ताजा अपडेट »

त्रिशूलीमा ट्रक खस्यो कि खसालियो ? यस्तो छ प्रहरी अधिकृतको भनाई

आइतबार, ३० भदौ २०८१, १३ : २३
0.93K Shares
आइतबार, ३० भदौ २०८१
0.93K Shares

बुटवल । नारायणगढ-मुग्लिन सडकअन्तर्गत समलताल भन्ने ठाउँमा आज (आइतबार) विहानै मालवहाक ट्रक त्रिशूली नदीमा खसेको खबर आयो । खबर लगत्तै उद्धारका लागि घटनास्थलमा पुगेको प्रहरी टोलीले चालक तथा अन्य कुनै पनि मानिसलाई नभेटेपछि फरक ढंगले अनुसन्धानलाई अघि बढाएको छ । 

चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालामा त्रिशूली नदीकिनारमा खसेको ट्रकका चालक यमबहादुर घले रहेको चितवन प्रहरीले जनाएको छ । यद्यपी उनी भने सम्पर्कमा आएका छनन् । ट्रकमा भेटिएको चलानीमा चालक यमबहादुर घले उल्लेख गरिएको पाइएको हो। ट्रक दुर्घटनापछि चालक घले त्रिशूलीमा बेपत्ता नभएर फरार रहेको अनुमान प्रहरीले गरेको छ। चालक त्रिशूलीमा परेर बेपत्ता भएजस्तो कुनै प्रमाण हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको हो। 


ट्रकमा भेटिएको सामानको चलानीमा उल्लेख नाम र मोबाइल नम्बरअनुसार ट्रक चालक घलेको खोजतलास अघि बढाइएको चितवन प्रहरीका सूचना अधिकारी, प्रहरी नायब उपरिक्षक भेषराज रिजालले बताए। उनका अनुसार चालक हेटौँडाका हुने भन्ने प्रारम्भिक विवरण आएको छ । चलानीमा लेखिएको उनको मोबाइल नम्बर पनि स्विच अफ छ।


मोबाइल अफ भएका कारण ट्रक पल्टिएपछि चालक भागेको हुनसक्ने अनुमान प्रहरीले गरेको हो। दुर्घटनालाई नै प्रहरीले शंकास्पद ठानेको छ। तर घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी रिजालले बताए। अहिलेसम्म ट्रकमा चालकबाहेक अरू को थिए भन्ने विषय पनि पत्ता लागेको छैन। 

ट्रकधनी पनि पत्ता लगाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। ना ६ ख ६२८३ नम्बरको ट्रक सिमलतालबाट त्रिशूली नदी किनारमा खसेको हो। २२५ कार्टुन आरएमसी कम्पनीका सूर्यमुखी खानेतेल लिएर काठमाडौँ जाँदै गरेको ट्रक दुर्घटनामा परेको हो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।