ताजा अपडेट »

मातृभूमि माविमा शैक्षिक सुधारका लागि १९ बुँदे कार्यक्रम तय

बुधबार, ०२ असोज २०८१, १९ : ४७
24 Shares
बुधबार, ०२ असोज २०८१
24 Shares

पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिका-४, देवीनगरमा अवस्थित मातृभूमि माध्यमिक विद्यालयले शैक्षिक सुधारका लागि अन्तरक्रिया गरेको छ । विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारी र शिक्षककाबीच शैक्षिक अन्तरक्रिया कार्यक्रम बुधवार सम्पन्न गरेको हो।

अन्तरक्रियापछि शैक्षिक सुधारका लागि विभिन्न १९ वटा बूँदा कार्यान्वयन गर्ने निर्णय समेत भएको छ । विद्यार्थी केन्द्रित शिक्षण गर्ने, नियमित गृहकार्य गर्न लगाउने र चेक गर्ने, प्रविधिमैत्री शिक्षण गर्ने, सकारात्मक सोचको विकास गर्ने, अभिभावकसहित नतिजा विश्लेषण तथा समीक्षा  गर्ने, मिनि होस्टेललाई निरन्तरता दिने र चमेना गृहको व्यवस्थापन गर्ने लगायतका बुँदासहितको निश्कर्ष छलफलबाट गरिएको छ । त्यसैगरी अभिभावक शिक्षा संचालन गर्ने, विशेष अवस्थाका विद्यार्थीलाई विशेष कक्षा सञ्चालन गर्ने, सरोकारवालाले नियमित अनुगमन गर्ने, विद्यालय घेराबार तथा गेटको व्यवस्था गर्ने, प्रअसँग करार सम्झौता ६ महिनाको गर्ने, शिक्षक-विद्यार्थी अनिवार्य पोशाक लाउने, अतिरिक्त गृहकार्य नियमित सञ्चालन गर्ने, शिक्षककाबीच सहकार्य गर्ने र त्रिपक्षीय छलफल नियमित गर्ने निर्णय भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजबहादुर मश्राङ्गीले जानकारी गराए । 

पूर्वखोला गाउँपालिकाका प्रवक्ता मेहरसिं थापाले शैक्षिक सुधारको लागि त्रिपक्षीय छलफलबाट तयार गरेका विषयवस्तुलाई आ-आफ्नो क्षेत्रबाट कडाइकासाथ पालना गर्न निर्देशन दिए । कार्यपालिका सदस्य रेवतीसरा घर्तिमगर, पूर्वखोला गाउँ शिक्षा समिति सदस्य भुवन सिंजाली, शिक्षक अभिभावक संघका अध्यक्ष हुमबहादुर सिंजालीले शैक्षिक सुधारको बारेमा बोल्दै आ-आफ्नो कर्तव्य पूरा गर्न प्रतिबद्धता व्यक्त गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।