ताजा अपडेट »

दुई/चार हजारमै छुट्छन् 'बोका-खसी' भनेर बाख्रीको मासु खुवाउने ठगहरु

आइतबार, १३ असोज २०८१, १३ : १९
134 Shares
आइतबार, १३ असोज २०८१
134 Shares

बुटवल । चाडपर्व लक्षित बुटवल उपमहानगरले बजार अनुगमनलाई तिब्रता दिएको छ । यसैबीच आइतबार मासु पसलहरुको अनुगमन गर्ने क्रममा  बुटवल उपमहानगरपालिका-८ स्थित हलाल मासु एण्ड माछा पसलका सञ्चालकले झुण्डाएर विक्रि गरिरहेको बाख्रीको मासु हतार हतार लुकाउँदै गर्दा फेला पर्यो । 

वर्षौदेखि उपभोक्तालाई खसी, बोका भनि ढाँटेर बाख्रीको मासु खुवाउने उक्त पसलका सञ्चालकलाई थप अनुसन्धानका लागि उपमहानगरले कार्यालयमा हाजिर हुन बोलाएको छ । उपमहानगरका अनुगमन तथा मुल्याङ्कन शाखा प्रमुख ठगिश्वर पोखरेलले सञ्चालकलाई स्पष्टिकरण तथा अनुसन्धानका लागि कार्यालयमा बोलाइएको बताउँदै कानून अनुसार कारबाही गरिने बताएका छन् । उनका अनुसार कसुर अनुसार ५ हजारदेखि १५ हजारसम्म जरिवाना रकम वा थप कारबाही हुन सक्ने कानूनी व्यवस्था रहेको छ । यद्यपी बाख्रीको मासु बेच्ने अनुमति लिएर बिक्रीका लागि राख्न पाउने व्यवस्था भए पनि उक्त अनुमति लिए नलिएको कागजी प्रक्रिया हेरेर कानुनअनुसार सञ्चालकलाई कारबाही गरिने उनले बताए । 

बुटवलमा खसी बोका भनेर उपभोक्तालाई बाख्रीको मासु खुवाउने घटना पहिलो भने होइन । बाख्रीलाई खसी, बोकाको मुल्यमा विक्री गर्न पाउँदा मनग्य फाइदा पाउने लोभमा व्यापारीहरुले उपभोक्तालाई ठग्ने गरेका घटना यसअघि पनि सार्वजनिक भएका छन् । यसअघि उपमहानगरले बाख्रीको मासु बेच्ने २ वटा पसललाई कारबाही गरिसकेको छ । गएको जेठ महिनामा अनुगमन गर्ने क्रममा बुटवल पूरानो बसपार्क नजिकै रहेको न्यु मेहेदी मासु पसल र बुटवल-१ स्थित पप्पु मासु पसलले बाख्रीको मासु बेचेको भेटेपछि जनही १० हजारका दरले जरिवाना गरेको थियो । वर्षौदेखि उपभोक्ता ठगेर केही रकम जरिवानामै छुटकारा पाउनेभएपछि व्यापारीहरु बदमासी गर्न पछि नपर्ने यी घटनाहरुले देखाउँछ । 

आइतबारको अनुगमनमा बुटवल-१० स्थित न्यू रेहेमान मासु पसलमा बाख्रीको मासु विक्रि भएको फेला पारेको थियो । उद्यपी उक्त पसलमा बिक्री भएको मासु बाख्रीको नै हो भन्ने प्रमाणित भने हुन बाँकी रहेको अनुगमन शाखा प्रमुख पोखरेलले बताए । बुटवल उपमहानगरपालिकाले चाडपर्वमा नागरिकको स्वास्थ्य सुरक्षामलाई मध्यनजर राख्दै मासु पसल अनुगमनमा कडाई गरेको उप प्रमुख सावित्रादेवी अर्यालले बताइन् । बुटवलमा बधशाला सञ्चालनमा आएपनि मासु व्यवसायीहरुले बधशालाबाट बध गरेको खसी बोकाको मासु विक्रि नगरेको भन्दै अनुगमनमा कडाई गरेको हो ।

आईतबार बुटवल उपमहानगरपालिकाको अनुगमन टोलीले १३ वटा पसलमा अनुगमन गरेको थियो । सो अनुगमनका क्रममा सबै पसलहरुले खुल्ला रुपमै खसी, बोका बध गरेर मासु बिक्रि गरिएको भेटिएको थियो । अनुगमन टोलीले ताहिर मासु एण्ड माछा पसल, पाल्पाली भैरव मासु पसल, न्यू अर्घाखाँची भुषाल मिट सप, हिमालय क्राउन बुचरी, पाण्डे मासु पसल, सुपा देउराली मासु पसल, गैरे मासु पसल, हाम्रो मासु पसल, आचार्य फ्रेस हाउस, न्यू रेहेमान मासु पसल, रेहान मासु पसल, पुरानो पहाडिया मासु पसल, न्यू पहाडी मासु पसल र हलाल मासु एण्ड माछा पसलमा अनुगमन गरेको थियो ।

अनुगमन टोलीले सवै मासु पसललाई जनही १० हजारका दरले जरिवाना गरेको छ । अनुगमन तथा मुल्यांकन शाखाका पोखरेलले पटक-पटक पशुबधशालामा व्यवसायीलाई जान भनेपनि अटेर गरेपछि पहिलो चरणमा जनही १०/१० हजार जरिवाना गरिएको बताए ।

बुटवल उपमहानगरपालिकाको पशु बधशाला सञ्चालन र व्यवस्थापन ऐन, ०७९ (पहिलो संसोधन, ०८१) को दफा १७ को उपदफा २ बमोजिम आधुनिक पशु बधशालामा बध गरेको मासु बाहेक अन्यत्र बध गरेको मासु विक्रि वितरण गर्न प्रतिबन्ध लगाइएको छ । गरेको पाइएपछि जरिवना गरिएको उनको भनाई छ ।

यो पनि पढ्नुहोस : बुटवलमा खसी भनेर बाख्रीको मासु बेच्ने न्यू मेहदी र पप्पु मासु पसललाई जरिवाना

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।