ताजा अपडेट »

लुम्बिनी प्रज्ञा-प्रतिष्ठान गठनको प्रक्रिया सुरुभयो : मुख्यमन्त्री

शनिबार, २९ भदौ २०८१, १० : ३१
86 Shares
शनिबार, २९ भदौ २०८१
86 Shares

बुटवल । लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रज्ञा-प्रतिष्ठान गठनको पक्रिया सुरु गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले लुम्बिनी प्रज्ञा प्रतिष्ठान गठनको प्रक्रिया सुरु गरेको जानकारी दिए । शनिबार बुटवलमा भएको प्रज्ञा-नारी काव्य सङ्गोष्ठी २०८१ को उद्घाटन गर्दै मुख्यमन्त्री आचार्य प्रदेश सरकारले प्रज्ञा-प्रतिष्ठान गठनको लागि विधेक तयार पारेर प्रदेश सभामा लगेर कानुनी आधार तयार पारिने बताए ।

‘लुम्बिनी प्रदेशको कला, साहित्य, संस्कृतिको संरक्षण गर्न सरकारले प्रदेश प्रज्ञा–प्रतिष्ठान गठन गर्छ । यसबाट प्रदेशको कला, साहित्य, संस्कृतिको विकासमा योजना बनाएर काम अघि बढ्छन’–मुख्यमन्त्री आचार्यले भने, ‘कला, साहित्य, संस्कृतिको जगेर्ना गरेर समाज विकास र रुपान्तरणको अभियानमा अघि बढ्न सकिन्छ ।’ साहित्य, कला, संस्कृतिको जगेर्ना गर्न नसक्दा समाजले क्षति व्यहोर्नुपर्ने अवस्था रहेको भन्दै यस तर्फ सबैको चिन्ता र चासो हुनुपर्ने धारणा व्यक्त गरे । 

नेपाल प्रज्ञा–प्रतिष्ठान साहित्य (काव्य/पद्य) विभाग र लुम्बिनी वाङ्मय प्रतिष्ठानको सहकार्यमा लुम्बिनी प्रदेश स्तरीय प्रज्ञा-नारी काव्य सङ्गोष्ठी २०८१ आयोजना गरिएको हो । प्रदेशका १२ जिल्लाका साहित्य अनुरागिहरुको विशेष उपस्थितिमा भएको कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका काव्य विभाग प्रमुख बाबा बस्नेतले साहित्य क्षेत्रको विकासको लागि प्रदेश तहहरुमा प्रज्ञाप्रतिष्ठान निर्माण गरेर जान सकिने, यस तर्फ प्रदेश सरकारले अघि बढाउने योजनामा सहकार्य गर्ने बताए । 

बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अर्यालले समाज रुपान्तरण र जागरणका लागि साहित्य क्षेत्रको ठूलो योग्दान रहेको चर्चा गरिन् । लुम्बिनी वाङ्मय प्रतिष्ठान लुम्बिनीका उपाध्यक्ष  सृजना ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष ऋषि आजादले संस्कृति र सभ्यताको वहाक साहित्य क्षेत्र भएको बताए । कार्यक्रममा भगवती पाण्डे अर्यालले कार्यपत्र प्रस्तुत गर्दै १२ जिल्लाको अवस्थाको चित्रण गरेकी थिइन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।