ताजा अपडेट »

नवरात्रको सातौ दिन, आज फूलपाती भित्र्याइँदै

विहीबार, २४ असोज २०८१, ०६ : १५
140 Shares
विहीबार, २४ असोज २०८१
140 Shares

बुटवल । बडा दसैंको सातौं दिन आज फूलपाती भित्र्याइँदै छ। घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैंघर अथवा जमरा राखिएको ठाउँमा साँझपख देवीको आराधनासहित फूलपाती भित्र्याउने चलन छ।

फूलपातीमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष आदि पर्छ। यसलाई नवपत्रिका पनि भनिन्छ।

फूलपातीलाई नौवटी देवीको प्रतीकका रूपमा भित्र्याउने चलन रहिआएको पनि संस्कृतिविद्हरूले बताए। केरामा ब्रह्मायणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकीदेवीको आह्वान गरी पूजा गरिन्छ ।

यसैबीच गोरखाबाट फूलपाती हनुमानढोका दरबारको दसैंघरमा भित्र्याउने परम्परा छ। गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दसैंघरका पुजारीसहित मगर जातिका छ जनाले लैजाने र त्यहाँबाट काठमाडौंको जमलसम्म ब्राह्मण जातिका छ जनाले लिन आएर पुर्याउने प्रचलन रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।