ताजा अपडेट »

पूर्वबाट फेरी बदली सुरु : कालो बादलले ढाकिन थाल्यो आकाश

मंगलबार, १५ असोज २०८१, १५ : ३४
368 Shares
मंगलबार, १५ असोज २०८१
368 Shares

काठमाडौं । बाढी पहिरो लगायत विपद्को त्रासदी निम्त्याएर केही दिन खुलेको मौसममा आजदेखि पुनस् बदली भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशबाट फेरि बदली सुरू भएको हो । अहिले कोशीमा बादलले ढाकिसकेको छ । भने, त्यसको असर कोशीसहित मधेश प्रदेश, बागमती र गण्डकीसम्म देखिने जनाइएको छ ।

‘बादल लाग्ने र हल्कादेखि मध्यम वर्षा हुनेछ । विशेषगरी कोशी प्रदेशमा हल्का र मध्यम वर्षा हुने छ । भने मधेश, बागमती र गण्डकी प्रदेशसम्मै फैलिने छ, सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा कम नै छ ।’-मौसमविद् प्रतिभा मानन्धरले भनिन् । यो असर भोलि र पर्सिसम्मै रहने जनाइएको छ । तर, ठूलो अनि लगातारको वर्षा भने नहुने मानन्धरले बताइन् ।

यसअघि ३ दिनको लगातारको झरीले देशभर जमिन गलेको हुँदा थोरै पानी पर्दा पनि बाढीपहिरोको सम्भावना रहेको जनाइएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । भारतको मध्य प्रदेश र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको उनले बताइन् ।

आज राति कोशीलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुने छ र हल्कादेखि मध्यम वर्षा पनि हुने जनाइएको छ । असोज १६ गते कोशी, मधेश प्रदेश र बागमती र गण्डकी प्रदेशमा बदली भई हल्कादेखि मध्यम वर्षा हुने छ ।

असोज १७ गते पनि सोही अवस्था रहेको विभागले जनाएको छ । कोशी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको विभागले सार्वजनिक गरेको बुलेटिनमा जनाइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।