ताजा अपडेट »

‘सुशासनको सुई बालकोट र बुढानीलकण्ठतिर सोझिँदा’ आफ्नो सरकार ढालियाेः प्रचण्ड

आइतबार, ३० भदौ २०८१, ०६ : २१
28 Shares
आइतबार, ३० भदौ २०८१
28 Shares

मोरङ । पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘सुशासनको सुई बालकोट र बुढानीलकण्ठतिर सोझिँदा’ आफ्नो सरकार ढालिएको आरोप लगाएका छन्।  शनिवार मोरङको ग्रामथानमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भुटानी शरणार्थीसँग सम्बन्धित केही फरार अभियुक्तको गिरफ्तारी र सुशासनको सुई बालकोट र बुढानीलकण्ठ सोझिँदा आफ्नो सरकार ढलेको  समेत बताएका हुन्।

‘सुशासनको सुई बालकोट सोझियो, बुढानीलकण्ठतिर पनि सोझियो। जब भ्रष्टाचार विरोधी अभियानको सुई उता सोझियो, एउटा आतङ्क नेताहरूमा पैदा भयो एउटा डर, भय उत्पन्न भयो,’ उनले भने।  त्यस कारण आफ्नो सरकार ढलेको उनले बताए।

‘उनले भनेको बालकोट एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको निवास हो भने बुढानीलकण्ठ पूर्व प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाको निवास हो। ‘राम्रो काम गर्न खोज्दा खोज्दै कुनै पनि अभियोग नलाग्दा नलाग्दै पनि तथाकथित संख्याको बलमा बडो अप्राकृतिक रूपमा अस्वाभाविक रूपमा आफ्नै नेता कार्यकर्तालाई जानकारी समेत नदिई पहिलो र दोस्रो पार्टीका बिचमा गठबन्धन बनाइयाे र सरकार बदलिने परिस्थिति बन्यो,’ अध्यक्ष प्रचण्डले भने।

आफू अहिले म जीवनको उत्तरार्धतिर रहेको बताउँदै प्रचण्डले आफूलाई किन हो अलि बढी जोस आउन लागेको बताए । मलाई साथीहरूले किन यति धेरै दौडिएको भन्नुहुन्छ। मलाई जोस आएकै छ,’ प्रचण्डले भने। उनले सुशासन र जनताको पक्षमा जीवनको अन्तिम क्षणसम्म लडिराख्ने कसम समेत आफूले खाएको बताए। 

‘भ्रष्टाचारका विरुद्ध र सुशासनको पक्षमा जीवनको अन्त्यसम्म लडिराख्ने मैले कसम खाएको छु। मलाई अरू धेरै केही गर्नु छैन, बाँचुन्जेल बाँचेर जनताको सेवाको निम्ति समर्पित रहन्छु। मरेपछि पनि आफ्नो कर्मले सयौँ वर्षसम्म जनताको सेवा गरिराख्छ। राजनीतिज्ञ कहिल्यै मर्दैन, मैले कहिल्यै नमर्ने राजनीतिज्ञ बन्ने सङ्कल्प लिएको छु,’ पूर्वप्धानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले भने।

प्रचण्डले सत्ता गठबन्धनलाई वर्तमान सरकारलाई बङ्गलादेशबाट पाठ सिक्न चेतावनी दिएका छन्। ‘मैले खबरदारी मात्रै गरेको हो, काँग्रेस एमाले नेताहरुले भनेजस्तो बङ्गलादेश बनाइदिन्छु भनेको होइन!, उनले भने‘ ‘मैले सम्झाएको मात्र छु, दुई तिहाइको तपाईहरुलाई अहंकार आयो भने धेरै टाढा जानुपर्दैन बङ्गलादेश हेरे पुग्छ, त्यहाँ पनि दुई तिहाइकाे सरकारत्याे पनि एउटै पार्टीको थियो ।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।