ताजा अपडेट »

न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले को-कोसँग गरे भेट ?

सोमबार, ०७ असोज २०८१, ०६ : २९
52 Shares
सोमबार, ०७ असोज २०८१
52 Shares

न्युयोर्क । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न देशका प्रधानमन्त्री तथा उच्च पदस्थहरुसँग भेटबार्ता गरेका छन् । यसै बीच  प्रधानमन्त्री ओली र छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज यहाँ भेटवार्ता भएको छ ।

भेटमा नेपाल–भारतका आपसी चासो र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको छ । सो भेटमा दुवै मुलुकका विदेशमन्त्री र प्रतिनिधिमण्डलका सदस्यहरुको सहभागीता थियो । प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री शेख सबाह अल खलेद अल हमाद अल मुबारक अल सबाहबीच पनि भेटवार्ता भएको छ । उनीहरुबीच राष्ट्रसङ्घका लागि कुवेतको स्थायी नियोगको कार्यालय, न्युयोर्कमा भेटवार्ता भएको हो ।

यसैगरी भूटानका प्रधानमन्त्री दासो छिरिङसँगको भेटमा दुई देशबीच दुईपक्षीय र बहुपक्षीय मञ्चहरुमा सहकार्यका साथ अघि बढ्ने विषयमा कुराकानी भएको छ । नेपाल हाल अल्पविकसित मुलुकको अध्यक्षसमेत रहेको अवस्थामा भूटानका प्रधानमन्त्री तोग्बेले गौतम बुद्ध र बुद्धको जन्मस्थल लुम्बिनीका कारण नेपालसँगको आत्मीय सम्बन्ध रहेको उल्लेख गरेका थिए । उनले नेपालले भूटानका लागि देखाएको सद्भावप्रति आभार व्यक्त गरेका थिए । प्रधानमन्त्री ओलीले दुई देशबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि नेपालबाट आवश्यक सहजीकरण हुने बताए ।

त्यसैगरी प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेका राष्ट्रसङ्घका मानव अधिकार उच्चायुक्त भोल्कर टर्कले नेपालले शान्ति प्रक्रियालाई अन्तिम रुप दिने विषयसँग सम्बन्धित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको आयोगसम्बन्धी कानुन पारित भएकामा खुसी व्यक्त गरेका छन् ।

भेटमा सहभागी प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालका अनुसार उच्चायुक्त भोल्कले नेपालको राजनीतिक सहमतिको यो विषय विश्वका लागि नमुना बन्न सक्ने उल्लेख गरेका थिए । यस्तै भोल्कले विश्व तापक्रम वृद्धिका कारण नेपालका हिमालमा हिउँ पग्लने स्थिति हुनुले विश्वलाई असर पार्ने भएकाले नेपालका लागि जलवायु न्याय आवश्यक भएकोमा समर्थन गरेका थिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।