ताजा अपडेट »

आफ्नो निर्वाचन क्षेत्रको सडक मर्मत गरिदिन स्वास्थ्यमन्त्रीको हारगुहार

मंगलबार, ०८ असोज २०८१, १४ : ०६
106 Shares
मंगलबार, ०८ असोज २०८१
106 Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले खानेपानी तथा विद्युत विस्तारका कारण भत्काइएको बाँसबारी बुढानिलकण्ठ सडकको अवस्थाबारे जानकारी लिएका छन् । काठमाडौं ५ का निर्वाचित सांसदसमेत रहेका मन्त्री पौडेलले तीन साता अघि मेलम्ची खानेपानी तथा नेपाल विद्युत प्राधिकरणले समयमै मर्मत नगरे पछि धुलो र धुवाँबाट नागरिकले सास्ती पाएको भन्दै कालोपत्रे तत्काल अघि बढाउने व्यवस्था मिलाउन भनेका थिए ।

एक वर्ष अघि नै काम थालिए पनि तीन निकायबीचको समन्वय नहुँदा ढिलाइ भए पछि नागरिकलाई परेको सास्ती कम गर्न मन्त्री पौडेलले पटक पटक पहल थालेका थिए । सडक डिभिजन, मेलम्ची खानेपानी आयोजना तथा नेपाल विद्युत प्राधिकरणका अधिकारीहरुसँग स्थलगत निरिक्षण गरेर काममा ढिलाइ नगर्न आग्रह गरेका थिए । त्यसलगत्तै सडकको सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र अघिको तीन सय मिटर खण्डमा कालोपत्रेको तयारी थालिएको थियो । सडकमा माटो बिच्छ्याए पनि कालोपत्रे अघि नबढेको गुनासो आए पछि मन्त्री पौडेलले सम्बद्ध अधिकारीहरुको ध्यानाकर्षण गराएका थिए ।

बुधबार पुनः निरिक्षणका लागि पुगेका सो क्षेत्रका सांसदसमेत रहेका मन्त्री पौडेलले अब काममा थप ढिलाइ नगर्न ध्यानाकर्षण गराए । मन्त्रीसामु सम्बद्ध अधिकारीहरुले एक दुई दिनभित्रै कालोपत्रे सम्पन्न गराउने प्रतिबद्धता जनाएका थिए ।सडकअन्र्तगतको चक्रपथ नारायणगोपाल चोकदेखि सहिद गंगालालसम्मको खण्ड भने नेपाल विद्युत प्राधिकरणले कालोपत्रे गर्ने भएको छ । प्राधिकरणको भागमा परेको सो खण्डको कालोपत्रेसमेत चाँडै अघि बढाउने प्रतिबद्धता प्राधिकरण अधिकारीहरुले जनाएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।