ताजा अपडेट »

रविलाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको हो ?

सोमबार, ०७ असोज २०८१, ०७ : २२
188 Shares
सोमबार, ०७ असोज २०८१
188 Shares

बुटवल । सहकारीको रकम अपचलनबारे छानबिन गर्न बनेको ‘संसदीय विशेष छानबिन समितिको प्रतिवेदनलाई सरकारले कार्यान्वयन गर्ने निर्णय लगत्तै गृहमन्त्री रमेश लेखकले मातहतका निकाय (प्रहरी) लाई आइतबार नै निर्देशन दिएका छन् । गृहमन्त्रीको निर्देशन पाएलगत्तै प्रहरीले सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशीलाई पक्राउ गरी अनुसन्धानका लागि पोखरा पुर्याएको छ । 

गोरखा मिडियाका संचालक समेत रहेका जोशीलाई आइतबार काठमाडौंबाट पक्राउ गरि पोखरा लगिएको हो । पूर्व गृहमन्त्री तथा  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पनि आफू पक्राउ पर्ने संकेत पाएपछि आइतार साँझ पार्टी कार्यालयमा नेता कार्यकर्ता जम्मा पारेर सरकारलाई नै चुनौति प्रस्तुत गरेका छन् । आइतबार राति केन्द्रीय कार्यालयमा उपस्थित कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले आफूलाई जेल पठाउने निर्णयको प्रतिवाद गर्ने घोषणा गरेका हुन् । ‘मलाई भरोसा छैन, यो सरकारले जे पनि गर्न सक्छ । यो सरकार दुई तिहाइको छ’, उनले कार्यकतारुहलाई भने,  ‘तयार भएर रहनु होला, अलर्टमा रहनु होला ।’

यसै बीच रवि पक्राउ पर्ने खबरसँगै चिन भ्रमणमा गएको रास्वपा नेताहरुको टोली पनि आकस्मिक रुपमा नेपाल फर्किँदै छ । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा १४ जनाको टोली भ्रमणमा गएको थियो । १० दिने भ्रमणका लागि उनीहरु शनिबार मध्यरातमा चीनका लागि उडेको भएपनि भ्रमण नसक्दै नेपाल फर्किने खबर आएको हो ।

सूर्यदर्शनलगायत सहकारीको बचत रकम अपचलनका सन्दर्भमा छानविन गर्न प्रहरीले रविलाई पनि पक्राउ गर्ने तयारी रहेको स्रोतले जनाएको छ । गोर्खा मिडिया नेटवर्कमा प्रबन्ध निर्देशक रहेका बेला रविले ६५ करोड रकम बाँडफाँटमा हस्ताक्षर गरेको समितिले जनाएको छ। सोही आधारमा उनलाई कारबाही गर्न विशेष समितिले सरकारलाई सुझाव दिएको थियो।

पोखराको सूर्य दर्शन, बुटवलको सुप्रिम लगायतका सहकारीमा सर्वसाधारणको बचत रकम अपचलन गरेको र त्यसमा रवि संलग्न रहेको आरोप लगाउँदै छानबिनको मागसहित तत्कालीन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको थियो । जसकारण संसदीय छानविन समिति बनाउन सरकार बाध्य भयो।  २०८० जेठ १५ गते एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीको संयोजकत्वमा ७ सदस्यीय संसदीय विशेष छानबिन समितिले बनेको थियो ।

समितिले तीन महिना १५ दिन लगाएर प्रतिवेदन तयार पार्यो । जसमा रविको भूमिका सिधै सहकारीको रकम अपचलनमा नभई गोर्खा मिडिया नेटवर्कमा गएको रकम परिचालनमा रहेको ठहर गरेको छ। समितिले गोर्खा मिडियाका सञ्चालकहरू जीबी राई, रवि लामिछाने, कुमार रम्तेल र छविलाल जोशीलाई कारबाही गर्न सिफारिस गरिएको थियो । राई फरार छन् भने रम्तेल पुर्पक्षका लागि कास्की कारागारमा छन् । समितिले चारै जनामाथि ठगी, किर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरणका दफा आकर्षित हुने निष्कर्ष निकालेको थियो ।

पोखराको सूर्यदर्शनसहित बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको साहारा र वीरगन्जको सानो पाइला सहकारीबाट सर्वसाधारणको बचत रकम गोर्खा मिडियामा सारिएको थियो । खातामा आएको रकममध्ये धेरैजसो तत्कालीन प्रबन्ध निर्देशक लामिछानेको हस्ताक्षरमा काटिएका चेकमार्फत खर्च भएको संसदीय समितिको प्रतिवेदनमा उल्लेख छ ।

खाता सञ्चालकका रूपमा राई, लामिछाने र जोशीको नाम, मिति, कम्पनीको नाम, ठेगाना, तस्बिर, तीनपुस्ते, औंठाछाप र हस्ताक्षरसहित ग्राहक पहिचानपत्र (केवाईसी) फाराम भरेर बैंक खाता खोलिएको प्रमाणित भए पनि लामिछानेले सहकारीबाट आफ्नो खातामा पैसा नआएको दाबी गर्दै आएका छन् । तर, सम्पत्ति शुद्धीकरण निवारण ऐनको दफा ८ मा ‘जसको नाममा खाता खोलिएको छ, कारोबारको जिम्मेवार उही हुन्छ’ भनिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।