नेपालमा ७७ जिल्ला छन् । तीमध्ये ७० जिल्लामा पुगेका छन् गौतम पौड्याल । हुन त उनी नेपालबाहेक फ्रान्स, अफ्रिका, जर्मनी, बेल्जियम, चाइना, भियतनाम, स्वीट्जरल्याण्ड, भुटान लगायतका देशहरुमा पुगेका छन् । वन, वातावरण र जैविक विविधता संरक्षणका क्षेत्रमा ३० वर्ष खर्चिएर यतिबेला निवृत्तजीवन गुजारीरहेका छन् ।
हुन त वन,वातावरण र जैविक विविधता संरक्षणमा लागेका संरक्षण अभियन्ता यसै हात बाँधेर बस्दैनन् । उनीहरुले केही न केही गर्छन् । उनीहरुका सिकाई, भोगाईले समाजलाई नयाँपन दिइरहेका हुन्छन् । नयाँ उर्जा थपिरहेका हुन्छन् । यस्तै उर्जावान संरक्षण अभियन्ता हुन् गौतम पौड्याल ।
गुल्मीको मालिका गाउँपालिका वडा नं. ८ मर्भुङ्गमा जन्मिएका उनले सोही गाउँकै मालिका माध्यमिक विद्यालयबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेका हुन् । त्यसपछि उनले पोखराको वन विज्ञान अध्ययन संस्थानबाट वन विज्ञानमा आइएस्सी उत्तीर्ण गरे । विभिन्न समयमा उनले पाल्पा र काठमाडौंबाट विभिन्न विषयमा स्नताकोत्तर पूरा गरेका थिए । पहिलोपटक उनले २०५२ सालमा कास्कीको सिकलेस गाउँमा (संरक्षणविद् डाक्टर चन्द्र गुरुङको गाउँ भनेर चिनिन्छ । ) अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामा समाहित भई वन,वातावरण र जैविक विविधता संरक्षणमा गतिशील रहे । अन्नपूर्ण हिमालको फेदीमा रहेर त्यहाँको सुन्दरतालाई आँखामा सजाउँदै कर्मशील बने । पछि उनले गोरखाको मनास्लुसंरक्षण आयोजनामा समेत काम गर्ने अवसर प्राप्त गरे ।
त्यसपछि उनले विश्व वन्यजन्तु कोष नेपालमा जागिरे जीवन जोडे । उत्तरी पहाडी क्षेत्र संरक्षण आयोजनामा काम गर्नेगरी डोल्पा र मुगुमा २०६० सालमा त्यता पुगेका थिए । विद्रोही नेकपा माओवादी र तत्कालीन श्री ५ सरकारबीच ठूलो द्वन्द्व चलिरहेको थियो । दुवै पक्षबाट संरक्षणका लागि सहयोग मिलेपनि दुःख पनि उस्तै थियो । गाउँघर पुग्दा कहिले कुन पक्षबाट कहाँ मारिनु पर्ने हो कुनै ठेगान नभएको उनले सुनाउँदै थिए । त्रासका पाँच वर्ष गुजारेपछि गणतन्त्रको आगमनसँगै उनी तराईमा झर्ने अवसर प्राप्त गरेका थिए । पछि उनले तराई भू–परिधि कार्यक्रममा समाहित भएर पा्रकृतिक स्रोतसाधन संरक्षण र दीगो व्यवस्थापनमा निरन्तर गतिशील बने ।
कहिले उनी हिमाली क्षेत्र रसुवा पुगे । कहिले कञ्चनपुर । कहिले उनी दाङका फाँटहरुमा पुगेभने कहिले पाल्पाको बोटलनेक क्षेत्रतिर । उनी रहरको घुमाइ घुमेनन् बरु उनी आफ्नो ज्ञान,सीप,क्षमता र योग्यता बाँड्न एकोहोरो जनताका घरदैलामा संरक्षणमुखी अभियान लिएर पुगिरहे । कहिले डब्लुका गौतम सर बनेर हिमाली जिल्लामा भेटिए । कहिले संरक्षण अभियन्ता बनेर तराइका जिल्लाहरुमा चिनिए । जहाँ पुगेपनि उनको एउटै ध्येय थियो–वन,वातावरण र जैविक विविधताको संरक्षण गर्नु ।
यतिबेला गौतम पौड्याल दुई छोरी,श्रीमती र आमासँगै काठमाडौंको विशालनगरमा स्थायीबासिन्दाका रुपमा छन् । चिटिक्क परेको ढाइतले घर,कमाउण्डसहितको । यो उनको जीवनभरको पसिनाको महल हो । त्यही महलमा उनले आफ्नो सिकाई र भोगाईलाई प्रयोग गरेका छन् । कौशीखेती गरेर पाँचजनाको परिवारलाई पुग्ने तरकारी उत्पादन गरेका छन् । ताजा तरकारी दैनिक खाइरहेका छन् । उनकी आमाको रहर, गौतम सरको ज्ञान,सीप र उनकी मेडमको साथ,सहयोगले कौशीखेती फस्टाएको हो ।
१५ बढी जातका फलफूलहरु छन् । सुन्तलता,कागती फलेका छन् । उनको कौशीमा लटरम्म अम्बा फलेका थिए भदौको पहिलो साता म पुग्दा । अनि मुन्तला समेत चाख्ने अवसर जुर्यो । पाकेको एउटा अम्बा चाख्दा मुखै रसाएको थियो । एक सय बढी प्रजातिका फूलहरु उनको कौशीमा छन् । उनलाई सबैभन्दा बढी सुनाखरी मन पर्छ । देशका धेरै ठाउँबाट उनले आफ्नो कौशीमा सुनाखरी सारेका छन् । उनी आफै नै सुनाखरीजस्तै सुगन्धित छन् । संरक्षणको यात्रामा उनी सबैबीच यस्तै बसाएका छन् । कौशीखेतीका लागि समय लगानी गरेका छन् । मल,जलको प्रवन्ध गरेका छन् । स्याहारसुसार पुराएका छन् । र, त कौशीखेती सप्रेको छ ।
तार्किक बोल्ने उनको गुणको कदर नगरी सुखै छैन । धैर्यवान छन् । मिजासिला र मिलनसार उनको विशेष गुण हुन् । मित्रता राख्न सिपालु गौतम सरका सुधार्नुपर्ने कुरा नै नभएका भने होइनन् । निरन्तर गतिशील भइरहने उनी यतिबेला पनि काठमाडौं र बाहिर रहेका विभिन्न संरक्षणमुखी संघसंस्थामा सहयोगीका रुपमा क्रियाशील छन् । आफ्नो जागिरे सेवामुखी जीवनबाट सिकेका र भोगेका कुराहरु समाजकै निम्ति समर्पण गर्दै आइरहेका छन् । ज्ञान,सीप र क्षमताले उनलाई गुणी बनाएको छ । झुकाएको छ ।
सबैसँग समन्वय र सहकार्य गर्ने विशिष्ट क्षमताले उनलाई अरुकाबीच नौलो पहिचान दिएको छ । गौतम सर भनेर परिचित गराएको छ । उनको हार्दिकता र सम्झिरहने बानीलाई आजपनि संरक्षणकर्मीहरुले आँखा र मनमा सजाएका छन् । हृदयको गहिराईमा भेटिरहन्छन् । सम्झनामा संगालेका छन् । यो नै उनको ३० वर्षे संरक्षणमुखी जीवनको अभियानमा कमाएको खास धन र मन हो ।
प्रतिक्रिया