मलाई अचेल डर लाग्छ
शङ्का लाग्छ
भ्रम देख्छु वा सत्य
किनकी दिनहुँ
लाखौं फूलहरु टिपिन्छन्
दिनदहाडै खुलेआम बलाकृत हुन्छन्
आँखाबाटै ।
‘खुर्पे जून’ कवितासङ्ग्रहबाट साभार कविताको हरफ हो माथिको । कवि हुन् तिला लेकाली । भरखरै प्रकाशित उनको यो कवितासंग्रहमा छोटोछोटा ६ दर्जनजति कविताहरु समावेश छन् ।कविता चोटिला छन् । रसिला छन् । कतिपय कविताहरुले समाजका चालचलनप्रति कडा व्यङ्ग्य कसेका छन् । जेहाद छेडेका छन् ।
तिला लेकाली प्रगतिशील पूर्वेली कवि हुन् । मोरङ्गको बेलबारीमा रहेर कविताकर्मलाई अघि बढाईरहेकी उनले आफूलाई फोहोरभित्रको मोहोर प्रमाणित गरेकी छिन् । र, भन्दैछिन् कवितामा उनले–
तिम्रा लागि फोहोर
तर चिन्ने र बुझ्नेहरुका लागि
अमूल्य मोहोर हुँ ‘म’
कवितामा सामाजिक चेत छ । वर्तमानका बेथितिप्रति दरो झापड छ । थामेर, थाम्न नसकिने असहय पीडाका पर्खालहरु छन् ।
त्यसैले कवि भन्छिन् -
तर मलाई कलमले मसी छादेको
मेरो कुरुप अनुहारजस्तो सुन्दर
तिम्रो अनुहार पटक्कै लाग्दैन त
म के गरुँ ?
कविताहरुले भावुकता पस्किरहेका छन् कतैकतै । त्यसैले उनी लेख्छिन्–
न वासना न कामना न तिर्सना
बिनाकुनै स्वार्थ वा आशक्ति
तरपनि किन आईरहेछ यसरी
आँखाको छेउकै बाटो भएर
उसको याद ?
पर्खालभित्र हाईकूसंग्रह,चक्रव्यूहमा उभिएर गजलसंग्रह,झ्याउँकीरी झङ्कृत हाइकूसंग्रह ,रानीमौरी बाल गजलसंग्रह र साझा आकास कवितासंग्रहका श्रष्टा तिलाले साथीहरुसँग मिलेर साहित्यिक सहलेखन समेत गरेकीछिन् । विभिन्न पुरस्कार तथा सम्मानबाट सम्मानित उनी यतिबेला सिर्जनशील प्रतिष्ठान(बेलबारी,प्रश्रित प्रतिष्ठान( नेपाल, श्रष्टा समाजलगायत दर्जनौं साहित्यिक संघसंस्थामा आवद्ध छिन् । कविता,हाईकू, गजल, बालगीत, नियात्रा, निबन्ध र बालकथामा कलम चलाउँदै आएकी तिला लेकाली शिक्षण पेसामा कटिवद्व छिन् ।
अन्तिममा उनकै कविता ‘भूल’बाट
काम गर्नुस् भूल हुन्छ
भूल काम गर्दा नै हुने हो ।
प्रतिक्रिया