ताजा अपडेट »
एनपीएल् अक्सन

एनपीएलको अक्सन आज हुदै, कसरी हुदैछ खेलाडी किनबेच ?

आइतबार, २० असोज २०८१, ०७ : ४३
68 Shares
आइतबार, २० असोज २०८१
68 Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सन आज सम्पन्न हुँदैछ । काठमाडौंमा हुने अक्सन दिउसो २ बजेपछि सुरु हुने बताइएकाे छ।

नेपाल क्रिकेट संघ (क्यान) ले अक्सनका लागि सर्टलिस्टेड १४२ खेलाडीलाई सहभागी बनाउने तय गरिसकेको छ । तर सर्ट लिष्टमा केही खेलाडी छुटेको हुँदा केही खेलाडी थपिने नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले जानकारी दिएका छन् ।

आज हुने उक्त अक्सनबाट प्रत्येक टीमले १० खेलाडी किन्नेछन् भने १० खेलाडीका लागि प्रत्येक टोलीले अधिकतम ९० लाख खर्च गर्न पाउनेछन् । प्रत्येक िटमले ग्रेड ‘ए’ र ‘सी’ का ३-३ र ग्रेड ‘बी’ का ४ खेलाडी किन्नुपर्ने हुन्छ ।  ग्रेड ‘ए’का खेलाडीको न्यूनतम मूल्य १० लाख र अधिकतम मुल्य १५ लाख तोकिएको छ भने  ग्रेड ‘बी’ का खेलाडीको न्यूनतम मूल्य ५ लाख र अधिकतम मूल्य १० लाख राखिएको छ ।

त्यस्तै  ग्रेड ‘सी’ का खेलाडीको न्यूनतम मूल्य २ लाख र अधिकतम मूल्य ५ लाख निर्धारण गरिएको छ । कुनै पनि ग्रेडमा अधिकतम मूल्यमा दुई वा सोभन्दा बढी टोलीले इच्छा व्यक्त गरेको खण्डमा भने गोला प्रथाबाट टोलीको टुंगो लाग्नेछ ।

 ग्रेड ‘ए’ मा २७, ‘बी’ मा ३८ र ‘सी’ बाट ७७ खेलाडी अक्सनका लागी छनोट भएका छन् । ग्रेड ‘ए’ र ‘सी’ बाट समान २४-२४ र ग्रेड ‘बी’ बाट ३२ खेलाडी बिक्री हुनेछन् । क्यानका सचिव पारस खड्काका अनुसार १४२ जना खेलाडीकै नाम एउटै बट्टामा राखिनेछ र जुन नाम आउँछ सोहिअनुसार किनबेच सुरु हुनेछ।

अक्सनबाट १० खेलाडी छनोट हुने एउटा टोलीमा भने कुल १६ खेलाडी हुनेछन् । एक टोलीले अधिकतम ४ खेलाडी विदेशी राख्न पाउने र त्यसमध्ये एक खेलाडी एसोसिएट राष्ट्रकाे हुनुपर्नेछ । एक मार्की खेलाडी र अन्य एक खेलाडी ट्यालेन्ट हन्टबाट छनोट गरिनेछ । मार्की खेलाडी यसअघि नै तय भइसक्दा विदेशी खेलाडी र ट्यालेन्ट हन्टबाट छनोट भने स्वयं टोलीले गर्नेछन् ।

एनपीएल आउँदो मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौंमा हुँदैछ । एनपीएलमा पोखरा, काठमाडौं, चितवन, विराटनगर, लुम्बिनी, जनकपुर, कर्णाली र सुदूरपश्चिम गरी ८ फ्रेन्चाइज टोली सहभागी छन् । अक्सनको लाइभ नेपाल प्रिमियर लिगको आधिकारिक युटुब च्यानलबाट हुनेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।