ताजा अपडेट »

आमासँगै झ्याप्ले खोलामा अस्ताए जुम्ल्याहा-दाजुबहिनी, जाँदै थिए अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन बंगलादेश !

आइतबार, १३ असोज २०८१, १४ : ३७
434 Shares
आइतबार, १३ असोज २०८१
434 Shares

बुटवल । बुटवलको कालिका मानव ज्ञान माविमा कक्षा १० मा अध्ययनरत  जुम्ल्याहा दाजु–बहिनी दीपेश भट्टराई र दीपिका भट्टराई पढाईमा उत्कृष्ट  थिए । उनीहरु विद्यालयमा आयोजना हुने हरेक प्रकारका गतिविधिहरुमा सहभागि हुन्थ्ये ।   

अनलाइनबाट फर्म भरेर उनीहरूले नेपाल एस्ट्रोनोमिकल सोसाइटीको आयोजनमा भएको नेसनल एस्ट्रोनोमी ओलम्पियार २०२४ मा भाग लिएका थिए । पहिलो चरणमा छनोट भएर दोस्रो चरणका लागि बंगलादेश पुग्नुपर्ने थियो । बंगलादेशमा आयोजना हुने उक्त कन्फरेन्समा ३२ राष्ट्रका विद्यार्थीहरू सहभागीता रहने थियो । 

 उनीहरू कक्षा १० अर्थात् एसईईको तयारी थिए । तर, ओलम्पियारमा पनि जाने उनीहरूको सोचमा विद्यालयले विदा दियो । विद्यालयले बिदा दिने भएपछि उनीहरू शुक्रबार शुक्रबार बिहान बुटवलबाट काठमाडौंका लागि छुटेको लु१ज ४५७८ नम्बरको माइक्रो (विङ्गर) मा काठमाडौं जान उनीहरूले ट्राफिकचोकको काउन्टरमा पुगेर टिकट काटे र सोही माइक्रोमा काठमाडौँ जाँदै थिए ।  

तर, लगातारको भिषण वर्षासँगै पहिरोले उनीहरु सवार विङ्गर धादिङको झ्याप्ले खोलामा पुर्यो । १५ वर्षका दीपेश र दीपिका तथा ४० वर्षकी आमा सीतासहित बुटवलबाट गएका १४ जना त्यहीँ पहिरोले पुर्यो, जसमा चालक समेत समावेश छन् । पहिरोमा पुरिएकामध्ये दीपेश र सीताको सनाखत भइसकेको छ । दीपिकाको शव पहिचान हुन बाँकी छ । 

स्याङ्जाको गल्याङ नगरपालिका– ३ स्थायी घर भएको भट्टराई परिवार बुटवल उपमहानगरपालिकास्थित योगीकुटीमा बस्दै आएको थियो ।  नागढुंगा प्रहरी प्रभागका अनुसार सबै मृतकहरूको पहिचान खुलिसकेको छैन । शव गएराति ११ बजे नै शिक्षण अस्पताल महाराजगन्ज पठाइएको प्रहरीले जानकारी दिएको छ ।

दीपेश(दीपिकाका बाबु होमनाथ भट्टराई भने कोरियामा बस्दै आएका छन् । श्रीमती र छोराछोरी घरबाट हिँड्ने बेला उनीसँग कुरा भएको थियो । तर, होमनाथ कामबाट फर्किंदा गाडी पुरिएको खबर पुग्यो ।


सीताका मामा ससुरा नगेन्द्रराज पाण्डेयका अनुसार कोरियामा रहेका होमनाथलाई जतिसक्दो छिटो बोलाइएको छ । उनले होमनाथलाई गाडी पुरिएको थाहा दिइएको बताए । आइतबार बिहान ४ बजे शव फेला परेको जानकारी दिइएको र उनलाई नेपाल बोलाइएको पाण्डेयले जानकारी दिए । विद्यालयका प्रचार्य दिनेश थापा कालिका मानवज्ञान मावि बुटवलबाट आउँदो एसईईमा ४ जीपीए ल्याउने मुख्य दाबेदार विद्यार्थीहरूमध्ये दीपेश र दीपिका रहेको बताउँछन् । 

विद्यालयका शैक्षिक संयोजक दीपक बञ्जाडे नेपाल एस्ट्रोनोमिकल सोसाइटीको आयोजनामा काठमाडौंमा नेसनल एस्ट्रोनोमी ओलम्पियार २०२४ को पहिलो सेसन सकिएर दोस्रो चरणमा बंगलादेश जाने तयारीका लागि उनीहरू काठमाडौं गएको बताउँछन् । प्रहरी प्रभाग नागढुंगाका अनुसार उनीहरूसहित बुटवलको सेमलारका प्रकाश कुँवर र सिर्जना कुँवर, गुल्मीको चारपालाका वीरबहादुर रायमाझी, प्रमिला रायमाझी र क्रिस रायमाझीको शव निकालेर सनाखत भएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार अहिलेसम्म ट्राफिक चोकबाट २ वटा समूहका गरी सात जनाले टिकट काटेको बाहेक टिकट काउन्टरमा रेकर्ड देखिएको छैन । पृथ्वी राजमार्गको नागढुंगा नौबिसे सडकखण्डको झ्याप्ले खोलामा आएको पहिरोमा परेर उक्त गाडी पुरिएको थियो । प्रहरीले गाडी पुरिएको स्थानबाट १४ जनाको शव निकालेको थियो ।

पश्चिम नेपाल बस व्यवसायी प्रालिका अनुसार शुक्रबार बिहान लु१ज ४५७८ नम्बरको उक्त गाडीमा काठमाडौं जानका लागि बुटवलको ट्राफिक चोकमा रहेको काउन्टरबाट ७ जना र राजमार्ग चौराहबाट टिकट लिएर तीन जना चढेका थिए । यात्रुहरूले नाम नलेखाई समूहमा चढेका कारण टिकट काउन्टरबाट चलानी सिटमा ४ जनाको मात्रै नाम उल्लेख गरिएको छ । तीमध्ये बोम कार्की र प्रकाश कुँवर मात्रै उल्लेख गरिएको छ ।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।