ताजा अपडेट »

चाडपर्वको मुखमा इन्धनको मूल्य घट्यो, कति घट्यो? (सूचीसहित)

सोमबार, १४ असोज २०८१, २० : २९
432 Shares
सोमबार, १४ असोज २०८१
432 Shares

बुटवल । नेपाल आयल निगमले आजै राती बाट पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ । सोमबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ मट्टितेल तथा डिजेलमा प्रतिलिटर २ रुपैयाँ र हवाई इन्धनको मूल्य प्रतिलिटर ६ रुपैयाँ घटाएको हो ।
मूल्य घटेपछि चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५५ र डिजेल र मट्टितेल १४६ रुपैयाँ कायम भएको छ भने सुर्खेत र दाङमा पेट्रोलको मूल्य १५७ र डिजेल तथा मट्टितेल १४६ रुपैयाँ कायम भएको छ ।

काठमाडौँ, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य १५८ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य १४७ प्रतिलिटर कायम भएको छ । त्यस्तै आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १२६ कायम भएको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रति किलोलिटर ९६० अमेरिकी डलर र पोखरा तथा भैरहवामा ८६० रुपैयाँ प्रतिलिटर कायम गरिएको आयल निगमले जनाएको छ ।

एलपी ग्याँसको मूल्य भारतबाट नेपाली ४१ बढेर आएकोमा चाडपर्वलाई लक्षित गरी यथावत राखिएको निगमले जनाएको छ।  इन्धनको मूल्य घटेसँगै चाडबाडको मुखमा उपभोक्ताले राहत महसुस गर्ने विश्वास गरिएको छ । साथै आयल निगमले पर्वका बेला इन्धन आपूर्तिमा कुनै समस्या नहुने समेत जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।