ताजा अपडेट »

लुम्बिनीका पूर्वमन्त्री सिके गुप्ता विरुद्ध महिला हिंसाको उजुरी

विहीबार, १० असोज २०८१, १७ : ०७
538 Shares
विहीबार, १० असोज २०८१
538 Shares

बुटवल । लुम्बिनी प्रदेशका पूर्वसामाजिक विकासमन्त्री एवं जनमत पार्टी प्रदेश सभा सदस्य चन्द्रकेश (सीके) गुप्ताविरुद्ध महिला हिंसाको उजुरी दर्ता भएको छ । उनकै पत्नी कान्ति गुप्ताले हिंसा सम्बन्धी उजुरी दर्ता गराएकी हुन् ।

राष्ट्रिय महिला आयोग र जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा गुप्ता र उनको परिवारका अन्य सदस्यविरुद्ध मानसिक र शारीरिक हिंसाको आरोप लगाउँदै कारबाहीको मागसहित उजुरी परेको हो । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ निवासी गुप्तासँग ६ वर्ष अगाडि नवलपरासीको प्रतापपुर गाउँपालिका–९ निवासी कान्ति कुमारी यादवको हिन्दु धर्म अनुसार विवाह भएको थियो । 

सीकेले पछिल्लो समय मानसिक यातना दिने र सासु–ससुराले शारीरिक यातना दिने गरेको भन्दै पीडित कान्तिले उजुरी दिएपछि घटना मिलाउन रुपन्देही जिल्ला प्रशासन कार्यालयमा छलफल भएपनि विवाद टुँगो लागेको छैन । गत वर्ष यस्तै उजुरी राष्ट्रिय महिला आयोगमा दिइएकोमा ‘अबदेखि यस्तो गल्ती नगर्ने’ भन्दै सीकेले लिखित प्रतिबद्धता जनाएका थिए । उनी रुपन्देहीको क्षेत्र नम्बर ५ (२)बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।

सीके र कान्तिका दुई छोराछोरी छन् । छोरी ४ वर्षको र छोरा १९ महिनाका छन् । कान्तिले आफूमाथि हिंसा गर्ने श्रीमान्, सासु ससुरा र नन्दलाई महिला हिंसा अन्तर्गत कारबाहीको माग गरेकी छन् । गुप्ताले भने प्रतिक्रियाका लागि पटक–पटक प्रयास गर्दा पनि फोन नउठाएर सम्पर्कमा आएनन् ।

घटनालाई मिलाउन जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा ३ घण्टासम्म प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, रुपन्देहीका डीएसपी मनोहर भट्टलगायतको उपस्थितिमा छलफल भएको थियो । कान्तिका बुवा प्रेमचन्द्र गुप्ताले सांसदले प्रहरी प्रशासनलाई प्रभावमा पारेर आफ्नी छोरीलाई प्रशासन कार्यालयमा बोलाएको जिकिर गरे । प्रशासन कार्यालयमा कान्तिले हिंसाको उजुरी दिएको भन्दै उनले सोही अनुसार पहिला कारबाही अघि बढाउनु पर्ने, त्यसपछि मात्र डिभोर्सको प्रक्रियामा जानुपर्ने प्रस्ट पारे ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले निवेदन आएपछि सकभर मिलाउने प्रयास गरेको तर मिल्ने कि नमिल्ने वा अन्य कानुनी बाटो रोज्ने अधिकार दुवैसँग सुरक्षित रहेको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।