ताजा अपडेट »

सडक खुलेपछि काठमाडौं भित्रिए १८ सय बढी सवारीसाधन

सोमबार, १४ असोज २०८१, १६ : ०८
80 Shares
सोमबार, १४ असोज २०८१
80 Shares

काठमाडौं । पृथ्वी राजमार्ग अन्तरगत धादिङको झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि राजमार्गमा अलपत्र परेका सवारीसाधन काठमाण्डौं उपत्यका भित्रिएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले आइतबार साझँदेखि झ्याप्लेमा अवरुद्ध सडक खुलेयता अलपत्र यात्रुहरुसहित लिएर सयौं सवारीसाधन काठमाडौं भित्रिएको जानकारी दिए ।

त्यसैगरी सोमबार दिउँसोपछि काठमाडौंबाट पनि सो राजमार्ग भएर सवारीसाधन पठाउने तयारीमा प्रहरी खटिएको प्रवक्ता तिवारीले जानकारी दिए । त्यसैगरी सोमबार दिउँसो गृहमन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक समेत बसेको छ । बैठकमा सुरक्षा निकायका प्रमुखहरुले बाढी, पहिरो, डुबान तथा विपद्मा भइरहेको उद्दार, राहत, घाइतेको उपचार र अवरुद्ध सडक खुलाउने विषयमा भइरहेको जानकारी गराएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार सोमबार दिउँसोदेखि सवारी साधन आवतजावत हुन थालेको हो। काठमाडौंमा मात्रै १८०० गाडी भित्रिसकेको उनले जानकारी दिए। यस्तै बाहिरिने क्रम पनि जारी नै रहेको उनले बताए। 

आज साझँसम्म काभ्रेपलान्चोकको बीपी राजमार्ग अन्तर्गत  रोशी खोलामा अलपत्र परेका सबै यात्रुहरुको उद्दार भइसक्ने प्रवक्ता तिवारीले जानकारी दिए । अहिले त्यहाँ नेपाली सेनासहित सुरक्षाकर्मीको टोली हवाइ उद्दारदेखि डोरीको सहायताबाट समेत अलपत्र यात्रुहरुको उद्दार निरन्तर गरिरहेको उनले बताए ।

अहिले विस्तारै सडक खुल्ने र खुलाउने क्रममा रहेको र अझै पहिरो लगायत जोखिम टरिसकेको बताउदै उनले अवरुद्ध सडक सुचारु गर्न सरोकारवाल निकायका साथै मुलुकका विभिन्न स्थानमा सुरक्षाकर्मीको टोली समेत परिचालन भएको बताए ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।