काठमाडौँ । बहुचर्चित चलचित्र सिक्वेल ‘छक्का पञ्जा सिरिजको नया चलचित्र ‘छक्का पञ्जा ५’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । शनिवार सार्वजनिक भएको सिनेमाको ४ मिनेट लामो ट्रेलरले सिनेमाको कथावस्तुको सार बारेमा प्रकाश पारेको छ ।
चलचित्रको सार्वजनिक ट्रेलरमा मुख्य कथावस्तु सहित एक्सन, कमेडी, रोमान्सलाई स्थान दिइएको छ । चलचित्रको ट्रेलरमा देखिए अनुसार दीपकराज गिरीलाई इमानदार सरकारी कमर्चारीकाे भूमिकामा देखाइएको छ । चलचित्रमा भष्टचारलाइ मुख्य कथावस्तु बनाइएको बुझ्न सकिन्छ ।
यो चलचित्रका अघिल्ला सिरिजमा वैदेशिक रोजगार, वैदेशिक अध्ययन, विवाहेत्तर सम्बन्ध, विवाह, राजनीतिजस्ता आयामलाई कथावस्तु बनाइएको थियो । यसपटक ब्युरोक्रेसी र भ्रष्टाचारलाई मूल मुद्दा बनाइएको छ । चलचित्रमा तेज गिरी, निर्मल शर्मा तथा अभिनेता आर्यन सिग्देललाई विशेष भूमिकामा अभिनय गराइएको भएपनि निर्माण टिमले केही खुलाएको छैन ।
आमा सरस्वती मूभिज र आइएमइको प्रस्तुतिमा बनेको चलचित्रले भ्रष्टाचार र कर्मचारी तन्त्रलाई कटाक्ष गरेको छ । दीपाश्री निरौला निर्देशित सिनेमाको कार्यकारी निर्माता केदार घिमिरे (माग्ने बुढा) र निर्मल शर्मा रहेका छन ।
चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, वर्षा सिवाकोटीका अलावा राजाराम पौडेल, लोकेन्द्र लेखक, ब्रजेश खनाल, रमेश बुढाथोकी, प्रकाश घिमिरे लगायतका कलाकारहरू पनि ट्रेलरमा देख्न सकिन्छ ।
चलचित्रमा अभिनेता निर्माता दीपक राज गिरीको पटकथा रहेको छ भने चलचित्रको कथा र संवाद दीपक, केदार र दिलीप तामाङले संयुक्त लेखेका हुन् । हरि हुँमागाईको डिओपी, उत्तम हुँमागाईको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको चलचित्रमा विपिन मल्लको सम्पादन रहेको छ । चलचित्रमालाई श्री ब्यंकटेश इन्टरटेनमेन्ट र माता पाथिभारा फिल्मसले वितरण गर्दैछन् ।
प्रतिक्रिया