ताजा अपडेट »

लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ बन्ने भवनको संरचनागत व्यवस्थापन बारे छलफल

शुक्रबार, १८ असोज २०८१, १७ : ३४
22 Shares
शुक्रबार, १८ असोज २०८१
22 Shares

बुटवल । प्रदेश गौरवको आयोजना लुम्बिनी प्रादेशिक अस्पतालको १२ गते भवन निर्मार्ण बारे शुक्रबार सरोकारवाला निकायहरुबीच छलफल गरिएको छ । सो अवसरमा बोल्दै लुम्बिनी प्रदेश पूर्वाधारा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेलले सबैसँग समन्वय गरेर अघि बढ्ने प्रतिवद्धता गरे । बुटवलका विभिन्न व्यवसायिक संघ संस्था तथा अस्पतालका विभागीय प्रमुखहरु बीच भएको अन्तरक्रियामा नयाँ बन्ने अस्पतालको भवनमो संरचना तथा इन्टेरियरका बारेमा वृस्तित विवरणसहित छलफल गरिएको थियो । 

उपाध्यक्ष पोख्रेलले स्थनीय जनताको सहयोग र साथबिना कुनै पनि योजना सफल नहुने बताउँदै सबैको सहकार्यमा जोड दिए । लुम्बिनी प्रदेश सरकारले अघि सारेका गौरव आयोजनाहरु मध्ये सबैभन्दा प्राथमिकता दिएर लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणका लागि बजेट विनियोजन गरेको उल्लेख गरे । अस्पताल बिकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले यहाँका जनतलाई पनि अपनत्व महशुस हुनेगरी योजना निर्माणको कामलाई अघि बढाउन प्राधिकरणलाई आग्रह गरे । सम्पूर्ण निर्माणको काम प्राधिकरण मातहत रहने पनि यस विषयमा उठेका विभिन्न प्रश्नहरुको जवाफ अस्पताल बिकास समितिले दिनु परेको गुनासो गर्दै उनले समितिका प्राप्त गर्नुपर्ने भूमिका बारे पनि प्राधिकणलाई स्पष्ट पार्न आग्रह गरे । आम नागरिक, राजनीतिक दल, सञ्चारकर्मी लगायतले अस्पतालको भवन निर्माणको विषयमा विभिन्न जिज्ञासाहरु आफूलाई राख्ने तर प्राधिकरणले बिकास समिति तथा अस्पताल प्रशासनलाई कुनै पनि भूमिका नदिने र समन्वय नहुने गरेको उल्लेख गरे । 

अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकालले गुणस्तरमा जोड दिँदै सबैको निगरानी, समन्वय र सहकार्यबाट मात्रै योजना सम्पन्न हुने उल्लेख गरे ।  हाल सीमित श्रोत साधनबाट पनि दैनिक २ हजार बढीलाई सेवा प्रदान गरिरहेको अस्पतालले नयाँ भवन सम्पन्न भएपछि थप सेवा बिस्तार हुने उल्लेख गरे । अस्पताल प्रशासनले सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउने गरी काम गरिरहेको बताउँदै ढकालले अस्पताल भवन निर्माणसँगै प्रयाप्त जनशक्तिको व्यवस्थापन पनि अर्को प्रमुख कुरा रहेको स्मरण गराए । 

कार्यक्रममा कन्सल्टेन कम्पनी काठमाडौं युनिभर्सिटी सेन्टरका इ. समीर पन्तले नयाँ बन्ने भवन बारे जानकारी गराएका थिए । अस्पताल भवन निर्माणको लागि प्रदेश पूर्वाधार विकास प्राधिकरणले ६ अर्ब १८ करोड ७५ लाख रुपैयाँको लागतमा ठेक्का सम्झौता गरेको छ । लुम्बिनी प्रदेश मातहत रहेको प्रदेश पूर्वाधार विकास प्राधिकरणले भारतीय निर्माण कम्पनी क्याप साइट आशिष रेलिग्रेट भेन्चरले नेपाली कम्पनी आशिष रेलिगशनसँग संयुक्त रूपमा काम गर्ने गरी २०८० पुस २६ गते सम्झौता गरेको थियो ।

सम्झौता अनुसार २०८५ साल पुससम्म अस्पतालको भवन निर्माण सक्नुपर्ने छ । भवन निर्माणका लागि जग खन्न कूल ७३९ मध्ये ५७९ वटा पाइलिङ (जमिनमा मेशिनले प्वाल पारेर पिल्लर गाड्ने काम) सम्पन्न भइसकेको छ । वरीपरीका संरचनामा क्षति हुनबाट रोक्नका लागि १३ मिटर गहिरो पाइलिङ गरेर भवनको जग खन्ने काम गरिने छ । हाल ६५ जना कामदारबाट कम्तिमा दैनिक १० घण्टाका दरले काम भैरहेको हो ।

अस्पतालको नयाँ बन्ने भवनको डीपीआर अनुसार अत्याधुनिक भवनमा बहिरङ्ग सेवा (ओपिडी), आपतकालीन सेवा (इमर्जेन्सी), इनडोर सर्भिस कक्ष रहनेछन् । ग्याष्ट्रो, न्युरो, कार्डियोलोजी लगायतका सबै विशेषज्ञ सेवा एउटै भवनबाट सञ्चालन हुने छन् । भवनको माथि हेलिप्याड रहने छ भने हेलिप्याडबाट सिधै इमर्जेन्सीमा आउजाउ गर्न मिल्ने व्यवस्थित लिफ्टसमेत बन्नेछ । क्यान्सर उपचारका लागि भने अन्डरग्राउन्डसहित पाँच तलाको अलग्गै भवन बन्नेछ । 

नयाँ भवन निर्माणपछि हाल उपचारका लागि प्रयोगमा रहेका तीन वटा नयाँ भवनमा डाइग्नोष्टिक एन्ड रिसर्च, प्रसूति र महिला तथा बाल रोगको उपचारका लागि प्रयोग गरिने छ । हालको संरचनाबाट विस्तार गरि एक हजार दुई सय शैय्यामा बहु–अनुसन्धानात्मक अस्पतालको रुपमा स्तर उन्नति गर्न लागिएको छ । यसै क्रममा पहिलो चरणमा दुई नयाँ भावनाहरु निर्माण गर्न थालिएको छ । जस अन्तर्गत पहिलो २ तहको बेसमेन्ट भएको सात सय क्षमताको १० तले मुख्य भवन, दोश्रो १ तहको बेसमेन्ट र ४ तले १०० शैय्या क्षमताको क्यान्सर (अन्कोलोजी) भवन निर्माण हुनेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।