मास्टर भएको पहिलो वर्ष कोट पाईन्ट सिलाएपछि २० वर्षे लक्का जवान म सिनेमाको हिरोजस्तै भएको थिएँ । साथीहरूले मलाई देखेर जिस्काउँथे । सधैँ झुम्रो परेर गाउँघरमा डुल्ने मान्छे म, मास्टर भएपछि रुपडायल नै परिवर्तन भएको थियो । भदौ महिनाको १३ गते मास्टर भएर रुद्रपुरको हरैया माविमा नियुक्ति पत्र लिएर जाँदा विद्यालयका प्र.अ. कृष्णप्रसाद जैसीले मेरो शिरदेखि पाउसम्म नियालेर कसको नियुक्ति पत्र लिएर आएको भनेर प्रश्न गरेका थिए ।
लजाउँदै मेरो नियुक्ति पत्र हो र म नै मास्टर हुन आएको हुँभन्दा उनी छक्क परेर मलाई नै प्रतिप्रश्न गर्दै, हो र ? भन्दै थिए । सायद जीवनको यो रमाइलो अनुभव फेरि सुनाउने अवसर कहिले आउला र ? तलब एक हजार पाँच सय पचास थियो । दसैँ भत्तासहित डबल बुझेको थिएँ । नयाँ पचास-पचासका नोट थिए । पहिलो तलब पूरै आमालाई बुझाएको थिएँ । मलाई खल्ती खर्च त ट्युसन पढाएर महिनामा तीन हजार बढी कमाउँथेँ । तलब चोखो बच्थ्यो । घर भाडा फ्री थियो । खाना खर्च खासै लाग्थेन । यो कुरो पहिलो दसैँ २०५० सालको हो ।
हरैया माविमा गोकर्ण, सिएम, तुलबहादुर थापा, मेघनाथ, दलबहादुर क्षेत्रीलगायतका सरहरूसँगै पडाउँथेँ । गोकर्ण क्षेत्री कञ्चन गाउँपालिकाको संस्थापक अध्यक्ष समेत भए । सिएम, तुलबहादुर, दलबहादुर क्षेत्री सर लगायत निवृत्त भए पनि मेघनाथ सरले भने पढाउँदैछन् । १३ महिना सोही विद्यालयमा पढाउँदा दिन, महिना बितेको हेक्का नै भएन । रमाइलो गरी समय बिताइयो । त्यसपछि म पाल्पाको दोभानतिर आएँ ।
दोभानतिर राजेश, पदम, दुर्गा, सन्तोष, जयबहादुर, बालकृष्ण, मायालगायत हामीले क्लव खोलेका थियौँ । दोभान युवा क्लबमार्फत सांस्कृतिक कार्यक्रम गर्थ्यौँ । नाटक, प्रहसन गर्न राजेश, म, प्रेम, प्रितम, रिता, दुर्गी, नन्दे खप्पिस थियौँ । हाम्रो क्लबले दाइजो नामक नाटक देखाउँदा गाउँलेहरू दाइजो विरुद्धको अभियानमा सचेत भएका थिए । जागरूक भएका थिए । मैले लेखेको त्यो नाटक रुद्रपुर हरैया, कचफाँट, ओखलढुङ्गा लगायतका ठाउँहरूमा अभियानकै रूपमा देखायौँ । नाटक प्रदर्शन र सहयोगका लागि बालकृष्ण पाण्डेय, हुकुम सर, अमर सर, जीवन बस्नेत र डोरबहादुर दाइले बिपत्तै सहयोग गरेका थिए । पछिल्लो समय चुनुमाया दिदीले साथ दिएकी थिईन ।
गाउँमा दसैँ आउँदा दोहोरी गीत प्रतियोगिता गरिन्थ्यो । सुबिदार पतिप्रसाद बाजे, जमदार र मेजर बाजेहरू खुबै सहयोगी बन्थे । दोहरी गीतमा टुक्काले मन छुँदा सुबिदार बाजेले ‘मार्यो गाँठे’ भन्दा तत्कालीन दोभान गाविस सचिव दमबहादुर कार्की अङ्कलको खुसी उम्लिन्थ्यो ।
घनश्याम लम्साल, हुकुम सर र हरिकला थापा दिदी अतिथि कलाकार बनेर गाएको बिर्सेका छैनौँ । दसैँमा मन्दिर, स्कुल, बाटो, कोत घर लगायतका स्थानमा क्लबले सफा गर्थ्यो । भलिबल प्रतियोगिताको आयोजना गरिन्थ्यो । दसैँमा गाउँमा रमझम हुन्थ्यो । शरद ऋतुको सफा आकाश, सङ्लो दोभान र झुम्साखोला अनि झुल्दै गरेका धानका बालाहरूले दोभानको बयान गरी साध्य हुन्थेन । प्रकृति प्रेमी हामीहरूको सामूहिक प्रयासमा खुलेको दोभान युवा क्लबको आयु भने लामो हुन सकेन। क्लबमार्फत भैलो खेल्यौँ । सामाजिक एवम् सांस्कृतिक कार्यक्रम गरियो । वनभोज खाइयो । भ्रमण गइयो । तर यी सबै कुरा आज इतिहास बनेका छन् ।
पाल्पाको दोभान यति बेला तिनाउ गाउँपालिका बनेको छ । कचल, दोभान, मस्याम र कोल्डाँडा गाविसहरु मिलेर नै तिनाउ गाउँपालिका बनेको हो । यति बेला करिब १८ हजार जनसङ्ख्या र ६ वटा वडाहरू छन् । शिक्षाका लागि करिब ४० विद्यालय र एउटा मस्याम सामुदायिक क्याम्पस छ । आर्थिक विकासका लागि दुई दर्जन जति सहकारी छन् । सात दर्जन जति सामुदायिक वन उपभोक्ता समूहहरू छन् । उद्यमहरू छन् । व्यापार व्यवसाय राम्रोसँग चलेका छन् । सबै वडाहरूमा बाटाहरू पुगेका छन् । दालचिनी, अम्रिसोले गाउँको विकास भएको छ । पशुपालन, कृषि, पर्यटनमार्फत गाउँमा खुसी भित्रिएको छ । नुवाकोट र वसन्तपुरमा केवल कार पुगेकै छ ।
गाउँमा यति बेला दसैँ टुप्लुकिएको छ । सहर र विदेशबाट गाउँघर आइपुग्नेहरूका सङ्ख्या अगणितीय छ । धारा पुगेको छ, बाटो पुगेको छ । बिजुली, नेटको सुविधा यति बेला गाउँमै छ । स्वास्थ्य चौकी र होटेल, रिसोर्टहरु पनि गाउँमै खुलेका छन् । गाउँमा खुसी हुन दसैँ कुर्न पर्ने दिन गएजस्तै लाग्छ । तैपनि उति बेलाको अभाव दसैँ सम्झन लायक छ । दसैँ नआई नयाँ लुगाले आङ भेट्थेन । मुखमा मासुले राज्य जमाउन पाउँथेन । भात खान दसैँ कुर्ने कुरा यति बेला ठट्यौली बन्छ सायद ।
पुराना दसैँका यादहरू सुनाई रहँदा निधारभरि टीका थापेको, बाबा–आमालाई ढोग गरेको, आफन्तकहाँ टीका थाप्न लस्कर लागेर हिँडेको र हल्का बिजुली पानी खाएर घर आउँदा बाटो बिराएको ताजै छ मनमा । दैला मारा खेलेको, बाजि जितेको अनि नाँचेको कुराले यति बेला मनमा काउकुती लगाउँछन् । तर यति बेलाको दसैँ ! बयान कसरी गर्ने सबैलाई थाहा भएकै कुरा हो ।
प्रतिक्रिया