ताजा अपडेट »
रूपन्देहीमा टटा पन्च इभी

बुटवल र भैरहवामा टाटाको ‘पन्च इभी’ लन्च

आइतबार, ३० भदौ २०८१, २० : २२
164 Shares
आइतबार, ३० भदौ २०८१
164 Shares

बुटवल । सिप्रदी ट्रेडिङ्ग प्रा. लि.को रुपन्देही क्षेत्रका आधिकारिक बिक्रेता सफल अटो इन्टरनेशनल बुटवल तथा अम्बु मार्केटिङ भैरहवाले टाटाको बहुप्रतिक्षित कम्प्याक्ट एसयूभी 'टाटा पन्च ईभी' को एक कार्यक्रम बिच आइर्तबार रूपन्देहीकाे तिलोत्तमामा औपचारिक लन्चीङ गरेएको छ ।

बुटवल तथा भैरहवाका क्षेत्रका ग्राहकहरूलाई पायक पर्ने गरी तिलोत्तमाकाे बाेधी भिल्लमा गाडी लन्च गरिएको हो । सोही लन्चीङ कार्यक्रममा 'टाटा पन्च ईभी' अग्रिम बुक गरेका ग्राहकहरूलाई गाडी हस्तान्तरण पनि गरिएको थियो । 

लन्चिङ कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रा.लि.का तर्फबाट डि.सिईओ राजेश गिरी तथा प्यासेन्जर भेहिकलका बिजनेस युनिट प्रमुख सावन्त जंग सिजापतिले 'पन्च ईभी' का प्राविधिक पक्ष बारे जानकारी गराएका थिए । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर प्रसाद श्रेष्ठ प्रमुख अतिथि रहेको कार्यक्रममा यस क्षेत्रका उद्योगी, व्यवसायी, टाटाका हलुका सवारी प्रयोग गरी रहेका ग्राहकहरू, प्रि-बुकिङ गरेर 'टाटा पन्च ईभी' काे प्रतीक्षामा बसेका ग्राहकहरूको समेत सहभागीता रहेको थियो ।

लन्चिङ कार्यक्रममा बोल्दै प्रमुख अतिथि अध्यक्ष श्रेष्ठले पछिल्लो समय ईभी गाडी ग्राहकको  पहिलाे रोजाइ बनेको बताउँदै बजेट गाडीको सेगमेन्टमा टाटा सर्वाधिक रचाइएको गाडी रहेकाे बताए । उनले आजै लन्च गरिएको टाटा पन्च ईभीका विशेषताहरूले यस क्षेत्रका ग्राहकहरूकाे मन जित्ने विश्वास व्यक्त गरे। 

टाटाकाे बहुप्रतिक्षित गाडी 'पन्च ईभी' यस क्षेत्रमा लन्चिङ गर्न पाउँदा निकै उत्साहित भएको बुटवल क्षेत्रको आधिकारिक बिक्रेता सफल अटो इन्टरनेशनलका निर्देशक दिनेश शर्माले बताए । पहिले नेक्सन ईभी र गत वर्ष टियागो ईभी ले बुटवलमा एकदम राम्रो बजार लिएको र अब 'पन्च इभी' ले पनि उत्कृष्ट बजार लिनेमा आफू विश्वस्त रहेको उनको भनाइ रहेको थियो ।

त्यसै गरी भैरहवा क्षेत्रका आधिकारिक बिक्रेता अम्बु मार्केटिङका प्रोप्राइटर पर्शुराम पराजुलीले अहिले भैरहवा क्षेत्रमा टाटाको टियागो इभि अत्यधिक रुचाइएको गाडी रहेको र अत्याधुिनक बिशेषता सहित आएको कम्प्याक्ट एसयूभी 'पन्च इभी' लाई पनि ग्राहकहरूले त्यसरी नै रुचाउने कुरामा दुई मत नरहेको बताए ।

विशेषाताः

यो गाडी एलआर (लङ रेन्ज) र एमआर (मिडियम रेन्ज) गरी दुई मोडेलमा उपलब्ध छ भने स्मार्ट, स्मार्ट प्लस, एड्भेन्चर, एम पावर्ड र एम पावर्ड प्लस भेरियन्टमा यो गाडी खरिद गर्न सकिनेछ ।

मिडियम रेन्जमा कम्पनीले २५ किलोवाट आवर क्षमताको ब्याट्री उपलब्ध गराएको छ भने लङ रेन्जमा ३५ किलोवाट आवर क्षमताको ब्याट्री राखिएको छ । कम्पनीका अनुसार मिडियम रेन्जले ८० बीएचपीको पावर उत्पादन गर्न सक्छ भने लङ रेन्जको पावर १२० बीएचपी रहेको छ । त्यस्तै एमआरमा ११४ न्युटन मिटर टर्क छ भने एलआरमा १९० न्युटन मिटर टर्क रहेको छ । 

सिङ्गल चार्जमा एमआरले ३१५ किलोमिटर र एलआरले ४२१ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । यसलाई तीन तरिकाले चार्ज गर्न सकिन्छ । सामान्यतः ३.५ किलोवाट एसी वाल चार्जरले पनि यसलाई चार्ज गर्न मिल्छ । उक्त चार्जरबाट एलआर साढे नौ घण्टा र एमआर साढे १३ घण्टामा फुल चार्ज हुने कम्पनीको भनाई छ । 

त्यस्तै ७.२ किलोवाट चार्जरको सहायताले एमआर भेरियन्टलाई साढे तीन घण्टा र एलआरलाई साढे पाँच घण्टामा फुल चार्ज गर्न सकिने कम्पनीले दाबी गरेको छ । त्यस्तै ५० किलोवाट डीसी फास्ट चार्जरले गाडीलाई शून्यदेखि ८० प्रतिशतसम्म चार्ज गर्न ५६ मिनेट लाग्ने कम्पनीले जनाएको छ । 

मोटरको कुरा गर्नु पर्दा यसको तल्लो भर्सनमा ६० किलोवाटको पर्मानेन्ट म्याग्नेट सिङ्क्रोनाइज मोटर राखिएको छ । त्यस्तै लङ रेञ्जमा ९० किलोवाट आवर क्षमताको मोटर छ । बेस भर्सनलाई शून्यदेखि १०० किलोमिटरको स्पिड पकड्न १३.५ सेकेन्ड लाग्छ भने लङ रेञ्ज भेरियन्टले ९.५ सेकेन्डमै उक्त वेग भेट्न सक्छ । 

फ्रन्ट प्रोफाइल 

फ्रन्ट प्रोफाइलको कुरा गर्दा सबैभन्दा पहिले अगाडि नै चर्चा गरिसकेको चार्जिङ पोर्ट आउँछ । त्यसपछि कम्पनीले परिवर्तन गरेको अगाडिको डिजाइन आँखामा पर्छ । चार्जिङ पोर्ट रहेको ठाउँको तल ३६० डिग्री एचडी क्यामेरा जडान गरेको देख्न सकिन्छ । यसलाई कम्पनीले सराउन्ड भ्यु सिस्टम नाम दिएको छ । यस्तो क्यामेरा पछाडिपट्टि पनि राखिएको छ ।

अगाडिपट्टि हेर्ने हो भने बोनेटको तल भेन्टिलेटरका लागि राखिएको ग्रिल देख्न सकिन्छ । र, छेउछाउमा पनि भेन्टिलेटर राखिएको छ । जसले ब्याट्री र टायरलाई चिसो बनाइरहने कम्पनीले जनाएको छ । गाडीको अगाडि बोनेटमा इन्डिकेटर लाइट पनि समावेश छ । यस लाइटले तीन ओटा काम गर्छ । एउटा डेटाइम रनिङ ल्याम्प (डीआरएल), अर्को इन्डिकेटर र गाडी चार्ज भएअनुसार कति प्रतिशत पुग्यो, त्यति नै लाइट बल्छ । 

टायर

अन्य ईभीभन्दा टाटाले यो ईभीको टायरलाई विशेष बनाएको छ । टायरमा कम्पनीले ‘डायमन्ड कट एलोए’ राखेको छ । यो प्लास्टिकले नभइ विभिन्न धातुको मिश्रणले बनेको छ । त्यस्तै टायर एपोलोको एम्पिरियट टायर राखिएको छ । यो टायर विशेषगरी ईभीका लागि बनाइएको बताइएको छ । यो ईभीका लागि तयार पारिएकाले धेरै टिकाउ हुने भनिएको छ । 

यो गाडीको चार ओटै टायरमा डिस ब्रेक राखिएको छ । तर, यो टप भेरियन्टका लागि मात्र उपलब्ध छ । अन्य भेरियन्टमा भने अगाडि डिस र पछाडि ड्रम ब्रेक दिइएको छ । गाडीको ढोकामा ईभीको लोगो राखिएको छ भने साइड मिररमा ३६० डिग्री क्यामेरा दिइएको छ ।

प्यासेन्जर साइडमा रहेको डोर नबमा रिक्वेस्ट सेन्सर राखिएको छैन । यो ड्राइभर साइडको ढोकामा मात्र छ ।  पछाडिपट्टिको ढोका खोल्नका लागि पेट्रोलियम पन्च भेहिकलको जस्तो डोर नब राखिएको छ । चार ओटै ढोका ९० डिग्री कोणसम्म खोल्न सकिन्छ । 

कम्पनीले यसको डाइमेन्सन र डिजाइन पेट्रोलियम पन्च होल गाडीमा जस्तै राखेको छ । यसको ग्राउन्ड क्लियरेन्स भने १९० एमएम रहेको छ । पछाडिपट्टि टाटाको लोगो र त्यसको तल पन्च डट ईभी लेखेको देख्न सकिन्छ । पछाडिपट्टिको इन्डिकेटर भने एलईडी नभएर हेलोजनको छ । 

गाडीको बुटस्पेस पनि स्तरीय नै देखिन्छ । कम्पनीका अनुसार यसको आकार ३६६ लिटर छ । बुटस्पेसको तल पनि युटिलिटी स्पेस (मर्मतसम्बन्धी आवश्यक सामग्री राख्ने ठाउँ) छ । त्यसमा चार्जरको ब्याग राख्न समेत सकिन्छ । तर यसमा स्पेयर ह्विल भने दिइएको छैन । 

सिट

गाडीको सिटको कुरा गर्नु पर्दा लेदर र फेब्रिकबाट बनेको सिट देख्न सकिन्छ । कम्पनीले यसलाई ‘लेदरेट अल्ट्रा कम्फर्ट सिट’ नाम दिएको छ । पछाडिपट्टि तीन ओटा सिट र सिटबेल्ट राखिएको छ । बीचको भागलाई सिट नभई ‘हेन्ड रेस्ट’ (हातलाई आराम दिने स्थान) बनाउन पनि सकिन्छ । 

पछाडिपट्टि सिटमा चार्जिङका लागि वा अन्य प्रयोजनका लागि राखिने यूएसबी पोर्टहरू छैनन् । अगाडिपट्टिको सिटको कुरा गर्नुपर्दा ढोका खोल्दा रिक्वेस्ट सेन्सरमा ट्याप गरेर ढोका खोल्न वा बन्द गर्न सकिन्छ । 

ढोका खोल्ने बित्तिकै भेन्टिलेटेड सिटको विकल्प देख्न सकिन्छ । यसमा सिट हाइट एडजस्टमेन्टको सुविधा पनि दिइएको छ । 

इन्टेरियर भाग

पन्च होल ईभीमा हार्मोन कम्पनीले निर्माण गरेको २६.०३ सीएम एचडी इन्फोटेनमेन्ट सिस्टम राखिएको छ । नेक्सन र पन्च होल दुवैमा उस्तै किसिमको स्टार्टिङ एनिमेसन छ । स्टेरिङलाई लेदरले ढाकिएको छ । स्टेरिङको बायाँपट्टि मिडिया कन्ट्रोल र दायाँपट्टि क्रुज कन्ट्रोल (स्पिड कन्ट्रोल गर्ने प्रणाली) बटन राखिएको छ । त्यसको अगाडिपट्टि २६ सेन्टिमिटरको मल्टी इन्फरमेसन डिस्प्ले (एमआईडी) छ । अर्थात् गाडीमा इन्फोटेनमेन्ट र मल्टी इन्फरमेसन डिस्प्ले छ । 

इन्टेरियर डिजाइनको कुरा गर्दा स्टेरिङको तलपट्टि नब्सको साटो कन्ट्रोल प्यानल दिइएको छ । बुट स्पेस खोल्न, हजार्ड लाइट (Hazard Lights) कन्ट्रोल गर्न, डोर लक गर्न, ३६० डिग्री क्यामेरा कन्ट्रोल गर्न उक्त प्यानलमा दिएका सङ्केतमा टच गरे पुग्छ । त्यसको तलपट्टि १२ भोल्टको सकेट राखिएको छ । त्यसको छेउमा टाइप-सी र यूएसबी पोर्ट दिइएको छ । त्यसको अलि तलपट्टि भने वायरलेस चार्जिङको सिस्टम राखिएको छ । 

गाडीमा स्मार्ट डिजिटल चार्जिङ इन्डिकेटर, स्मार्ट डिजिटल ह्विल स्टेरिङ, एलईडी प्रोजेक्टर हेडल्याम्प र स्मार्टवाचबाटै कन्ट्रोल गर्न सकिने वायरलेस एन्ड्रोइड एन्ड एप्पल कारप्ले सिस्टम रहेको छ ।अगाडिका दुई ओटा सिटको बीचमा (ड्राइभरको बायाँपट्टि) ह्यान्ड रेस्टका लागि एउटा भाग राखिएको छ । त्यसको ठीक अगाडि इलेक्ट्रोनिक पार्किङ ब्रेक कन्ट्रोल र अटो होल्डको अप्सन छ । 

त्यसको छेउमा दुई ओटा कप होल्ड गर्न मिल्ने स्थान छुट्याइएको छ । त्यसको अगाडिपट्टि डायलर रहेको छ भने त्यसमा स्पोर्ट्स मोड र इको मोडका लागि बटन राखिएका छन् । माथिपट्टिको भागमा सनरुफ दिइएको छ । यसलाई कम्पनीले ‘भ्वाइस असिस्टेड इलेक्ट्रिक सनरुफ’ नाम दिएको छ । अर्थात् इलेक्ट्रिक सनरुफलाई आवाजबाटै नियन्त्रण गर्न सकिन्छ । त्यसको अलि तल केही बटनहरू दिइएका छन् । त्यहींको बटनबाट पनि सनरुफ खोल्न र बन्द गर्न सकिन्छ । त्यसको विपरीत भागमा आपतकालीन अवस्थामा कल गर्न सकिने एसओएस कल बटन छ । 

कल बटनभन्दा तलपट्टि अटो डिमिङ आईआरभीएम लाइट राखिएको छ । गाडीमा छ ओटा एयरब्याग छन् ।

इन्फोटेनमेन्ट सिस्टम 

गाडीमा २६ सेन्टिमिटरको इन्फोटेनमेन्ट सिस्टम दिइएको छ । यसमा एप्पल कारप्ले तथा एन्ड्रोइड अटोको सुविधा छ । अर्थात् डिभाइसलाई इन्फोटेनमेन्टमा वायरलेस कनेक्ट गर्न सकिन्छ । तपाईंले इन्फोटेनमेन्ट डिस्प्लेमै म्याप्स प्रयोग गर्न सक्नुहुन्छ । त्यस्तै मुड लाइट लगायत अन्य कुराहरू त्यहीँबाट कन्ट्रोल गर्न सकिन्छ ।

कम्पनीका अनुसार यो गाडीमा केही एपहरू पहिले नै इन्स्टल भएका हुन्छन् । गाडीको उक्त सिस्टममा भिडिओ स्ट्रिमिङ, म्युजिक र गेमिङ एपहरू देख्न सकिन्छ । एप्पल कार प्ले अथवा एन्ड्रोइड अटोको जानकारीलाई इन्फोटेनमेन्टबाट एमआईडी (स्टेरिङको अगाडिपट्टि रहेको डिस्प्ले) मा सार्न पनि सकिन्छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।