ताजा अपडेट »

आईसीसी लिग-२ : जित्नै पर्ने दबाबमा क्यानडासँग प्रतिस्पर्धा गर्दै नेपाल

सोमबार, ३१ भदौ २०८१, ०७ : ४१
340 Shares
सोमबार, ३१ भदौ २०८१
340 Shares

बुटवल । घरेलु मैदानमा प्रतिस्पर्धा भएको ७ महिनापछि नेपाल आज आईसीसी विश्वकप लिग–२ मा फर्किँदै छ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय एक दिवसीय किकेट श्रृंखलामा नेपालले आज आयोजक क्यानडासँग प्रतिस्पर्धा गर्न लागेको हो । 

नेपाल र क्यानाडाको खेल किङ सीटीमा नेपाली समयअनुसार बेलुकी पौने ८ बजे शुरू हुनेछ । यो प्रतियोगितामा नेपालसहित क्यानडा र ओमानले प्रतिस्पर्धा गर्दै छन् । लिग–२ को पहिलो सिरिजमा घरेलु मैदानमा खराब प्रदर्शन गरेको नेपाललाई यी खेलहरू जित्नै पर्ने दबाब छ । 

पहिलो पटक लिग २ खेलेको क्यानडाले गत फेब्रुअरी मार्चमा घरेलु टोली युएई र स्कटल्यान्डलाई समान दुबै खेलमा हराउँदै सानदार सुरुवात गरेको थियो । तर आन्तरिक किचलोको कारण मुख्य प्रशिक्षक पुबुदु दसानायकेले पद छाडेपछि अगष्टमा नेदरल्यान्ड्स र अमेरिकासँग समान दुबै खेलमा हार्न पुगेको थियो ।

लिग २ मा युएई र स्कटल्यान्डविरुद्ध १११ र १०५ रनको अविजित शतकीय इनिङ खेलेका हर्ष ठाकेर, तीव्र गतिका बलर कलिम साना र स्पिनर साद बिन जाफर नेपालका लागि घातक बन्न सक्ने क्यानडाका हतियार हुन् ।

यद्यपी नेपालले गत फेब्रुअरीमा क्यानडासँग खेलेको तीनै ओडीआई खेल जितेको थियो । २३४ रनको लक्ष्य पछ्याउनेक्रममा अनिल शाह ११२ र भीम सार्कीले १०१ रन बनाएका थिए । तेस्रो नम्बरमा यी दुईमध्ये एक खेल्ने सम्भावना छ । 

तालिकाअनुसार नेपालले दोस्रो खेल पर्सि असोज  २ गते ओमानसँग, तेस्रो खेल असोज ६ गते क्यानडासँग र चौथो खेल असोज ८ गते ओमानसँग खेल्नेछ । यो श्रृङ्खला सकिएको २ दिनपछि असोज १२ देखि १७ गतेसम्म तीनवटै टोलीबीच टी–२० अन्तर्राष्ट्रिय श्रृङ्खला हुँदैछ ।

विश्वकप लिग २ मा ८ खेल खेलेको नेदरल्याण्डस् १२ अंकसहित शीर्ष स्थानमा छ । ७ खेल खेलेको स्कटल्याण्ड ४ मा जीत र २ मा हारसहित ९ अंक जोड्दै दोस्रो स्थानमा छ । ८ अंक भएको क्यानडा तेस्रो स्थानमा छ । समान खेल र समान नतिजासहित नामिबिया चौथो स्थानमा छ ।

४ अंकको अमेरिका पाँचौ स्थानमा छ । ३ अंकको ओमान छैटौ तथा २ अंकको नेपाल साँतौ स्थानमा छ । यी दुवै टोलीले समान चार खेलेका छन् । ३ खेलमा ३ वटै हार भोगेको युएई अंक तालिकाको पुछारमा छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।