ताजा अपडेट »

लुम्बिनीका सत्तिसाल थिए : कर्ण बहादुर कार्की

बुधबार, १६ असोज २०८१, १२ : २८
682 Shares
बुधबार, १६ असोज २०८१
682 Shares

नेपालको वामपन्थी /लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा, लुम्बिनी प्रदेशका वरिष्ठ पत्रकार ,स्वतन्त्रता सेनानी कर्ण बहादुर कार्कीको यही मिति २०८१ साल असौज १२ गते बिहान ७० वर्षको उमेरमा अप्रत्याशित, असामायीक तथा दुःखद निधन भएको घटनाले मलाई धेरै स्तब्ध र मर्माहत बनाइ दिएको छ । सर्वप्रथम अग्रज दाजु प्रति हार्दिक भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु । यस दुःखको घडीमा शोक सन्तप्त सम्पूर्ण परिवारजनमा गहिरो संवेदना प्रकट गर्न चाहन्छु ।

भनिन्छ–जीवन र मृत्यु, सम्पन्नता र ह्रास, जवानी र बुढापा भन्ने कुरा त वसन्त जस्तै अनन्त हुने गर्दछ । विश्वव्यापी परिवर्तन भइरहने यस नियमलाई बुझ्ने, अनुसरण गर्ने र सोही अनुरूपको जीवन, व्यवहार र आचरण गर्ने मानिसहरू, यहाँ उमेर समूहको कुरा बिलकुलै होइन, मरेर पनि हाम्रा बिचमा कैयौँ वर्षसम्म जीवितै रहन र समाजलाई सही दिशा बोध गरी रहन पुग्दछन् ।

मेरो दृष्टिकोणमा ठिक यस्तै, एउटा असाधारण र बहु आयामिक प्रतिभा र क्षमताका धनी पात्र थिए– कार्की । उहाँसँग    मेरो सामान्य परिचय २०४६ सालको राजनीतिक परिवर्तन पछि बिशेषत: २०५९ साल पछि भूमिगत कालमा जनयुद्धका तुफानी दिनहरूमा बुटवलमा उहाँकै निवासबाट सुरु भएको थियो । 

२०४६ सालको जनआन्दोलनको दौरानमा , जति बेला उहाँसँग मेरो सामान्य परिचय भएको थियो, त्यो बेला नेपालमा निरकुंश राजतन्त्रको अन्त्य र बहुदलीय बेबस्ताको स्थापनाका निम्ति देशमा काँग्रेस–वाम मोर्चा मिलेर संयुक्त जनआन्दोलन गरिरहेका थिए । त्यो ताका म नेकपा (मसाल) निकट रहेको अखिल भारत नेपाली एकता समाजको सक्रिय कार्यकर्ता थिए ।

नेपाल–भारत आवतजावत गर्ने क्रममा बुटवलमा पसेर दैनिक लुम्बिनी पत्रिका लिने क्रममा नै आदरणीय दाजु कर्ण बहादुर कार्कीसँग पहिलो पटक भेट भएको थियो । उहाँ त्यो बेला लुम्बिनी दैनिक पत्रिकाको अध्यक्ष तथा प्रधान सम्पादक हुनुहुन्थ्यो र त्यो बेला उहाँको नाम धेरै सम्मानजनक ढङ्गले सबैले लिने गर्दथे ।

त्यो बेला म धेरै सानो थिएँ । लुम्बिनी दैनिक पत्रिकाको विशेषता के थियो भने त्यसले नेपालमा राजाको निरङ्कुश तानासाही पञ्चायती व्यवस्था विरुद्ध आफ्नो नियमित सम्पादकीय र लेख÷ रचनाहरू मार्फत सम्झौताहीन सङ्घर्ष गरिरहेको थियो । मेरो भावना र बिचारको प्रतिनिधित्व त्यो पत्रिकाले गरेकोले त्यो पत्रिकाका अध्यक्ष तथा प्रधान सम्पादक कर्ण बहादुर कार्की र लुम्बिनी दैनिक सँग मेरो वैचारिक दोस्ती हुन पुगेको थियो । त्यो पत्रिका कहिले बुटवल र कहिले काठमाडौँ बाट समेत प्रकाशित हुने गरेको थियो । जहाँबाट प्रकाशित भए पनि हामीलाई हुलाक मार्फत भारतका विभिन्न प्रान्तहरूमा रहेका नेपाली कामदारहरूको ठेगानामा पठाउने गरिन्थ्यो ।

त्यस पत्रिकाको माध्यमबाट देशको विकसित राजनैतिक परिस्थिति लाई बुझ्न धेरै हद सम्म मद्दत पुग्ने गरेको थियो । देशमा राजाको निरङ्कुश पञ्चायती बेबस्ताको अन्त्य र त्यसको स्थानमा सीमित प्रकारको बहुदलीय व्यवस्थाको आगमन पश्चात् राजनैतिक स्वतन्त्रतासँगै प्रेस स्वतन्त्रता समेत कायम भयो । त्यस यताका दिनहरूमा देशमा कैयौँ प्रिन्ट मिडिया र इलेकट्रोनिक मिडियाहरू धमाधम खुल्न थाले ।

यस दौरानमा बुटवलमा नयाँ दिशा दैनिक, जनसङ्घर्ष दैनिक, मेची काली दैनिक, भावना दैनिक र अन्य कैयौँ दैनिक, पाक्षिक र मासिक पत्रिकाको उदय भयो । त्यो बेला हामीहरू प्रवासबाट हुलाक मार्फत त्यहाँका साङ्गठनिक गतिविधिका समाचारहरू पठाउने गरिन्थ्यो । मेरो नेपाल आगमन सँगै लुम्बिनी दैनिक पत्रिकाका लागि लेख लेख्ने ,पठाउने र प्रकाशित हुने दौर सुरु भयो । यससँगै दाजु कर्ण बहादुर कार्की सँगको समाप्यता पनि बढै गएको हो ।

भुमिगतकालमा जनयुद्धका तुफानी दिनहरूमा 
भूमिगत भएको प्रारम्भमा मेरो जिम्मेवारी केन्द्र, ब्युरो र जिल्लाको  समेत  प्रकाशन विभागमा थियो । ठिक त्यो बेला माओवादी पार्टीको मुख पत्र जनादेश साप्ताहिक भूमिगत रूपमा लखनउबाट प्रकाशित हुने गर्दथ्यो । त्यो पत्रिकाले देश र जनताको त्यो बेलाको  आवश्यकता र मागलाई व्यवस्थापन गर्न नसकेको अनुभूति सर्वत्र भइरहेको थियो ।  ठिक त्यही बेला नेकपा  (माओवादी) को तत्कालीन विशेष क्षेत्रीय ब्युरोले सके दैनिक, नसके पाक्षिक र त्यो पनि नसके  मासिक बुलेटिन निकाल्ने निर्णय गरेबमोजिम  त्यस कामको मुख्य  जिम्मेवारी मलाई दिएको थियो ।  

भूमिगत कालमा पत्रपत्रिका स्वदेशमै   प्रकाशन गर्ने र त्यसको  बिक्री वितरण गर्ने कार्य ज्यादै कठिन ,जटिल र चुनौतीपूर्ण त छदै थियो । किनकि  त्यो बेला देशमा  रक्तपातपूर्ण राजनीति  उच्च उत्कर्षमा थियो । त्यो ताका  प्रहरी र नेपाली  सेनाले माओवादी  नेता तथा  कार्यकर्ता लाई गिरफ्तार गर्दैनथ्याे। सिधै  जनताको  अनुपस्थित भएको स्थानमा अन्डर स्पोट इन्काउन्टर गर्दथ्यो । परिस्थिति  ज्यादै पेचिलो  र गंभिर थियो ।  

तत्कालीन ब्युरो इन्चार्ज नेत्र विक्रम चन्द र ब्युरो सह इन्चार्ज पम्फा भुसाल र मेरो बिचमा भएको सल्लाह अनुसार  तत्काल  नयाँ बिचार  मासिक पत्रिका  प्रकाशन गर्ने र सो पत्रिका सकेसम्म  बुटवल बाट नै प्रकाशित  गर्ने र त्यसको  प्रधान सम्पादक म बस्ने समझदारी  भए  अनुरूप बुटवल स्थित कर्ण बहादुर  दाजुसँग उक्त पत्रिका प्रकाशन गर्न  उहाँले सक्ने नसक्ने विषयमा  परामर्श गर्ने   जिम्मेवारी पनि मेरो नै थियो । उहाँ सङ्ग फोनमा कुरा हुँदा उहाँले  ‘मासिक पत्रिका’ भएकोले सकिने विश्वास दिलाउनु भयो ।

भुमिगत कालमा, जनयुद्धको  अवधिभर, उहाँको घरमै बसेर  पत्रिकाको  टाइप, प्रुफ रिडिङ, सेटिङ्ग र प्रकाशन, वितरणको काम मात्रै होइन म र मेरो स्टाफ र सहयोगीहरूको पुरै सुरक्षाको जिम्मेवारी पनि उहाँले नै लिनु भयो ।
उहाँले सबै  प्रकारका  जोखिम मोलेर प्रकाशित भएको पत्रिकालाई हाम्रो सेल्टरसम्म आफ्नै गाडीमा राखेर पुर्याउने गर्नुहुन्थ्यो ।

टाइप, सेटिङ्ग र प्रकाशनको काम अहोरात्र खटेर उहाँको छोरा सरोज कार्कीले गर्नु हुन्थ्यो । उहाँ दुवै बाबु छोरासँग मिलेर काम गर्दा कहिल्यै भूमिगत कालमा, जनयुद्धको बिचमा ,डर ,त्रास र भय वा आतङ्कको महसुस कहिल्यै हुन दिनु भएन । उहाँ, जुनसुकै समय , परिस्थिति र स्थानमा पनि  सतिसाल झैँ उभिनु हुन्थ्यो ।  उहाँ प्रकाशित सामाग्रीहरू लिएर हिड्दा  प्रहरी र सेनाको ब्यारेक र चेक पोस्टहरूमा पनि मुस्कुराएर कुरा गर्नु हुन्थ्यो ।

उहाँको चेहरामा कहिल्यै  डर, त्रास , भय र  आतङ्कको  लोगा मैले कहिल्यै  देखिन । उहाँ  ज्यादै निडर र साहसी  हुनुहुन्थ्यो । उहाँले त्यो दौरानमा  तत्कालीन  नेकपा माओवादी  पार्टीको  पत्रिका, अपिल, पुस्तक प्रकाशन र वितरणमा सहयोग गर्नु भयो । पार्टीले  आयोजना गरेका कैयौँ भूमिगत र अर्ध भूमिगत शैलीका कार्यक्रमहरू जसमा आमसभा, कोण सभा, बिचार गोष्ठी, सेमिनारहरूमा उत्साहका साथ भाग लिनु भयो र जनयुद्धको पक्षमा सारगर्भित भाषण गर्नु भयो । बुटवलबाट जनयुद्धको हेड क्वाटर रहेको आधार इलाका रोल्पामा सम्पूर्ण सञ्चारकर्मीहरूलाई अवलोकन  र समाचार सङ्कलनका  लागि पठाउन  सहयोग गर्नु भयो ।

आफू आबद्ध रहेको  लुम्बिनी  दैनिक पत्रिकामार्फत  जनयुद्धका  समाचार  लेख्न र प्रकाशन गर्न सम्पादक बाबुराम भट्टराईलाई  अनुरोध गर्नु हुन्थ्यो । उहाँको  त्यस प्रकारको  भूमिका र योगदानले जनयुद्धको  सफलताको  निम्ति  त्यो बेला धेरै  ऊर्जाको काम गरेको थियो । त्यो ताका मेरो उहाँसँग नियमित जस्तै प्रत्यक्ष अप्रत्यक्ष भेटघाट हुने गर्दथ्यो । म, बुटवलमा  रहँदा उहाँकै घरमा बस्ने खाने गर्दथे । त्यहाँ हुँदा कहिल्यै  असुरक्षित महसुस हुन दिनु भएन । जनयुद्धको बेला  सूचना तथा सञ्चारको महत्त्व माओवादी  नेता कार्यकर्ताले भन्दा हजारौँ गुणा बढी उहाँले बुझ्नु भएको थियो ।

मलाई आज पनि  त्यो रातको पुरै सम्झना छ, २०६० चैत्र ८ गते राती, नेकपा माओवादीको केन्द्रीय फौजी सङ्घर्षको योजना अन्तर्गत म्याग्दी जिल्लाको बेनी स्थित तत्कालीन शाही नेपाली सेनाको सैनिक छाउनी गोरख प्रसाद गण माथि फौजी कारबाही गर्ने योजना रहेको थियो । त्यो योजनाको मुख्य सैनिक कमान्डर तत्कालीन पश्चिम डिभिजनका कमान्डर नन्द किशोर पुन पासाङ र  विशेष क्षेत्रीय ब्युरो इन्चार्ज नेत्र विक्रम चन्द विप्लवले राजनीतिक नेतृत्व  गरिरहनु भएको थियो ।  त्यो  दिन राति म उहाँकै घरमा बसेको थिए । नयाँ बिचार मासिकको कैयौँ  दिन पहिले नै टाइप, प्रुफ रिडिङ् र सेटिङ्ग उहाँको छोरा सरोज र म बसेर सकेका थियो ।

त्यो पत्रिका सिर्फ हेडलाइन समाचारका निम्ति पेन्टिङ राखिएको थियो । यसरी किन पत्रिका पेन्टिङमा राखिएको थियो यसको पूर्व सूचना कसैलाई दिइएको थिएन । त्यो कारणले सबै  असमानजस्यतामा परेका थिए । अब मात्रै  हेड लाइन लेख्न र सेटिङ्ग गर्न बाँकी रहेको थियो ।  प्रेसमा काम गर्ने मजदुरहरू आइसकेका थिए । हेडलाइन  समाचारको मूल स्प्रिट कस्तो राख्ने भन्ने कुरा तत्कालीन ब्युरो इन्चार्ज पम्फा भुसालबाट आउने भएकाले म उहाँको फोनको प्रतीक्षामा लामो समय देखि रहेको थिए ।

समय घर्कँदै गएको थियो । कर्ण बहादुर दाइ त्यो दिन प्रेस स्टार्ट गर्न ज्यादै ढिलो भइसकेकाले ज्यादै तनावमा देखिनु हुन्थ्यो ।  अझ उहाँ भन्दा बढी भाउजू र केटाकेटी तनावमा देखिनु हुन्थ्यो । उहाँको घरको तल्लो तलामा प्रेस थियो । पत्रिका प्रकाशन हुनासाथ एउटा बोरामा हालेर राति नै सप्लाई गर्ने र सम्पूर्ण  प्लेटहरू तत्काल डिस्ट्रोय गरिन्थ्यो ।

त्यो  दिन हेडलाइन लेख्न र त्यसको सेटिङ्ग तथा  प्रेसमा  लैजान किन ढिलाइ भएको  हो त्यो कुराको जानकारी मैले सुरक्षाको कारण कसैलाई पनि गराएको थिइन । यसै बिचमा  पम्फा भुसालको फोन आयो । उहाँले जनमुक्ति सेना नेपालले आफ्नो पूर्व निर्धारित समयमै  बेनि स्थित सैनिक छाउनी माथि फाएर खोलेको र केही फौजी प्रगति भएको विवरण दिनु भयो । तत्पश्चात्  मैले युद्ध स्तरमा  हेडलाइन तयार गरे र सरोजलाई दिए । उनले पनि युद्ध स्तरमा टाइप, सेटिङ र ट्रेसिङ्ग पेपर तयार पारे ।

तर ,विडम्बना ! त्यो राति   कैयौँ प्रयास गर्दा पनि प्रेस  स्टार्ट नै भएन । त्यो  दिन राति पत्रिका  प्रकाशन करिब करिब  नहुने हो कि भन्ने चिन्ताले जति धेरै म चिन्तित  थिए त्यो भन्दा बढी  कर्ण बहादुर कार्की  दाजु चिन्तित हुनुहुन्थ्यो । उहाँले  भन्नू भयो – ‘भाइ मेरो त अलिकति  खाएको रक्सी पनि  उत्रियो ।’ अब के गर्ने होला ? उहाँले  तत्काल बुटवल स्थित मेचीदेखि  दैनिकका  प्रधान सम्पादक तथा  प्रोफेसर वसन्त राज खनाललाई  फोन गर्नु भयो र उहाँलाई समाचारको  विश्वसनीयता माथि भर पर्न अनुरोध गर्दै त्यो दिनको सम्पूर्ण हेडलाइन समाचार टिपाउनु भयो । जसलाई मेची काली दैनिक बुटबलले जस्ताको तस्तै  प्रकाशित गर्याे । जुन समाचार  देशकै मौलिक समाचार बन्यो ।  हाम्रो त्यो दिनको हेडलाइन समाचार मेची महाकाली  दैनिक बुटवलबाट प्रकाशित हुने भए पछि हामी ज्यादै खुसी भयौँ ।  यस परिघटनाले पनि यो कुरा बुझ्न मद्दत गर्दछ की, सूचना तथा सञ्चारको महत्वलाई बुझ्न र जिम्मेवारी बोधलाई अनुसरण गर्न उहाँ ज्यादै गम्भीर हुनुहुन्थ्यो । 

अग्रज दाजु कर्ण बहादुर कार्कीसँग बितेको यस चार दशकको दौरानमा म कुनै न कुनै ढङ्गले, प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिने, सहकार्य गर्ने र आवश्यक पर्दा वैचारिक सल्लाह सुझाव समेत लिने अवसर  प्राप्त गरेकाले उहाँले देश र जनताको निम्ति  पत्रकारिताको माध्यमबाट  खेलेको  भूमिकालाई मूलतः पाँच  चरणमा  विभाजन गरेर मूल्याङ्कन  गर्न उपयुक्त  ठान्दछु :

१) पञ्चायत कालिन चरण । २) बहुदल कालिन चरण । ३) जनयुद्ध कालिन चरण । ४) शान्ति कालिन चरण । ५) सुशासन र समृद्धिको चरण । प्रथमतः पञ्चायत कालिन चरणमा उहाँको  भूमिका र योगदान  तीस बर्षे राजाको एकतन्त्रिय निरङ्कुश फासिस्ट पंञ्यायति बेबस्ताको अन्त्य र त्यसको  स्थानमा पूर्ण प्रजातन्त्रको  स्थापनाका  लागि पेचिलो सङ्घर्षको चरण रहेको  देखिन्छ ।  दोस्रो ,देशमा  २०४६ सालको ऐतिहासिक जनआन्दोलनले  सीमित  प्रकारको  बहुदलीय बेबस्ताको स्थापना गर्न सफल भए पछि राष्ट्रियता ,जनतन्त्र र जनजीविकाका सवालमा आवाज उठाउँदै  पूर्ण प्रजातन्त्र  प्राप्तिका  लागि  सङ्घर्षमा बितेको  देखिन्छ ।

तेस्रो , जनयुद्ध  कालिन चरणमा  प्रत्यक्ष अप्रत्यक्ष  रूपमा तत्कालीन नेकपा  माओवादी  आन्दोलनको सेवामा नै आफू लाई आफू सक्दो  समर्पित गरेको  देखिन्छ । चौथो ,शान्ति कालिन चरणमा  संविधान सभा बाट  अधिकतम  प्रगतिशील  नयाँ संविधानका लागि  प्रयत्नशील  रहेको  देखिन्छ । पाँचौँ , २०७२ असौज ३ गते संविधान सभा बाट उहाँले आफूलाई लोकतन्त्र, सुशासन र समृद्धिको पक्षमा उभ्याउनु भएको  देखिन्छ  । त्यसको  जबलन्त उदाहरण हो : डा. बाबुराम भट्टराईको  सक्रियता  र पहलमा  २०७३ साल जेठ ३० मा गठन र घोषणा भएको नयाँ शक्ति पार्टी नेपालको केन्द्रीय संरक्षक परिषदको सदस्य बन्नुले त्यो कुराको पुष्टि गर्दछ । त्यसका  अलावा देश र जनताको निम्ति  उहाँले खेलेको  भूमिकाको अध्ययनका लागि  लुम्बिनी  दैनिक पत्रिका  बुटवलका  यश अवधिका सम्पादकीय र लेख रचना हरू नै आफै जीवित प्रमाणको रूपमा रहेको हुनुपर्दछ । 

उहाँको माथि पहिला नै भनियो, सामान्यतया नेपालको वामपन्थी आन्दोलन बिशेषत माओवादी आन्दोलनका प्रायः सबै जसो तल देखि माथिल्लो तहका नेता तथा कार्यकर्ता सङ्ग राम्रोसँग चिनजान र सम्पर्क रहेको थियो । उहाँले यस अवधिमा देशका धेरै नेता तथा कार्यकर्ता हरू लाई वैचारिक ,राजनैतिक ,साङ्गठनिक ,आर्थिक र भौतिक सहयोग गर्न कुनै कसर बाँकी  राख्नु भयको थिएन । तर  देशमा सामान्यतया २०७२ को विनाशकारी भूकम्प  र बिशेषत : कोभिड – १९ को महाव्याधि पछि  देशमा देखा परेको आर्थिक मन्दीले उहाँको पेशा व्यवसायमा परेको गंभिर असर र अर्कोतिर उहाँको पछिल्लो चरणमा  बिग्रँदै गएको  स्वास्थ्य अवस्थाका कारण  उहाँले  ज्यादै जटिल ,कठिन  परिस्थितिको सामना  गरिरहेको  र  कहीँ कतैबाट पनि  आफू लाई सहयोग नभएको कुरा कैयौं पटक सुनाउनु भएको थियो । यस सन्दर्भमा वयोवृद्ध वरिष्ठ वामपन्थी नेता मेघराज ज्ञवालीले उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आफ्नो  फेसबुकमा लेख्नुहुन्छ,– “दुःखमा सबैलाई काम लाग्ने सुखमा कसैले  वास्ता नगर्ने मान्छे हुन कार्की ।” उहाँको यो भनाइसँग मेरो पनि पुरै सहमति छ । 

लुम्बिनी दैनिक बुटवलको २० औँ वार्षिकउत्सवमा आयोजित गोलमेचमा अन्तिम भेट:
देशमा तत्कालीन नेकपा  माओवादी र नेपाल सरकारको बीचमा भएको विस्तृत  शान्ति सम्झौता पश्चात् देश संविधान सभाको चुनावमय भएको थियो । नयाँ  परिस्थितिमा मेरो जिम्मेवारी पनि नयाँ र स्थान पनि नयाँ हुन पुग्यो । म , जन आव्हान राष्ट्रिय साप्ताहिकको प्रबन्धक सम्पादकको  हैसियतले बुटवलमा कार्यरत थिए । त्यो दौरानमा मेरो  दाजु ,कर्ण बहादुर कार्कीको अलावा अरू कैयौँ साथीहरू सङ्ग चिनजान र सहकार्य गर्ने अवसर प्राप्त भएको थियो । त्यस दौरानमा बुटवलमा हुने सयौँ  कार्यक्रमहरूमा सहभागी हुने अवसर प्राप्त भएको थियो । २०६४ साल पौष १० गते  बिहानै  दाजु कर्ण बहादुर कार्कीले  फोन गर्नु भयो ।

संभवत बिहानको सवा पाँच बजे होला । लुम्बिनी  दैनिकको  बिसौँ  वार्षिकउत्सवको अबसरमा गोलमेच राखिएको र त्यो कार्यक्रममा  अनिवार्य  उपस्थितिका लागि  अनुरोध गर्नु भयो । उहाँको कुरा सुने पछि म, निर्धारित समयमै  आउँछु दाजु  भने र कार्यक्रममा सहभागी भए ।मेरो बिचारमा त्यो  दिनको  कार्यक्रममा  लुम्बिनी प्रदेशका वरिष्ठ  लेखक ,राजनैतिक  विश्लेषक, स्तम्भकारहरुका अलावा विभिन्न विधाका साहित्यकार  र पत्रकारहरुको बाक्लो उपस्थिति थियो । त्यो कार्यक्रमको सहजीकरण दाजु कर्ण बहादुर कार्कीले गर्नु भएको थियो । त्यो कार्यक्रममा  सम्पूर्ण वक्ताहरूले लुम्बिनी दैनिकको उज्वल भविष्यको कामना गरेका थियौँ ।  त्यहीँ मञ्च नै मेरो निम्ति दाजु कर्ण बहादुर कार्की सङ्गको अन्तिम औपचारिक मञ्च बन्न पुग्यो ।

त्यस यताका दिनहरूमा हाम्रो  प्रत्यक्ष भेटघाट नभए पनि  फोनमा सघन राजनैतिक र व्यवहारीक अन्तरङ्ग  हुने गर्दथ्यो । यहाँ यति कुरा त मैले दुःखका साथ भन्नै पर्छ, इतिहासको कठिन घडीमा दाजु कर्णबहादुर कार्कीलाई आर्थिक वा भौतिक सहयोग गर्ने स्थिति यस जुनीमा रहेन, त्यसका लागि म क्षमा प्रार्थी छु । पुनः हार्दिक श्रद्धाञ्जली । 

(लेखक खनाल नागरिक पहिलो अभियान नेपालका केन्द्रिय कार्यदलका सदस्य हुन् ।)


 

नारायण खनाल
लेखकको बारेमा
नारायण खनाल
स्तम्भकार