सन्धिखर्क नगरपालिकाका मेयर कृष्ण श्रेष्ठजी अर्घाखाँचीको सम्पन्न शाली व्यक्तिमा पर्नुहुन्छ, उहाँका कैयौँ व्यवसायहरू सञ्चालनमा छन्। उहाँका दुवै छोराहरूलाई मैले अमेरिकामा भेटे। अर्घाखाँचीका पुराना वामपन्थी–इतिहास बोकेका जनार्दन खनालजीका एक मात्र छोरा अस्ट्रेलियामा छन्, जसको कारण उहाँ ३÷४ पटक छोरा बुहारी कहाँ पुग्नुभयो।
मेरा साला बाबु नारायण अर्यालका तीन छोराछोरी अहिले सबै विदेशमा छन्। मेरी आफ्नै ठुली छोरी यमुना अमेरिकामा छिन्। माला रानीका पूर्व कार्यकारी प्रमुख खगेन्द्र मरासिनीका एक मात्र छोरा पनि उहाँ १२ वर्षदेखि अमेरिकामै हुनुहुन्छ। मेरी कान्छी छोरी पनि मौका पर्दासाथ विदेश छिर्ने दाउमा छिन्। उनलाई मैले रोक्न सकिनँ, म असमर्थ भएँ।
देशमै बस्न पर्छ छोरी भन्दा उनले मलाई भनिन्, ‘तपाईँहरूले जीवनभर राजनीति गरेर के देश युवाहरू बस्ने जस्तो बनाउनु भएको छ?’ म लाचार भएँ, मैले प्रतिउत्तर गर्न सकिनँ। यी सामान्य उदाहरण मात्र हुन्। हामी गहिरिएर अध्ययन गर्दा पाउनेछौँ कि देशभित्र हाम्रा छोराछोरी मात्र होइन, मन्त्रीका छोराछोरी पनि विदेशमा छन् र जान चाहन्छन्। माननीयका छोराछोरी पनि विदेश बस्न रुचाउँछन्। सचिवका छोरा–छोरी, हाकिमका छोराछोरी, एस.पी., डि.एस.पी., मेयरका छोराछोरी, डाक्टर, वकिल, न्यायाधीश, पत्रकार सबैका छोराछोरी विदेश मन पराउँछन् र निरन्तर विदेश गईरहेछन्।
अमेरिकाको राजधानी वासिङ्टन डिसीबाट कतारको लागि छुट्ने कतार एयरवेजको प्लेनमा झन्डै चालीस प्रतिशत नेपाली सवारी हुने गर्दछन् । कुनै हाकिमलाई डिवि पर्यो भने उसले हाकिमको पद छाड्न र ऊ अमेरिका जान मन्जुर गर्दछ । युरोप र अमेरिकी महादिपमा खास गरी तुलनात्मक रूपमा देशको शिक्षित र सम्पन्न शाली वर्ग भित्र पर्ने ब्राह्मण, क्षेत्री, ठकुरी र नेवार समुदायका छोराछोरी बढी जाने गर्दछन् भने आर्थिक रूपमा कमजोर र इतिहासमा पछाडि पारिएका अन्य जनजाति र ब्राह्मण क्षेत्रीमध्येका कमजोर परिवारका छोराछोरीहरू अरबका देशहरूमा हजारौँको संख्यामा जाने गरेको तथ्याङ रहेको छ ।
यस्तो किन भयो ? गरिब, विपन्न र कमजोर परिवारबाट बिदेसिनु ठिकै थियो तर जसको परिवार सम्पन्न छ, जसको बुबा हाकिम छ, मन्त्री छ, माननीय छ, मेयर छ , उद्योगपति छ, गाडी घोडा छन् सम्पत्ति छ, सबै कुरा छ, तर पनि ऊ नेपाल बस्न चाहँदैन यसको कारण के हो ? हामीकहाँ गडबडी कहाँ छ ?
जसले गर्दा कसैका पनि ठुलोका पनि, सानोका पनि, धनीका ,पनि गरिबका पनि, मन्त्रीका पनि, मेयरका पनि, छोराछोरी देशमा बस्न रुचाएनन् र बसाउन सकिएन, यसमा दोषी को हो ! यो तथ्याकंले कुन कुराको पुष्टि गर्दछ भने व्यक्ती धनी भएर मात्र हुँदो रहेनछ, धन दौलत र ब्याङ्क ब्यालेन्स भएर मात्र पनि हुँदो रहेनछ, जति ठुलो सम्पन्न साली भए पनि जब देश गरिब हुन्छ, जब देशको व्यवस्था गरिब हुन्छ, जब देशमा कुनै सिस्टमले काम गर्दैन, जब देशका सारा संरचनाहरू अस्तव्यस्त हुन्छन्, जब देश अराजकताको पराकाष्ठामा पुग्छ, तब कुनै एक व्यक्तिको सम्पन्नताले काम गर्दैन। देशको अस्तव्यस्तता र भद्रगोल अवस्थाले उसलाई पनि प्रभावित गर्छ।
विकास र उन्नति समग्रमा, सामूहिक र तुलनात्मक रूपले समानतामा हुनुपर्छ। आज देशको कुनै पनि वर्गको मानिस–चाहे पहाडको होस् वा मदेसको, धनी होस् वा गरिब, आर्य खस होस् वा जनजाति, उद्योगपति होस् वा मजदुर, शिक्षक होस् वा कर्मचारी, युवा होस् वा ज्येष्ठ, महिला होस् वा पुरुष–कोही पनि सन्तुष्ट छैनन्। यसको कारण केवल गरिबी र बेरोजगारी मात्र होइन;यो पनि हो, तर मुख्य कुरा विधि र प्रक्रियाकै हो।
युवाहरू विदेशमा किन आकर्षित छन्? के विदेशमा सजिलो छ त? सजिलो पटक्कै छैन। कठिन छ, अप्ठ्यारो छ । सबै परिवार, नातागोता, संस्कृति, संस्कार छाडेर सात समुद्रपार, न भाषाको जानकारी छ, न सभ्यता मेल खान्छ, न आफ्नो भन्ने कोही छ । काममा ठगाठग, लर्याङ्ग लुरुङ्ग केही गर्न पाइँदैन तर पनि विदेश जाने र देश छोड्ने युवाहरूको लर्को लागेको छ । जस्तै, पाकिस्तानका ५२७ विद्यालय योग्य शिक्षकको अभावमा बन्द भएको समाचार आयो। हाम्रो देशमा पनि केही वर्षभित्र यो अवस्था नआउला भन्न सकिँदैन।
विदेशमा यी कठिनाइहरू हुँदाहुँदै पनि युवाले विदेश मन पराउनुको खास कारण के हो भने युरोप र अमेरिकी महादेशका देशहरू तुलनात्मक रूपमा विधि र प्रक्रियामा चलेका छन् । त्यहाँको राज्यले आफ्ना नागरिकलाई कम्तीमा भोकै मर्न दिँदैन, पैसाको अभावमा उपचार नभएर मर्न दिँदैन । बरु, उपचारपछि किस्ताबन्दी गरेर १० वर्षमा बिल चुकाउन सक्छन्। त्यहाँ गएको तीन–चार वर्षमै गाडीको सुविधा, लाइसेन्सको सुविधा पाउँछन्। सात–आठ वर्षमा घर किन्छन्, त्यही कमाउँछन् र त्यही तिर्छन्। राज्यले नागरिकलाई विधिमा बाँधेको छ। अनुशासन पनि छ, स्वतन्त्रता पनि छ।
सरकारी कार्यालयहरूमा यहाँजस्तो लफडा, घुस खोरी, अराजकता त्यहाँ हुँदैन। हुन्छ भने हुन्छ, हुँदैन भने हुँदैन। हाकिमको पावर, मन्त्रीको पावर भन्ने कुरा त्यहाँ हुँदैन। पुँजीपति र मजदुर बिचमा आर्थिक रूपमा धेरै ठुलो असमानता छ, तर यहाँजस्तो श्रममा, कार्यालयमा, व्यवहारमा असमानता देखिँदैन। सबै बराबरजस्ता देखिन्छन्। मन्त्री पहिले, नेता पहिले, या हाकिम पहिले भन्ने हुँदैन। त्यसैले युवाहरूलाई ती देशहरू मन परेको छ। दसौँ लाख लगानी गरेर विभिन्न बहानामा अमेरिका र युरोप छिरेका छन् । देशको ओरालो यात्राको कारण खोजौँ र उपचारमा लागौँ।
हामी तीन दशकभन्दा बढी पञ्चायतका विरुद्ध लड्यौँ। परिणामतः हामी राजतन्त्रसहितको प्रजातन्त्रमा प्रवेश गर्यौँ। त्यसले पनि पुग्दैन भनेपछि पुनः डेढ दशक लड्यौँ र गणतन्त्रमा प्रवेश गर्यौँ। गणतान्त्रिक संविधान पनि बनायौँ। देश गणतन्त्रमा प्रवेश गरेको दुई दशक हुन लागेको छ। तर, विडम्बना, देश आवश्यकता अनुसार अगाडि बढ्न सकेन। देशका विकासका सूचकहरू अगाडि बढेनन्। देशमा विधिको शासन बस्न सकेन।
दुई दशकसम्म सत्ताको पालो सबैले पाएका हुन्, तर पनि जनताको आकाङ्क्षा र चाहना पूरा हुन सकेन। हामी जहाँ पुग्ने भनेर बाटो खनेका थियौँ, हामी आफैँ त्यो बाटो हिँडेनौँ, र हिँडिरहेका छैनौँ। यो देशको यस्तो हालत कसले बनायो? शेरबहादुरजीले ? वा नेपाली काँग्रेसले ? केपी ओलीजीले? वा नेकपा एमालेले ? प्रचण्ड जीले ? वा नेकपा माओवादीले?
शेरबहादुरजी मात्रै दोषी हुन्? होइन, ओलीजी मात्रै दोषी हुन् ? होइन, प्रचण्ड जी मात्रै दोषी हुन् ? होइन, देश बिग्रनुमा उहाँहरू सबै दोषी हुनुहुन्छ । ती पार्टीहरू पनि दोषी छन् । त्यसमा तपाईँ–हामी पनि उत्तिकै दोषको भागीदार छौँ । किनकि शारीरिक र मानसिक रूपले असक्त भइसकेका शेरबहादुरजीलाई हामी हजारौँले अहिले पनि जिन्दाबाद भनेकै छौँ । ओलीको पालो सकिँदा साथ देउवाजीलाई कुर्सीमा बसाल्न कम्मर कसेकै छौँ। देश बिग्रिएकोमा हामी जिम्मा लिन तयार देखिँदैनौ । यसको सारा दोष एमाले र माओवादीलाई दिन चाहन्छौँ ।
त्यसै गरी उखान टुक्का र अर्कालाई होच्याउन महारथ प्राप्त गरेका ओलीजीबाट देश बन्दैन, वहाँको योग्यता र क्षमता पुग्दैन भन्ने कुरा हामी मान्न तयार छैनौँ। लाखौँको सङ्ख्यामा आज पनि केपी जिन्दाबाद भन्दैछौं। त्यसै गरी, प्रचण्ड जीले पनि कुर्सीमा बस्ने अवसर धेरै पटक पाउनुभयो। वहाँलाई हामीले मौका पटक पटक आउँदैन, मौकामा चौका हान्नुपर्छ भन्यौं, तर वहाँबाट पनि कुनै आधारभूत परिवर्तन हुन सकेन। वहाँले पनि आफैँ खनेको बाटोमा हिँड्ने र हिँडाउने साहस गर्नुभएन। यी मुख्य पात्र र पार्टीहरू, जसले देशका दुई दशक बर्बाद बनाएर छाडे, देशको ओरालो यात्रामा मुख्यतः यी तीन पार्टी र यी तीन नेतृत्व जिम्मेवार छन्।
तर, गम्भीर प्रश्न यो छ कि, यो कुरा, इतिहासबाट अनुभव गरिएको कुरा, आजको मितिमा बहुमत मतदाता मान्न तयार छैनन्, अथवा मानेर पनि ती पार्टीहरूसँग सम्बन्ध विच्छेद गर्न तयार भइसकेका छैनन्। तर इतिहासले प्रमाणित गरिसकेको छ कि यी पार्टी र यी नेतृत्वबाट देश न त हिजो बन्यो, न त भविष्यमा नै बन्नेछ।
यो कुरा गर्दा, केहीले यसलाई राजावादी विचार देख्न सक्छन् वा पुनरस्र्त्थानवादी विचार भन्न सक्छन्, रास्वपाको विचार देख्न सक्छन्। सत्यको कुरा गर्दा, इतिहासको चिरफार गर्दा भिन्न विचारलाई आरोपित गर्नु नै जडसूत्रवादी चिन्तन प्रणाली हो। अब फेरि प्रश्न उठ्न सक्छ कि मुख्य मुख्य नेताहरू र पार्टीहरू नै काम लाग्दैनन् भने देश कसरी चल्छ? हामीले विश्वास गर्ने अर्को नेतृत्व कहाँ छ? अर्को पार्टी कहाँ छ? यो निराशावादी वा शून्य वादी विचार त होइन। तर इतिहासले हामीलाई सिकाएको ज्ञान यो हो कि पुरानो वा बनिबनाउ पार्टी, नेतृत्व वा वस्तुप्रतिको अविश्वास र मोह भङ्ग नभईकन नयाँको कल्पना हुन सक्दैन।
कुनै पनि कुराको जन्म पहिले विचारमा हुन आवश्यक छ। त्यसैले देशको वर्तमान अवस्थालाई हामी आत्मसात् गर्छौँ भने, देश बिग्रनुमा विधि र प्रक्रियाको साथै नेतृत्व र हामी पनि दोषी भएको कुरा मान्छौँ भने, हामी दासता र अन्धभक्तताकलाई परित्याग गरौँ। सत्यमा उभिने हिम्मत गरौँ, नराम्रो माथि प्रहार गर्ने साहसको विकास गरौँ। कसैको जयजयकार र निन्दावादको दास चेतनाबाट माथि उठौँ।
हाम्रा बनिबनाउ घर, जुन घरले हामीलाई आनन्द दिन सकेन, रोजगार दिन सकेन, स्वतन्त्रता र अनुशासन दिन सकेन, नागरिकलाई आत्मसम्मान दिन सकेन, त्यो जीर्ण भइसकेको, विचारहीन भइसकेको घरलाई परित्याग गर्ने हिम्मतको विकास गरौँ। अनि त्यही बिन्दुबाट विकल्पको जन्मको आधार तयार हुनेछ।
हामी देख्छौँ कि इतिहासमा बलिदानपूर्ण सङ्घर्ष गरेका, गणतन्त्र प्राप्तिका लागि आधा जीवन व्यतीत गरेका नेताहरूको विकल्पमा जनताले नगर निर्वाचित मेयरहरूलाई देख्नु साँच्चिकै दुःखलाग्दो कुरा होइन? अस्ति भर्खरै जन्मिएको रास्वपाबाट डराउनुपर्ने अवस्था किन भयो? हामीले आत्म समीक्षा गर्नुपर्ने होइन र?
हामीले कहाँ–कहाँ गल्ती गर्यौँ भनेर पछाडि फर्केर हेर्न पर्दैन र? सबैले समयमै सोचौँ, देशका सबै सूचकहरू क्रमशः आइसियुबाट भेन्टिलेटरको दिशामा जाँदै छन्। चलनचल्तीमा रहेका पाँच–सात पार्टी र तिनको नेतृत्वको कुर्सी अदला–बदलीले मात्र देश अगाडि बढ्ने वाला छैन। सबैले समयमै विचार पुर्याउनु पर्छ!
प्रतिक्रिया