ताजा अपडेट »

सिद्धबाबा सुरुङमार्गका २ वटा बाईपास सुरुङको ब्रेक थ्रू

शुक्रबार, ०४ असोज २०८१, १४ : ०५
166 Shares
शुक्रबार, ०४ असोज २०८१
166 Shares

बुटवल । सिद्धार्थ राजमार्ग अन्तरगत निर्माणाधिन सिद्धबाबा सुरुङमार्गमा २ वटा बाइपास सुरुङको ब्रेक थ्रू भएको छ । वाईपास सुरुङ १ को यही असोज ४ गते शक्रबार तथा  वाईपास सुरुङ ३ को भाद्र २६ गते ब्रेक थ्रू गरिएको सिद्धबाबा सुरुङमार्ग योजना कार्यालयले जनाएको छ ।

सुरुङमार्गका तीनवटा बाइपास रहेका छन् । जसमा पहिलो बाइपास १५१ मिटरको र तेस्रो १३० मिटरको ब्रेक थ्रू भएको छ । दोस्रो १६१ मिटरको वाइपास सुरुङ पनि खन्ने काम जारी रहेको छ । हालसम्म मुख्य सुरुङमार्ग भने ५४५ मिटर खनिएको छ । कूल १ हजार १२६ मिटर लामो सुरुङमा दुवैतर्फबाट गरी ५४५.५७ मिटर छेडिएको हो । योसँगै करिब सुरुङको आधा भाग खन्ने काम सकिएको हो । 

उत्तरतर्फबाट २३७.८० र दक्षिणतर्फबाट ३०७.७७ मिटर खनिएको सिद्धबाबा सुरुङमार्ग आयोजनाले जनाएको छ ।गत जेठ १३ देखि ब्लास्टिङ गरी सुरुङ खन्न थालिएको थियो । सुरुङमार्गमा अहिले विस्फोटक पदार्थ प्रयोग गरेर चौबीसै घण्टा काम भइरहेको छ । ‘ब्लास्टिङ’ गर्न थालेपछि तीव्र रुपमा काम अघि बढेको आयोजनाकी इन्जिनियर सविता ज्ञवालीले जानकारी दिइन् ।

बिस्फोट गर्ने समयमा सीमित अवधिका लागि मात्र सवारी आवगमन बन्द हुने गरेको छ । कुनै समस्या नआए अबको ३ महिनाभित्र सुरुङको ‘ब्रेक थ्रू’ गर्ने आयोजनाको तयारी छ । सिद्धार्थ राजमार्गको दोभानदेखि सिद्धबाबासम्म झण्डै ४ किलोमिटर सडक क्षेत्र उच्च पहिरोको जोखिममा छ । जसले गर्दा यात्रुलाई जहिलेसुकै खतरापूर्ण छ । यही क्षेत्रमा वर्षायाममा पहिरो झरिरहने समस्या छ ।

भीर र अग्लो चट्टानी क्षेत्र भएकाले हिउँदमा समेत सुख्खा पहिरोको उत्तिकै जोखिम हुन्छ ।  बाह्रै महिना पहिरो झर्ने यो ठाउँलाई सुरक्षित बनाउन ४ माघ २०८० बाट सुरुङ खन्ने काम औपचारिक रुपमा शुरू भएको थियो । सरकारले सिद्धबाबा सुरुङमार्गलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिएर काम गरिरहेको छ ।

यो आयोजना निर्माणको काम चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन (सीएससीईसी)ले गरिरहेको छ ।  यो आयोजनाको २०७८ साल फागुनमा सीएससीईसीसँग ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । यसको निर्माणपछि समेत सोही कम्पनीले पाँच वर्षसम्म मर्मतको काम गरिदिनुपर्ने शर्त छ । यो सडकखण्ड प्रयोग गरी गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बागलुङ तथा म्याग्दीसम्म सवारीसाधन चल्ने गर्छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।