ताजा अपडेट »

रविलाई पक्राउ गर्न सहकारी पीडितले प्रशासन घेराउ गर्दा, रास्वपाका कार्यकता सडकमा

सोमबार, ०७ असोज २०८१, १२ : ३०
216 Shares
सोमबार, ०७ असोज २०८१
216 Shares

काठमाडौं । सूर्यदर्शन सहकारी पीडित बचकर्ताले रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै जिल्ला प्रशासन कार्यलय कास्कीमा प्रदर्शन गरेका छन् । सहकारीको पैसा गोर्खा मिडियामार्फत लामिछानेले दुरूपयोग गरेको भन्दै पीडितले जिल्ला प्रशासन कार्यालयको गेट अगाडि प्रदर्शन गरेका हुन् । 

यसैबीच सहकारी पीडितले लामिछानेलाई पक्राउको माग गर्दै प्रदर्शन गरिरहेकै समयमा शहीद चोकको चौतारामा रास्वपाका नेता कार्यकर्ता नाराबाजीमा उत्रिएका छन् । रास्वपा नेता–कार्यकर्ताले लामिछानेलाई पक्राउ नगर्न चेतावनी दिइरहेका छन् ।

सूर्यदर्शन सहकारी पीडित र रविसमर्थक नेता कार्यकर्ता आमने–सामने हुँदा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ । जिल्ला प्रशासन तथा शहीद चोक आसपासमा सुरक्षाकर्मी खटाइएको छ ।

विभिन्न सहकारीमा भएको अपचलनबारे छानबिन गर्न बनेको विशेष संसदीय समितिको सिफारिस र गृहमन्त्री रमेश लेखकको निर्देशनपछि आइतबार गोरखा मिडिया प्रालिका सेयर सदस्य तथा सञ्चालक पूर्व डिआइजी छविलाल जोशीलाई पक्राउ परेर पोखरा ल्याइएको छ । जोशीलाई म्याद थपका लागि आजै जिल्ला अदालत कास्कीमा उपस्थित गराइँदैछ ।

जोशीलाई अदालत उपस्थित गराउने जानकारीसँगै सहकारी पीडित अदालत गेटबाहिर भेला भएर नाराबाजीसहित प्रदर्शन गरेका हुन् भने रविलाई पनि पक्राउ गर्न पुर्जी जारी हुन लागेको भन्दै रास्वपा नेता कार्यकर्ता शहीद चोकको चौतारामा भेला भएर प्रदर्शन गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।