाण्डा, हिमचितुवा, जंगली कुकुर लगायतका जनावर पनि देख्न पाइने संयोग मिल्न सक्छ ।

पर्सा, गढीमाई र सिम्रौनगढ : जंगल सफारी भन्ने बित्तिकै धेरैको ध्यान चितवनतर्फ पुग्छ । तर, चितवनभन्दा फरक ठाउँ जान चाहनेका लागि पर्सा राष्ट्रिय निकुञ्ज राम्रो विकल्प हो । यहाँ ९१९ प्रजातिका बोटबिरुवा र १०० भन्दा बढी प्रकारका जंगली जनावर छन् । गौरी गाई पर्साको प्रमुख आकर्षण हो ।

पर्सा निकुञ्जको सीमाना पश्चिममा चितवन राष्ट्रिय निकुञ्ज र दक्षिणमा भारतको वाल्मीकि राष्ट्रिय निकुञ्जसँग जोडिएकाले पर्सामा चितवनमा पाइने सबै किसिमका जनावर देखिन्छन् । पाटेबाघ, हात्ती, एकसिङे गैंडा, मृग र जरायोका बथानहरू पर्सामा सजिलै देख्न पाइन्छ ।पर्सा राष्ट्रिय निकुञ्ज घुमेपछि करीब ४० किलोमिटरको दूरीमा रहेको बाराको गढीमाई पुग्न सकिन्छ । पाँच वर्षमा विशेष मेला लाग्ने गढीमाई प्रसिद्ध शक्तिपीठ हो । थप एक दिन समय छ भने प्राचीन मिथिला राज्य तिरहुतको राजधानी सिम्रौनगढ पनि पुग्न सकिन्छ ।

सन् १०९७–१३२६ सम्म मिथिला राज्यको राजधानी रहेको सिम्रौनगढ अहिले बारा जिल्लाको सिम्रौनगढ नगरपालिकामा पर्छ । तिरहुत सभ्यता र संस्कृतिको केही अवशेष अहिले पनि त्यहाँ देख्न पाइन्छ । ५२ बिघा क्षेत्रफलमा फैलिएको पोखरी सिम्रौनगढको अर्को आकर्षण हो ।

इतिहासको शान सिन्धुली गढी : वि।सं। १८२४ मा गोर्खाली फौजले अंग्रेज फौजसँग बहादुरीपूर्वक लडेर विजय प्राप्त गरेको स्थान हो, सिन्धुली गढी । काठमाडौंका अन्तिम राजा जयप्रकाश मल्लले सहयोगका लागि बोलाएको कप्तान किन्लक नेतृत्वको अंग्रेज फौजलाई यही स्थानमा गोर्खाली फौजले परास्त गरेका थिए । गोर्खालीले अंग्रेजलाई हराएको गढी क्षेत्रमा त्यसबेला बनाइएका ट्रेन्च, आड तथा दुर्गहरू अहिले पनि हेर्न सकिन्छ । लेकको खाना, रसिला जुनार र डाँडाबाट तराईको दृश्यावलोकनले यहाँको मजा बेग्लै छ ।

सदरमुकाम सिन्धुलीमाडीबाट करीब १६ किलोमिटर उत्तरतर्फ र काठमाडौंबाट १४० किलोमिटर पूर्वमा पर्ने सिन्धुली गढी पुग्नेलाई बीपी राजमार्गले सहज बनाएको छ । नागबेली परेको बीपी राजमार्गमा यात्रा गर्ने प्रायःले ‘सेल्फी डाँडा’ मा फोटो खिचेकै हुन्छन् । थप एक दिन समय छ भने दुई घण्टामा धार्मिक र पौराणिक शहर जनकपुरधाम पनि पुग्न सकिन्छ ।

प्रकृतिकी रानी इलाम : इलाम भनेपछि अधिकांशका दिमागमा चियाबगानको चित्र आउँछ । हुन पनि महेन्द्र राजमार्गको चारआलीबाट उत्तरतर्फ उक्लँदै गर्दा चिया बगानको मनोरम दृश्य देखिन शुरू हुन्छ । चैतदेखि मंसीरसम्म बगानमा चिया टिपेको दृश्यले मुग्ध पार्छ । इलामेली लवज, स्थानीय संस्कृति, घरका डिजाइन धेरैका लागि आकर्षण हुन सक्छन् । त्यहाँ पुगेकामध्ये फिक्कल र कन्यामका चिया बगानमा फोटो नखिच्ने कमै होलान् । फिक्कलबाट १० किलोमिटरमा दार्जीलिङ पस्ने नाका पशुपतिनगर पुगिन्छ ।

ilam

समुद्र सतहबाट २,३२८ मिटरको उँचाइमा रहेको अन्तुडाँडाबाट ताजा चियाको चुस्की लिंदै सूर्योदय हेर्नुको आनन्द अन्यत्र पाइँदैन । अन्तुडाँडा इलामबाट गाडीमा तीन घण्टामा पुगिन्छ । इलामको अर्को आकर्षण हो, इलाम बजारबाट १८ किलोमिटरको दूरीमा रहेको माइपोखरी । माइपोखरीबाट पाँच घण्टाको पैदल दूरीमा ३,६३६ मिटर उँचाइमा रहेको सन्दकपुर पुगिन्छ । सन्दकपुरबाट कञ्चनजंघा, मकालु, सगरमाथा लगायतका हिमाल देखिन्छन् । सन्दकपुरबाट सूर्योदय पनि निकै रमाइलो देखिन्छ । इलाम घुमेर पाँचौं दिनमा काठमाडौं फर्किन सकिन्छ ।

ऐतिहासिक गोरखा र बन्दिपुर : गोरखा, नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको जन्मस्थल । गोरखा बजारबाट दरबारसम्म पुग्ने मोटर बाटो भए पनि धेरै पर्यटकहरू करीब एक घण्टा पदयात्रा गरेर दरबार पुग्छन् । दरबार सदरमुकामबाट पूर्वदक्षिण पहाडको टुप्पोमा छ । दरबारबाट उत्तरतिर मनास्लु, धवलागिरि, गणेश हिमाल लगायतका हिमालको मनमोहक दृश्य देखिन्छ । चर्चित मनास्लु पदयात्रामा जान पनि गोरखा पुग्नै पर्छ । अन्नपूर्ण क्षेत्रको पदमार्ग मोटरबाटोले बिगारेपछि पछिल्लो समय मनास्लु जाने पर्यटकको संख्या बढेको छ ।

एक रात दुई दिनमा गोरखा घुमेर फर्किंदा करीब अढाइ सय वर्ष पुरानो बन्दीपुर जान सकिन्छ । २०२५ सालसम्म तनहुँको सदरमुकाम रहेको बन्दीपुर आकर्षक पारिवारिक पर्यटकीय गन्तव्य हो । नेवारी संस्कृतिको झल्को दिने घर, रहनसहन, प्राकृतिक सौन्दर्य बन्दीपुरका विशेषता हुन् । बन्दीपुरबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लाङटाङ लगायत हिमाल देखिन्छन् । बन्दीपुर बजारबाट एक घण्टा ओरालो हिंडेपछि सिद्ध गुफा पुगिन्छ ।


सुदूरपश्चिम शक्तिपीठ : सुदूरपश्चिममा खप्तड, अछामको रामारोशन, दार्चुलाको अपि र बझाङको सैपाल हिमाल साथै कैलालीको टीकापुर, घोडाघोडी ताल, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज लगायतका घुम्ने ठाउँ छन् । पछिल्लो समय सुदूरपश्चिमका पर्यटन व्यवसायीले शक्तिपीठ प्याकेज प्रवद्र्धन गरिरहेका छन् । शक्तिपीठ प्याकेज अन्तर्गत डडेलधुराको उग्रतारा भगवती, बैतडीको निंगलाशैनी भगवती, त्रिपुरासुन्दरी र मेलौली भगवतीको दर्शन गरिन्छ । दुई दिन बैतडीमा बिताएपछि चौथो दिन बझाङमा सुर्मा देवीको दर्शन गरेर शैलेश्वरी देवीको दर्शन गर्न डोटी आइपुगिन्छ । यी सातवटै मन्दिर पक्की सडकसँग जोडिएकाले दर्शन पूरा गरेर पाँचौं दिन धनगढी फर्किन सकिन्छ । 

सम्पदाको भण्डार दैलेख : कर्णाली प्रदेशको दैलेखमा पञ्चकोशी क्षेत्र, कृति खम्ब, दुल्लु दरबार, पाथरनाउली, सात खम्ब, कोतगढी, पञ्चदेवल, वेलासपुर लगायतका महत्वपूर्ण सम्पदास्थल छन् । कोटिला, नाभिस्थान, श्रीस्थान, पादुका र धुलेश्वरलाई पञ्चकोशी क्षेत्र भनिन्छ । कर्णाली राजमार्गले दैलेख, जुम्ला र मुगुलाई सडक सञ्जालबाट जोडेको छ । सुर्खेतबाट कर्णाली राजमार्ग हुँदै दैलेख जाँदा सदरमुकाम दैलेख बजार नपुग्दै २५ किलोमिटर वर दुल्लु क्षेत्रमा रहेको पञ्चकोशी तीर्थस्थलको श्रीस्थान र नाभिस्थानमा नित्य प्रज्वलित ज्वाला हेर्न सकिन्छ ।

panchadewal-dailekh

नेपाली भाषाको पहिलो शिलालेख दुल्लु नगरपालिकामा छ । शिलालेख भएको ठाउँमा कीर्तिस्तम्भहरू पनि छन् । योगी नरहरिनाथले गरेको अनुसन्धान अनुसार कीर्तिस्तम्भमा सिंजा राज्यका खस राजाहरूको वंशावली कुँदिएको छ । पृथ्वी मल्लको कीर्तिस्तम्भ, दामुपालको स्तम्भ, सउना कार्कीको कीर्तिस्तम्भ, दुल्लु गढीको स्तम्भ र दैलेख बजारका चारखम्ब जस्ता स्तम्भ अध्येताका लागि विशेष रुचिका विषय हुन् । खस राज्यको ग्रीष्मकालीन राजधानी जुम्लाको सिंजा तथा हिउँदे राजधानी दुल्लु थियो । दुल्लु दरबार अहिले पनि यथावत छ । दैलेख सदरमुकाममा युनेस्कोले विश्व प्रतिभा सूचीमा सूचीकृत गरेको पञ्चदेवल छ । पञ्चदेवलमा शिखर शैलीमा निर्मित २२ वटा पुरातात्विक महत्वका स्मारकहरू छन् ।

बहादुर शाहको नेपाल एकीकरण अभियानको क्रममा वि।सं। १८४६ मा गोर्खाली सेनाले निकै कलात्मक ढङ्गले दैलेख बजारमा निर्माण गरेको ऐतिहासिक कोतगढी छ । दैलेख पुगिसकेपछि जुम्ला हुँदै मुगुको रारा तालसम्म पुग्न सकिन्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।