काठमाडौं ।माइक्रोसफ्टले विभिन्न उपकरणबाट पीसीमा पहुँच प्राप्त गर्न सकिने नयाँ विन्डोज एप सार्वजनिक गरेको छ । यस एपलाई विन्डोज, म्याकओएस, आईओएस, आईप्याडओएस र वेब ब्राउजरमा प्रयोग गर्न सकिने माइक्रोसफ्टले जनाएको छ । एपमार्फत विन्डोज ३६५, एज्युर भर्चुअल डेस्कटप, रिमोट डेस्कटप जस्ता सेवामा सुरक्षित रूपमा जोडिन सकिने बताइएको छ ।
माइक्रोसफ्टका अनुसार यो एप करिब एक वर्षको परीक्षणपछि सार्वजनिक भएको हो । यसमा प्रयोगकर्ताले आफू अनुकूल होम स्क्रिन राख्न सक्ने, मल्टी मनिटर सपोर्ट, यूएसबी रिडिरेक्सन जस्ता फिचर दिइएको छ, जसमार्फत प्रयोगकर्ताले आफ्नो क्लाउड पीसीमा वेबक्याम, स्टोरेज डिभाइस, प्रिन्टर जस्ता लोकल डिभाइस पनि जडान गरी प्रयोग गर्न सक्नेछन् ।
विशेषतः यस एप माइक्रोसफ्टको वर्क र स्कुल अकाउन्ट प्रयोगकर्ताका लागि लक्षित रहेको बताइएको छ । विन्डोज ११ मा रहेको रिमोट डेस्कटप कनेक्सन एप जस्तै यसबाट पनि प्रयोगकर्ताले आफ्नो व्यक्तिगत ल्यापटप वा पीसीबाट कार्यालयका कम्प्युटरहरूमा सजिलै पहुँच पाउन सक्छन् ।
तर सामान्य प्रयोगकर्ताहरूका लागि यो एप अहिले नै उपलब्ध हुनेमा माइक्रोसफ्टले केही बताएको छैन । गत वर्ष कम्पनीले आफ्नो विन्डोज सिस्टमलाई क्लाउडमा लैजाने योजना सार्वजनिक गरेको थियो ।
यस नयाँ एपलाई विन्डोज प्रयोगकर्ताहरूले माइक्रोसफ्ट स्टोरबाट र म्याकओएस, आईओएस, आईप्याडओएस प्रयोगकर्ताले एप्पलको एपस्टोरबाट डाउनलोड गर्न सक्नेछन् ।
एन्ड्रोइडका लागि भने एप पब्लिक प्रिभ्युमा रहेको छ ।
प्रतिक्रिया