ताजा अपडेट »
आईफोन बाट खिचेकाे नेपाली चलिचत्र

आईफाेनले खिचेकाे पहिलाे नेपाली चलचित्रकाे प्रिमियर, चाडै हलमा प्रदर्शनमा आउने

शनिबार, २९ भदौ २०८१, २१ : ४३
140 Shares
शनिबार, २९ भदौ २०८१
140 Shares

काठमाडौँ । नेपालमा पहिलो पल्ट आईफोनले  खिचेको चलचित्रको प्रिमियर सम्पन्न भएको छ । आईफाेन १४ प्रो म्याक्सबाट खिचिएको नेपाली चलचित्र 'अ प्लेस अन्डर द सन'को शुक्रवार प्रिमियर गरिएको छ । शुक्रवार सुनधारास्थित सिटिसि मलमा रहेको सीडीसी सिनेमाजमा यो चलचित्रको को विशेष प्रदर्शनी गरिएको हो ।

अस्कर कलेज अफ फिल्म स्टडीज बाट चलचित्रको अध्ययन गरेका छात्र जेसन लोप्चन द्वारा निर्देशित यो चलचित्र एक घण्टा ५५ मिनेट लामो रहेको छ । वान स्क्वाड फिल्मसको ब्यानरमा बनेको चलचित्र 'क्राइम' विधामा आधारित छ । चलचित्रको कथाले तीन जना बाल्यकालमा मिल्ने युवाहरूको भेट र त्यसपछि आउने पात्रहरूको उतार चढाव भन्दछ । आईफाेन बाट पहिलो पल्ट खिचिएको नेपाली चलचित्र प्राविधिक रूपमा कस्तो  छ त यसबारे जानाै ।

कसरी खिचियो फिल्म ?
अमेरिकी फिल्म निर्देशक स्टिभन सोडनबर्गले स्तरीय फिल्म आईफोन सिक्स तथा सेभेन जस्ता डिभाइसले खिचेको थाहा पाएपछि उनैबाट प्रभावित भएर पनि यही कन्सेप्टले चलचित्र निर्माण गरेको निर्देशक लोप्चनले बताएका छन ।  त्यसै माथि सीमित बजेटमा चलचित्र बनाउनु पर्ने भएकाले आईफोनबाट चलचित्र खिचेको उनी सुनाउँछन् । यो चलचित्र काठमाडौँ र चितवनका विभिन्न ठाउँमा खिचिएको हो । 

unnamed
 
चलचित्र लाई जम्मा १८ दिनमा खिचिएको हो भने यसको पोस्ट प्रोडक्सनमा करिब छ महिना बढी समय लगाएको लाेप्चन सुनाउँछन् । त्यस्तै आईफोनमा आउने प्रिबिल्ट क्यामेरा बाहेक आईफोनमा मिल्ने जुम लेन्स, एन्डी फिल्टर, प्राइम लेन्स जस्ता अन्य सामग्री भने फिल्मका लागि खरिद गरेको उनले बताए । त्यसैगरी मुभमेन्ट शटका लागि उनले आईफोन १३ मिनि पनि प्रयोग गरेका छन् । यस चलचित्रमा द्वन्द्व पनि हेर्न सकिन्छ । त्यही शट खिच्न आईफोन १३ मिनी प्रयोग गरिएको हो ।चलचित्रमा कलाकार भने जम्मा सात जना रहेका छन् ।

कस्तो छ त आईफोन १४ प्रो म्याक्सको क्यामेरा ?  

चलचित्र खिच्न प्रयोग गरिएको आईफोन १४ प्रो म्याक्स सन् २०२२ मा सार्वजनिक भएको आईफोन १४ सिरिजको यो सबैभन्दा राम्रो मोडेल हो । यस मोडेलमा ट्रिपल क्यामेरा सेटअप पाउन सकिन्छ भने यसमा  मुख्य क्यामेरा ४८ मेगापिक्सेल, टेलिफोटो १२ मेगापिक्सेल र अल्ट्रावाइड १२ मेगापिक्सेलको क्यामेरा रहेको छ ।  

यसको मुख्य क्यामेरामा क्वाड पिक्सेल टेक्नोलोजीकाे प्रयोग गरिएको हुँदा यसले प्रकाश कम भएको ठाउँमा पनि उत्कृष्ट फोटो खिच्ने एप्पलको दाबी छ । त्यस्तै फोटो/भिडिओ खिच्दा नहल्लियोस् भनेर यसमा एप्पलले अप्टिकल इमेज स्टेबलाइजेसन समेत प्रयोग गरेको छ ।  यसबाट भिडिओ भने २४, २५, ३०, ६० एफपीएसमा फोरकेमा खिच्न सकिन्थ्यो । त्यसैगरी १०८० पिक्सेलमा भने २५/३०/६०/१२० एफपीएसमा खिच्न सकिन्थ्यो । समग्रमा यसमा मोबाइल फोटोग्राफीमा रुचि राख्नेहरूका लागि यो विकल्प हो । 

अनि कस्तो छ फिल्मको गुणस्तर ?

विश्वमा यसअघि पनि फिचर फिल्मका लागि आईफोन प्रयोग भएका छन् । एप्पलकै कार्यक्रमका लागि पनि आईफोन प्रयोग भएको छ । विशेष गरेर आईफोनबाट फिचर फिल्म खिच्दा स्टेबलाइजेसनको समस्या हुने गर्छ । यसमा मामिलामा निर्माण टोलीले राम्रै काम गरेका छन् । चलचित्रमा बढी जसो पात्रहरू स्थिर अवस्थामा रहेकाले पनि हुन सक्छ, दृश्यहरू हेर्ने नसक्ने गरी हल्लिएको पाइँदैन ।

यसभन्दा पनि ठुलो समस्या हो, गुणस्तर । आईफोनले आफ्नो क्यामेराको गुणस्तरमा सुधार गरेको भए पनि प्रोफेसनल क्यामेरा जस्तो हुँदैन । सिधा प्रकाश पर्ने गरी खिचिएका दृश्यहरू फिल्ममा प्रशस्त देखिन्छन् । कतै न कतै दृश्यका रङहरू केही खल्लो लाग्ने गर्छ । चलचित्रमा रातका दृश्यहरू पनि छन् । त्यसमा निर्देशकले अलि चलाखी गरेका छन् । जसले गर्दा रातको दृश्यलाई पनि क्यामेराले राम्रै खिचेको छ ।   

सायद बाह्य लेन्स प्रयोग गरेकाले होला सब्जेक्ट राम्रैसँग फोकस भएको देखिन्छ । यद्यपि फोकस बाहिर भएकाेहुदा दृश्यमा भने अलि फाँटेको जस्तो महसुस हुन्छ । यो ठुलो स्क्रिनमा भएर हुन सक्छ । त्यस्तै फिल्मको अडिओ पनि अझै राम्रो हुन सक्ने थियो । कम्तीमा फिल्म हेर्दा त्यस्तै महसुस हुन सक्छ । हुन त निर्देशक लोप्चनका अनुसार फिल्मको डबिङ स्टुडिओमै गरिएको बताउँछन्। 

चलचित्रमा प्रविन लिम्बूको छायांकन, प्रज्वल खड्काको ध्वनि रहेकाे छ। इस्स्क्वाड फिलिम्स मुख्य निर्माता रहेको चलचित्रमा 'हाम्रो पात्रो', 'पठाओ', 'फ्रान्कलिन एजुकेसन' सहायकका रूपमा रहेका छन्। चलचित्रमा मिन घलान, विप्लव गौली, अंशु शर्मा, प्रजन पौडेल, मीरा गुरुङ, प्रवेश एमसी, रिदेन श्रेष्ठ र विकाश सुवेदीलाई कलाकारका रूपमा देख्न सकिनेछ। अपराधलाई मुख्य विषय बनाएर फिल्म बनाइएको निर्माण पक्षले जनाएको छ। 

अस्कर कलेजबाट ‘फिल्म स्टडिज’ अध्ययन गरेका लोप्चनको यो प्रयास नेपाली चलचित्र क्षेत्रमा नौलो भने छ । चाँडैनै हलमा लगाउने तयारी गरिएको यो चलचित्र हेर्दा फरक फरक पर्दैन। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।