ताजा अपडेट »

राजतन्त्र फर्काउने रविन्द्रको प्रस्तावमा प्रचण्डले भने : सोच्न पर्ने अवस्था छ

मंगलबार, ०८ असोज २०८१, १२ : ४०
132 Shares
मंगलबार, ०८ असोज २०८१
132 Shares

 

बुटवल । पूर्व प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्र पुनःस्थापनको विषयमा सोच्नु पर्ने बेला आएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले प्रचण्डसँगको भेटपछि भएका छलफलका विषय बारे सामाजिक सञ्जालमा लेख्दै प्रचण्डले यस्तो प्रतिक्रिया आएको जनाएका छन् ।  

छलफलका महत्वपूर्ण विषयहरुलाई बुँदागत रुपमा उल्लेख गरिएको भन्दै मिश्रले प्रचण्डको भनाई उद्धृत गरेर लेखेका छन् ‘म अहिले नै तपाईँको विचारसँग सहमत हुने स्थितिमा त पुगेको छैन। तर राती सुत्ने बेलामा सोच्न चाहिँ पर्ने अवस्था छ। ‘निरन्तरतामा क्रमभंगता’ अत्यावश्यक भइसक्यो।’ उपाध्यक्ष मिश्रले प्रचण्ड निवास खुमलटारमा भेटवार्ता गरेको तस्बिर सार्वजनिक गर्दै मिश्रले राजसंस्थालाई पुनःस्थापित गर्नुपर्ने भनाइ प्रचण्डसँग राखेको उल्लेख गरेका छन्। 
प्रचण्डले २०६२/०६३ को आन्दोलन ताका समेत तत्कालिन राजा ज्ञानेन्द्र शाहा नरम भइदिएको भए आजको परिस्थितिनै अर्कै हुन्थ्यो भन्ने प्रतिक्रिया जनाएको मिश्रले उल्लेख गरेका छन् । ‘द्वन्द्वका बेला मेरा केही साथी राजसंस्थाका बारे पुरै नकारात्मक थिए। म त देशको हित हुन्छ भने राजासँग मिलेरै गए पनि राम्रो हुन्छ भन्ने पक्षमा थिएँ।’–प्रचण्डको भनाई उद्धृत गर्दै मिश्रले लेखेका छन् । 


सामाजि सञ्जालमा मिश्रले यस्तो लेखेका छन् :

प्रचण्डसँग मनका कुरा !

हिजो कार्यक्रममा भेट भयो। आज वर्षौँपछि प्रचण्ड निवासमा भेट भयो।

"अब देश यस्तो विन्दूमा पुग्यो कि राजसंस्थालाई पुनर्स्थापित नगर्ने हो भने यो देश 'विस्फोटनको अवस्था' तिर उन्मुख हुँदैछ। र त्यतिबेला तपाईँहरूको 'अग्रगमन', नाम र सालिक केही बाँकी रहने छैन।" लामो व्याख्या सहित सारमा मैले यही भनेँ।

त्यसपछि उहाँका केही टिप्पणी अर्थपूर्ण लाग्यो:

१. यही स्थितिको निरन्तरताबाट अब देश चल्दैन भन्ने निष्कर्षमा म पनि पुगिसकेँ। आजभोली प्रशिक्षणमा यही भनिरहेकोछु।

२. पछिल्लो पटक प्रधानमन्त्री हुँदा नेपालका उद्योगधन्दाहरूको सबै विवरण मागेर हेरेको त पंचायतकालमा धेरै राम्रो काम भएको रहेछ। राजा महेन्द्र त गग्जबका 'भिजनरी' राजा रहेछन्।

३. द्वन्द्वका बेला मेरा केही साथी राजसंस्थाका बारे पुरै नकारात्मक थिए। म त देशको हित हुन्छ भने राजासँग मिलेरै गए पनि राम्रो हुन्छ भन्ने पक्षमा थिएँ।

४. राजा ज्ञानेन्द्रले पनि २०६२/०६३ को आन्दोलनको ताका अलि नरम भइदिएको भए आज परिस्थिति आर्कै हुन्थ्यो।

५. देशमा विदेशी हष्तक्षप चरम अवस्थामा पुगेको सही हो।

६. अहिले पो प्रधानमन्त्री भएँ। युद्ध गर्दा त मरिन्छ-बाँचिन्छ, थाहा थिएन। देश बनाउनै भनेर सारा गरेको हो। अहिले पनि मेरो भावना देश नै बनाउनु पर्छ भन्ने हो। तर अब यसरी चाहिँ हुँदैन।

७. म अहिले नै तपाईँको विचारसँग सहमत हुने स्थितिमा त पुगेको छैन। तर राती सुत्ने बेलामा सोच्न चाहिँ पर्ने अवस्था छ। 'निरन्तरतामा क्रमभंगता' अत्यावश्यक भइसक्यो।

कौसीमा लामो संवाद गरेर तल ओर्लिंदा माओवादी पार्टीका दर्जनौँ साथीहरू प्रचण्डजीलाई पर्खेर बसिरहेका थिए।

सतहमा उनीहरू आफ्नो नेता पर्खिरहेका थिए। तर गहिराइमा उनीहरू यो देश कहिले बन्ला र मेरा बालबच्चा/बाबुआमाले सुख पाउलान् भनेर पर्खिरहेका करोडौं नेपालीका प्रतिनिधि पात्र थिए। उनीहरूको जीवन पर्खिएरै वितिसकेको छ/वित्नेछ भन्नेमा संभवत: उनीहरू अनभिज्ञ थिए। म चाहिँ 'ईश्वर नै स्वर्गबाट झरेर देश बनाइदिन्छु' भने पनि वर्तमान प्रणालीमा यो देश बन्दैन र अझ बिग्रिन्छ भन्नेमा विश्वस्त छु।

प्रचण्डसँग मनका कुरा !

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।