ताजा अपडेट »
‘द डार्क फाइल’ प्रकरण

सिधाकुराले अदालतको अवहेलना गरेको सर्वाेच्चकाे ठहर, सञ्चालक कँडेल र कार्यकारी सम्पादक ढुंगाना कारागार चलान

आइतबार, १३ असोज २०८१, २१ : ४७
16 Shares
आइतबार, १३ असोज २०८१
16 Shares

काठमान्डाैं । ‘सिधाकुरा’ अनलाइन तथा युट्युब च्यानलका सामग्रीले अदालतको अवहेलना गरेको ठहर गर्दै सर्वाेच्च अदालतले सजाय सुनाएको छ। आइतबार अदालतकाे अबहेलना मुद्दामा सर्वोच्चका प्रधान न्यायाधीश विश्वम्भवरप्रसाद श्रेष्ठसहित ९ जना न्यायाधीश संलग्न रहेकाे बृहत् पूर्ण इजलासले उक्त निर्णय सुनाउँदै विवादित अडियो रेकर्ड गर्ने राजकुमार तिमल्सिनालाई ६ महिना तथा सिधाकुराका सम्पादक युवराज कँडेल र नवीन ढुंगानालाई ३-३ महिना कैद तथा सजाय तोकेको हाे। 

यद्यपि,उनिहरूले माफी मागेमा ७ दिन मात्र कैद बस्नुपर्ने फैसलामा भनिएकाे छ भने संस्थाकाे हकमा सिधाकुरा डटकमले ५ हजार रूपैयाँ तिर्नुपर्ने गरी जरिवाना पनि तोकिएको छ। 

‘द डार्क फाइल’ नाम दिएर प्रसारण गरेका शृंखलाबद्ध सामग्रीमा सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश आनन्दमोहन भट्टराई र वरिष्ठ अधिवक्ता हरि उप्रेतीका साथै सञ्चार उद्यमीहरू कैलाश सिरोहिया र रामेश्वर थापाको नाम पनि जोडेर प्रकाशन तथा प्रसारणा  गरीएकाे थियो ।

राजकुमार तिमिल्सिनाले अदालतसंग सम्वन्धित झुटा र काल्पनिक सामग्रीको उत्पादन गरी प्रसारण गर्नका लागि दिएको देखिँदा उनलाई उक्त कार्यको प्रकृति, गाम्भीर्य र दोषको मात्राअनुसार न्याय प्रशासन ऐन, २०७३ को दफा १७ को उपदफा (४) बमोजिम ६ महिना कैद सजाय हुने अदालतको फैसलामा उल्लेख गरीएकाे छ। अदालतमा चलेको मुद्दाको प्रक्रियामा समेत कुनै पश्चातापबोध र क्षमायाचनाको भावसमेत नदेखिएको हुँदा ठहरेको कैदको सजाय थुनामा नै राखी कार्यान्वयन गर्न पनि फैसलामा भनिएको छ।

‘सिधाकुरा’का प्रकाशक युवराज कँडेल तथा कार्यकारी सम्पादक नवीन ढुंगानाले विवादित श्रव्य सामग्री आफैँ उत्पादन गरेको नभई राजकुमार तिमिल्सिनाले उत्पादन गरी ल्याइदिएको तर उनीहरूले उक्त सामग्रीको सत्य पना परीक्षण गर्नुपर्नेमा आमसञ्चारमा संलग्न जोसुकै व्यक्तिले अनिवार्य रूपमा गर्नुपर्ने न्यूनतम प्रक्रियासमेत पूरा नगरी आफ्नो सञ्चार माध्यममा पटकपटक प्रकाशन गरेर अदालतप्रति भ्रम फैलाउने र अनास्था पैदा गर्ने कार्य गरेको सर्वोच्चले  ठहर गरेकाे छ।

‘उक्त कार्यलाई केवल लापरवाही वा हेलचेक्र्याइँ मात्र मान्न सकिने स्थिति नभई यस अदालत, अदालतका न्यायाधीश र समग्र न्यायिक प्रक्रियाका बारेमा अफवाह फैलाई न्यायसम्पादन गर्ने कार्यमा अवरोध सृजना गर्ने बदनियतले नै गरेको पुष्टि भएकाले निजहरूको उक्त कार्यको प्रकृति, गाम्भीर्य र दोषको मात्रा अनुसार न्याय प्रशासन ऐन, २०७३ को दफा १७ को उपदफा (४) बमोजिम निजहरूलाई जनही ३ महिना कैद सजाय हुने’ फैसलामा उल्लेख गरीएकाे छ।

कँडेल र ढुंगानाले बयानमा आफूहरूको उद्देश्य अदालतको अवहेलना गर्ने नभएर केवल प्राप्त सामग्रीको प्रसारणसम्म गरेको भनी क्षमायाचना गरेको भए पनि निसर्त क्षमायाचना गरेको नदेखिँदा उनीहरूले अदालतमा उपस्थित भएर निःसर्त क्षमायाचना तथा पुनः त्यस्तो कार्य नदोहोऱ्याउने लिखित प्रतिबद्धता व्यक्त गरेमा ठहरेको कैदमध्ये ७ दिन मात्र थुनामा राखी सोबाहेकको बाँकी कैद तत्काल निलम्बन गरिदिन सकिने फैसलामा लेखिएको छ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकाल रहेको ९ सदस्यीय इजलासमा गत साउन १७ गते सुनुवाइ भएको थियो।  सिधाकुराले ‘द डार्क फाइल’ नाम दिएर प्रसारण गरेका शृंखलाबद्ध सामग्रीले अदालतको अवहेलना गरेको दाबी गरी सर्वोच्च अदालत प्रशासनले प्रतिवेदन उठाएर अदालतको अवहेलना मुद्दा दायर गरेको थियो। 

सञ्चालक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगाना कारागार चलान 

सर्वोच्च अदालतले तीन-तीन महिना कैद सजाय सुनाए संगै सिधाकुराका सञ्चालक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगाना दुवै जना केन्द्रीय कारागार जगन्नाथ देवल चलान भएका छन्। 

कारागार चलान भएपछि ढुंगानाले आफ्नाे फेसबुकमा, ‘सम्मानित सर्वोच्च अदालतकाे फैसलालाई सम्मान गर्दै म र मेराे प्रकाशक एवम् तपाईंहरूको प्रिय प्रस्ताेता युवराज कँडेल केन्द्रीय कारागार जगन्नाथदेवल चलान भएका छाैँ ’ प्रिय पाठक र श्रोताहरू हामी फेरि समाचार लेख्न आउनेछाैँ। हामी समाचार लेख्न नै जन्मिएका हाैँ। समाचारकाे धर्मबाट कहिल्याै विचलित हुने छैनौँ।’ उनले लेखेका छन् ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकाल रहेको ९ सदस्यीय इजलासमा गत साउन १७ गते सुनुवाइ भएको थियो।

फैसलाकाे पूर्ण पाठः

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।