ताजा अपडेट »
केजरीवाल प्रकरण

दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी

मंगलबार, ०१ असोज २०८१, १६ : ५७
28 Shares
मंगलबार, ०१ असोज २०८१
28 Shares

आम आदमी पार्टी (आप) की नेतृ आतिशी अब दिल्लिकाे नयाँ मुख्यमन्त्री बन्दै छिन्। हालका मुख्यमन्त्री अरविन्द केजरीवालले राजीनामा दिने भएपछि आपले उनको स्थानमा आतिशीलाई पठाउने निर्णय गरेको हो। केजरीवाल आपका संयोजक हुन्।  आतिशी नयाँ मुख्यमन्त्री बन्ने जानकारी आम आदमी पार्टीका नेता गोपाल रायले मंगलबार सञ्चारमाध्यमलाई दिएका हुन्।

मुख्यमन्त्रीमा आफ्नो नाम पार्टीले अनुमोदन गरेपछि आतिशीले भनिन्, ‘जबसम्म म सीएम (मुख्यमन्त्री) रहन्छु, मेरो एउटै लक्ष्य अरविन्द केजरीवाललाई फेरि सीएम बनाउनु हो। साथै दिल्लीका जनताको रक्षाका लागि प्रयास गर्नेछु। म अरविन्द केजरीवालको निर्देशनमा काम गर्नेछु।’

अरविन्द केजरीवालको राजीनामाबारे आतिशीले भनिन्, ‘म पनि दु:खी छु- अरविन्द केजरीवालले आज (मुख्यमन्त्रीबाट) राजीनामा दिँदै हुनुहुन्छ। आज दिल्लीका दुई करोड जनताका तर्फबाट म भन्न चाहन्छु- दिल्लीको एक मात्र मुख्यमन्त्री छ र उहाँको नाम अरविन्द केजरीवाल हो।’

यसअघि गोपाल रायले अतिशी कठिन परिस्थितिमा दिल्लीको मुख्यमन्त्री बन्न लागेको बताएका थिए। उनले भने, भाजपाले आम आदमी पार्टीलाई फुटाएर सरकार ढाल्ने प्रयास गर्‍यो। तर हामीले उसका सबै प्रयासलाई विफल बनायौँ। ्

आज बिहान बसेको आपको विधायक दलको बैठकले अरविन्द केजरीवालले राजीनामा दिएपछि आतिशीलाई मुख्यमन्त्री बनाउने सहमति जुटाएको हो। विधायक दलको बैठकमा अरविन्द केजरीवाल आफैँले आतिशीको नाम प्रस्ताव गरेका थिए।

त्यसो त नयाँ मुख्यमन्त्रीमा गोपाल राय र कैलाश गहलोतका साथै अरविन्द केजरीवालकी श्रीमती सुनिता केजरीवालको नाम पनि चर्चामा आएको थियो। तर अन्तत: ४३ वर्षीया आतिशीको नाम सर्वसम्मत पास भएको हो। अब आतिशी विधानसभा चुनावसम्म दिल्लीको मुख्यमन्त्री रहनेछिन्।

२०२० को विधानसभा चुनावपछि केजरीवालको मन्त्रिपरिषद्‌मा आतिशीसहित कुनै पनि महिलालाई स्थान दिइएन। त्यतिबेला पार्टीका केही नेताले आतिशीलाई मन्त्रिपरिषद्‌मा स्थान नदिएको भन्दै आलोचना गरेका थिए। त्यतीबेला आम आदमी पार्टीले विधानसभाका  ७० सिटमध्ये मध्ये ६२ सिट जितेको थियो। तीमध्ये ८ जना महिला विधायक थिए।  तर पनि केजरीवालले आफ्नो मन्त्रिमण्डलमा एक महिलालाई पनि सहभागी गराएनन्। 

तर समयसँगै दिल्लीको राजनीतिक अवस्था पनि परिवर्तन भयो। मदिरा नीत काण्डमा जब मनीष सिसोदिया, सञ्जय सिंह र त्यसपछि अरविन्द केजरीवाल आफैँ जेल जानपर्‍यो तब सरकारदेखि पार्टीसम्मका मुद्दामा आतिशीले नेतृत्व लिनुपर्ने अवस्था आयो।  आतिशी सन् २०२३ मा पहिलोपटक केजरीवाल सरकारमा शिक्षामन्त्री बनेकी थिइन्।

आतिशी कसरी आपको सम्पर्कमा आइन्?
इन्डियन एक्सप्रेसको रिपोर्टअनुसार आतिशी दिल्ली विश्वविद्यालयका प्रोफेसर विजय कुमार सिंह र तृप्ता वाहीकी छोरी हुन्। आतिशीले दिल्लीको स्प्रिङडेल्स स्कुलबाट शिक्षा आरम्भ गरेकी थिइन्। उनले सेन्ट स्टिफन्स कलेजबाट इतिहास पढेकी छन्। आतिशीले अक्सफोर्ड विश्वविद्यालयबाट स्नातकोत्तर गरेकी छन्। पछि उनले चाइभेनिङ छात्रवृत्ति पनि प्राप्त गरिन्।

आतिशीले आन्ध्र प्रदेशको ऋषि भ्याली स्कुलमा बच्चाहरूलाई पढाएकी छन्। उनी अर्गानिक खेती र शिक्षा प्रणालीसँग सम्बन्धित काममा पनि सक्रिय भइन् । पछि आतिशी भोपाल आइन्। यहाँ उनले धेरै एनजीओमा काम गर्न थालिन्। यसै क्रममा उनी आम आदमी पार्टी र प्रशान्त भूषणको सम्पर्कमा आएकी थिइन्।

आतिशी अन्ना आन्दोलनको समयदेखि संगठनमा सक्रिय छिन् र अहिले आम आदमी पार्टीको प्रमुख अनुहारमध्ये एक हुन्।आतिशी २०१३ मा आम आदमी पार्टीमा प्रवेश गरेकी थिइन्। उनले सन् २०१५ देखि २०१८ सम्म दिल्लीका तत्कालीन शिक्षामन्त्री मनीष सिसोदियाको सल्लाहकारका रूपमा काम गरेकी थिइन्।

आम आदमी पार्टीको वेबसाइटमा दिइएको जानकारीअनुसार मनीष सिसोदियाको सल्लाहकार रहँदा उनले दिल्लीका सरकारी विद्यालयको अवस्था सुधार्ने, विद्यालय व्यवस्थापन समिति गठन गर्ने र निजी विद्यालयहरूलाई अनावश्यक रूपमा शुल्क बढाउनबाट रोक्न कडा नियम बनाउने काममा महत्त्वपूर्ण भूमिका खेलिन्।  उनि पार्टीको राजनीतिक मामिला समितिको सदस्य पनि हुन्।

हाल आतिशी दिल्ली सरकारमा शिक्षा, उच्च शिक्षा, प्राविधिक तालिम र शिक्षा (टीटीई), सार्वजनिक निर्माण विभाग (पीडब्ल्यूडी), ऊर्जा, राजस्व, योजना, वित्त, सतर्कता, पानी, जनसम्पर्क र कानून-न्यायजस्ता विभाग सम्हालिरहेकी छन्। हाल उनी दिल्लीको कालकाजी क्षेत्रकी विधायक हुन्।

जब आतिशीले आफ्नो थर हटाइन्
आपले आतिशीलाई पहिलोपटक २०१९ मा लोकसभा चुनावमा पूर्वी दिल्ली सिटबाट उम्मेदवार बनाएको थियो। त्यतिबेला उनी आतिशी मार्लेनाको नामले चिनिन्थिन्। यसअघि आतिशीलाई पर्दा पछाडिका सक्रिय नेताहरूमा गनिन्थ्यो।

तर जब २०१९ को आम निर्वाचनका बेला उनी अचानक आम जनताअगाडि हातमा माइक लिएर देखिइन् तब उनी चुनावी राजनीतिमा आपको एक महत्त्वपूर्ण महिला नेतृ बन्ने कुरा प्रस्ट भएको थियो। सोही निर्वाचन प्रचारप्रसारका क्रममा आतिशीले पार्टीका सबै अभिलेख र चुनावी अभियानसँग सम्बन्धित सबै कागजातबाट आफ्नो थर अर्थात् ‘मार्लेना’ हटाएकी थिइन्।

त्यतिबेला भारतीय जनता पार्टी (भाजपा) ले आतिशीलाई उनको थरका विदेशी र क्रिश्चियन भन्दै आलोचना गर्न थालेको थियो। तर आतिशीले आफ्नो परिचय प्रमाणित गर्न समय खेर फाल्न नचाहेको भन्दै आफ्नो थर हटाएको बताएकी थिइन्।

वास्तवमा आतिशीका आमाबाबुलाई वामपन्थीप्रति झुकाव भएको मानिन्छ र आतिशीलाई कार्ल मार्क्स र भ्लादिमिर लेनिनको नामका अक्षर मिलाएर मार्लेना उपनाम दिइएको थियो। आतिशीको उपनामको विवादकाबीच मनीष सिसोदिया उनका पक्षमा आए र उनलाई ‘राजपुतानी’ भने।

सिसोदियाले त्यतिबेला ट्विटर (अहिले एक्स) मा लेखेका थिए, ‘मलाई दुःख लागेको छ कि भाजपा र कंग्रेस मिलेर हाम्रो पूर्वी दिल्लीकी उम्मेदवार आतिशीको धर्मबारे झुट फैलाइरहेका छन्। भाजपा र कंग्रेसवाला! प्रिय जनता-  उनको पूरा नाम आतिशी सिंह हो। राजपुतानी हो। पक्का क्षेत्राणी...झाँसीकी रानी हुन्। बचेर बस। उनले जितेर इतिहास रच्नेछिन्।’

तर २०१९ को चुनावमा आतिशी तेस्रो नम्बरमा देखिइन् र भाजपाका गौतम गम्भीर विजयी भए। यसपछि आतिशीले आफ्नो एक्स ह्यान्डलबाट आफ्नो उपनाम पनि हटाइन्। #बीबीसी हिन्दी

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।