ताजा अपडेट »

शाखा अधिकृतमा मेरो पहिलो वर्ष

बुधबार, ०९ असोज २०८१, १२ : ५५
1.11K Shares
बुधबार, ०९ असोज २०८१
1.11K Shares

अनिल रिजाल/ २०८० साल असोज ८ गते साँझ ५ बजेको थियो। म परीक्षाको शिलशिलामा बुटवलमा थिएँ। शाखा अधिकृतको रिजल्ट आउने लगभग निश्चित नै थियो तर आज या भोली भन्न सक्ने अवस्था थिएन। यत्तिकैमा ५ बजेर २ मिनेट जाँदा काठमाडौँबाट लक्ष्मी खड्काले फोन गरिन अनि मैले हेल्लो भन्न नपाउँदै उताबाट “ल बधाई छ।

८ नम्बरमा नाम निस्केको छ, म चाँही वैकल्पिकमा परेँ” यत्ती भनेर उनले फोन काटिन। मनमा खुशीले ढ्याङ्ग्रो पिट्यो। साथमा रहेको साथिलाई हग गर्दै ल मेरो नाम निस्केछ भनेर खुशी साँटे र तुरुन्त लोकसेवाको वेवसाइट हेँरे तर त्यहाँ रिजल्ट देखिन र मोबाइलमा म्यासेज पनि आएको थिएन। 

अनि लाग्यो म माथि प्रैंक  भए जस्तो लाग्यो। फेरी लक्ष्मीलाई फोन गरेँ। उनले हो रिजल्ट आएको छ हजुरको ८ नम्बरमा नाम छ तर किन प्रशासन रोजेको भनीन मैले होइन भन्दै रिजल्ट मलाई पठाउन अनुरोध गरेँ। उनले तुरुन्त मेरो ह्रवाटसपमा रिजल्ट पठाइन हेर्दा मेरो नाम देखियो। अनि घरमा आमा, बुबा नजिकका साथिभाईसँग फोन गर्न थालेँ। ५ बजेर ८ मिनेट जाँदा मोबाइलमा म्यासेज आयो “अनिल रिजाल, Congratulations for being selected in 16696/078-79. PSC hopes for your ethical behavior and excellent performance.”” विस्तारै सबै साथिभाई इष्टमित्रहरुको फोन कल आउन थाल्यो।

म खुशी, मेरो परिवार खुशी, साथिभाई खुशी भएको दिन थियो त्यो। केही सँगै पढेका र सँगै तयारी गरेका साथिहरु वैकल्पिकमा पर्नुभयो त्यसमा दुःख लाग्यो अनि साथिहरुलाई फोन गरेर सान्तवना दिन हिम्मत समेत गर्न २(३ दिन लाग्यो। साँच्चीकै त्यो क्षण कति खुशी थियो। त्यो दिन एउटा वर्षौँको सपना पुरा भएको दिन थियो। करिब ६ वर्ष अगाडी देशमा नै निजामती सेवामा रहेर सेवा गर्ने भन्दै अरु विकल्पलाई छोडेर खरिदार पदमा नियुक्ति लिएको थिएँ। त्यो दिन देखि नै शाखा अधिकृतको रुपमा सेवा गर्न चाहने हुटहुटीले स्थान पाएको थियो। त्यसपछिका स्टाफ कलेजका सपना तथा रातो पेन चलाउन पाउने खुशी त अर्कै थियो।

असोज ९ गते शाखा अधिकृतको रुपमा नियुक्ति लिइयो साथमा टिकटक “बेचेर सपना मैले रात किनेको छु...” “पुरा भयो सपना मेरो...” आहा सम्झँदै कति आनन्द आउँछ। अनि असोज १७ गते हामीलाई स्वागत गर्नको लागि स्टाफ कलेज आतुर थियो। स्टाफ कलेजको त्यो रमाइलो युटुव मा र पुराना अधिकृत सररम्यामहरुको फेसबुक स्टाटस फोटो भिडियोबाट हेर्दा कहिले जाउँ जाउँ भएको थियो। आखिरी त्यहाँको क्षण लेखेर लेख्न नसकिने रमाइलो छ। सुरुवातमै होस्टेल बस्ने ग्रुपमा थिएँ म साथमा थियौँ भेरी र जानकी समूहका ५६ जना शाखा अधिकृतहरु।

स्टाफ कलेजको त्यो प्राङ्गण, ती कक्षाहरु, त्यहाँका प्रशिक्षकहरु, खेलमैदान, त्यहाँ गरिएको नाचो, क्यान्टिनको मिठो खाना, बिहान बेलुका पिटी गराउनुहुने गुरुबा र गुरुआमाहरु, हरेक हप्तामा गर्न पाइने हाइकिङ, र्‍याफ्टिङ, हाजिरी जवाफ, साँगितिक र साहित्यिक कार्यक्रम जस्ता कार्यक्रमहरुले त्यहाँको बसाई झनै रमाइलो भयो। स्टाफ कलेज मै रहँदा दशै र तिहारको विदामा घरमा जान पाइएको थियो। अरु बेला अफिसबाट १५ दिन बिदा लिएर जाँदा पनि रमाइलो नलाग्ने दशै यो पटकको ६ दिनको विदामा पनि कतिबेला पुगौँ र घरपरिवारसँग रमाऔँ लागेको थियो। 

विस्तारै स्टाफ कलेजको सिकाइ अनि रमाइलो बढ्दै थियो। कार्य गर्दा आउनसक्ने समस्या समाधानका लागि भन्दै हामीलाई पहिले नै आफ्नो कार्यप्रति गर्नुपर्ने भूमिकाका सम्बन्धमा कक्षाहरु राखिएको थियो। स्टाफ कलेजले हामीलाई त्यसै समयमा देश दर्शनको रुपमा ७ दिनको भ्रमणको लागि भिन्न भिन्न ग्रुपलाई भिन्न भिन्न जिल्लामा लगेको थियो। त्यो समय अझै अविस्मरणीय छ। देशदर्शन कार्यक्रम सकिँदै गर्दा अब राजश्व, लेखा, लेखापरीक्षण, संसद, परराष्ट्र र सामान्य प्रशासन समूहका साथिहरु छुट्टिने दिन आउदै थियो।

त्यसले गर्दा मनमा कता कता नरमाइलो लाग्दो रहेछ। देश दर्शन कार्यक्रमको प्रस्तुतीकरण पश्चात सामान्य प्रशासनका हामी ८२ जना साथिहरु कार्यालय आबद्धताका लागि विभिन्न २१ जिल्लामा जाने भयौँ। म र अन्य ३ जना सर म्यामहरु चितवन जिल्लामा खैरहनी नगरपालिकामा १ महिना र जिल्ला प्रशासन कार्यालय चितवनमा १ महिना रहने गरी २ महिने कार्यालय आबद्धताको लागि चितवन तिर लाग्यौँ।

त्यहाँ गएर जिल्ला प्रशासन र स्थानीय तहले गर्ने कार्यहरुका सम्बन्धमा जान्ने र बुझ्ने मौका पायौँ। त्यहाँ जाँदा उक्त कार्यालयका कर्मचारीहरुसँग चिनजान र सम्बन्ध विस्तार गर्ने मौका समेत पायौँ। २ महिनाको कार्यालय आबद्धता सक्काएर हामी काठमाडौँ फर्कियौँ। अब रमाइलो क्षण सकिँदै थियो भने जिम्मेवारी बोध गर्ने समय नजिकिँदै थियो। २०८० चैत्र ३० गते स्टाफ कलेजबाट विदाई हुँदै ६ महिनाको आधारभूत प्रशासनिक प्रशिक्षण तालिम (BAT 37) समापन गरियो र पोस्टिङको लागि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा लागियो।

हिजोसम्म सुशासन, योग्यताक्रम, व्यवसायिकता जस्ता पाठहरु स्टाफ कलेजले पढाएर पठाएको थियो तर सामान्यको गेटमा जाँदा बित्तिकै यी सबै कुरा कहाँ गायब हुँदा रहेछन्। सुरुकै पोस्टिङमा Power Exercise, पोस्टिङको लागि भेट्नुपर्ने, कहाँ पोस्ट हुँदैछु भन्ने समेत थाहा जानकारी नहुने जस्ता कार्यहरु देख्दा सबै सपना फुटेको जस्तो भएको थियो। जसलाई यो कुराको गुनासो गरेपनि निजामतीको कल्चर यस्तै हो भन्ने भनाइ मात्रै सुनियो। तर त्यसो सबै ठाउँमा नहुँदो रहेछ भन्ने कुरा सामान्य प्रशासन मन्त्रालयबाट गृह मन्त्रालयमा आएपश्चात थाहा पाएको हूँ।

हामी सामान्य प्रशासन मन्त्रालयबाट ४० जना शाखा अधिकृतहरु गृह मन्त्रालय वा अन्तर्गत पोस्टिङ भएका थियौँ। गृह मन्त्रालयमा हामीलाई सामान्य गृह मन्त्रालय मातहतका विभाग र कार्यालयबाट सम्पादन गरिने कामको सन्दर्भमा सामान्य ओरिन्टेशन प्रदान भयो। जसले हामीलाई अहिले पनि काम गर्ने क्रममा सहजता प्रदान गरेको छ। साथै गृह अन्तर्गतका विभागको नेतृत्व गरिरहनु भएका सररम्यामहरुसँग परिचयात्मक कार्यक्रम पनि भयो।

त्यस पश्चात त्यहाँबाट हामीलाई जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, सिमा प्रशासन कार्यालय तथा अध्यागमन कार्यालयमा पोस्टिङ भयो सोही बमोजिम २०८१ बैशाख देखि शाखा अधिकृतको रुपमा कार्यालयमा रही काम गर्दै आएको छु।

आज असोज ९ गते शाखा अधिकृतको नियुक्ति बुझेको ठिक एक वर्ष पुरा भयो। यो अवधिमा धेरै कुरा सिक्न, देशको सार्वजनिक प्रशासनलाई नजिकबाट नियाल्न पाएँ। सार्वजनिक प्रशासनमा रहेको केही कमी कमजोरीहरुलाई चिन्ने र बुझ्ने मौका समेत पाएँ भने ती कमजोरीहरुलाई हटाउनका लागि केही हदसम्म आफू कार्यरत कार्यालयमा सुधारका लागि आफ्नो तर्फबाट नेतृत्वलाई दिनुपर्ने सुझाव र सल्लाहहरु समेत प्रदान गरीरहेको छु। सार्वजनिक प्रशासनमा कर्मचारीहरुको भूमिका महत्वपूर्ण हुने गर्दछ।

एउटा कर्मचारीले मात्रै चाँहदामा केही हुँदैन भन्ने नहुने रहेछ एक जना नेतृत्वकर्ता वा एक कर्मचारीले आफूले गर्ने कार्यशैलीमा मात्रै सुधार गर्दा सेवाग्राहीको ओठमा हाँसो देख्न पाइने रहेछ। सार्वजनिक प्रशासनमा प्रवेश गरेपछि अब बाँकीका दिनमा पनि देशका नागरिक र देशको वृहत्तर हितमा रही आफ्नो जिम्मेवारी निर्वाह गर्न सकुँ भन्ने अपेक्षा छ साथै मेरा सम्पूर्ण BAT 37 का सम्पूर्ण १९६ शाखा अधिकृत साथिहरुलाई पहिलो बर्षदिनको धेरै शुभकामना छ। सबैको साझा उद्देश्य एउटै रहोस “देशको सेवा”। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।