ताजा अपडेट »

प्याउली पलायो, रेसुङ्गाको डाँडाले फेरि बोलायो

शनिबार, २९ भदौ २०८१, ०८ : ३५
350 Shares
शनिबार, २९ भदौ २०८१
350 Shares

गुल्मी तम्घास जाने रहर पहिलेदेखि नै थियो । हुन त ‘जिउँदा जीवराज’ वृत्तचित्र बनाउने क्रममा एकपटक त्यता पुगेकै थिएँ । यसपालि तम्घास पुग्दा संस्कृतिकर्मी घनश्याम कोइराला, शिक्षाप्रेमी वाइपी आचार्य लगायतका हामी थियौं । साथमा मोटर हाँकिरहेका थिए स्वाथ्यकर्मी केदार भुसाल । हाम्रो केमेष्ट्री मिलाउने काम पाका पुराना गुल्मेली नेता लिलबहादुर विष्टले गरेका थिए । 

बुटवलबाट तम्घाससम्म पुग्दा बाटामा हामीले धेरै थरिका कुरा गरेका थियौं । प्रभासमा परौठा खायौं । चिया पियौं । स्थानीय वडापालिकाका वडाध्यक्ष, स्थानीय प्रहरी चौकीका इन्चार्जसँग वाइपीका साथीका नाताले गफ पड्कायौं । रमाईला कुराकानीले डेढघण्टा बिताएको हेक्कै भएन । उनीहरुलाई विगतदेखि आगतसम्मका कुरा गरिरहे । क्याम्पसे जीवनका आरोह, अवरोहका बारेमा मज्जाले गफ हाँके । 

तानसेन पुगेपछि हामीले नेता ओमबहादुर घर्तिमगरसँग उनकै पार्टी कार्यालयमा भेट्यौं । जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालसँग थोरै समय, भलाकुसारी गर्न भ्यायौं । हिड्नेबेला घनश्याम जीले ओम जीसँग चरप्प हात मिलाए । अनि हामी लाग्यौं गुल्मी, तम्घासतिर । मोटर आफ्नै गतिमा बतासेतिर उकालो लाग्यो । हामी भने प्राकृतिक हावा खाँदै आफ्नै गतिमा समयसँगै चिप्लियौं । 

e204f41c-0a9b-4cdd-93a2-ff6934c6563c

भैरवथाननिर ‘थापा रोट सेन्टर’मा एकमानाको रोट किनेर चाख्दैचाख्दै अघि बढ्यौं । गुलियोको कारण मैले धेरै खान सकिनँ । साथीहरुले चाँख्दै गर्दा कतिबेला रोट तुरियो हेक्का नै भएन । बाटामा लिलबहादुर दाइले आफ्नो जीवनकहानी सुनाए । सशस्त्र द्वन्द्वको समयमा गाउँमा बस्न नसकेर जिल्ला सदरकुमाम पसेको, त्यहाँ पनि टिक्न नसकेर काठमाडौंतिर हुइँकिएको । त्यहाँबाट पनि पार लाग्न नसकेर विदेश पलायन हुन परेको कुरा सुन्दा त बाटो काटेको र समय घर्किएको थाहै भएन । हृदयविदारक कथा थिए उनका । काठमाडौंमा गेष्टहाउस चलाउँदा द्वन्द्वकालीन समयमा कठिन भएको र एकपटक उनलाई सेनाले भकुण्डो खेलाएर भद्रकाली पुराएको कुरा सुन्दा पनि आङ् सिरिङ्ग गर्यो । 

टक्सारबजार पुगेपछि वाइपीका ससुरालीखण्डसँग भेटघाट भयो । त्यतिबेला गिलासको पानी पिउँदै गर्दा तम्घासबजारतिर आकासेपानी पर्दै गएको देखिन्थ्यो । हतारमा हिडियो ।  टक्सारबजार सानो, चिटिक्क परेको गाउँले बजार रहेछ । सुन्दर पहाडिया बजार देखेपछि मनै रमाइलो भयो । बाटा नजिकका दुकानहरुमा खुदोका आधुनिक डल्लाहरु देखिन्थे । तरार्इँका सरसमान नपुगेको कहाँ पो भयो र ? 

अल्लि पर पुगेपछि सानो बजार आयो । नाम भने थाहा भएन तर मान्छेहरुको भीड थियो । पञ्चमीको मेला लागेको रहेछ । दिदीबहिनीहरुको भव्य नृत्य थियो । मेला हेर्न आउनेहरुको भीड देखिन्थ्यो । जुलेवी पसलमा उस्तै माँचो, बेच्ने र खानेको । रोकिएर हेर्न मन थियो गुल्मेली नाँच अनि सुन्न मन थियो तीजका गीत तर केदारका खुट्टा ब्रेकमा पुगेनन् । हाम्लाई नि उस्तै हतारो थियो ।

 0059d16b-e0f8-43db-8856-48eea022ca61

साँझको करिव सातबवजे हामी पुगियो गुल्मीको सदरमुकाम तम्घास । भेटिए स्थानीय नेताहरु । होटलमा बास र गाँसको प्रवन्ध मिलाइएको रहेछ । घनश्याम र वाइपीको जोडी एउटै कोठामा हुलियो । म र गणेश खनाल एउटै कोठाको दोस्ती बन्यौं । एकछिन फ्रेस भएपछि बजार घुम्न निस्कियौं । एकसरो पैदलयात्रा गरेर आउँदा रोटीले हाम्रै बाटो कुरिरहेको थाहा पाइयो । तम्घासको चिसोपानीले होला सुख्खा रोटी पनि रसिलो भेट्यौं । खाना खाएर सुत्दा रातको ११ बज्नै आँटेको थियो । 

सोमबार विहानै उठ्दा घडीले साढेपाँच बजाइ सकेको थियो । गणेश दाइले निदलाई साथ दिइरहे । वाइपी, घनश्याम गुरु र म होटलबाट ओरालो लाग्यौं । त्यतिबेला तम्घास बजार ब्युँझेको थिएन । प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय र किरण पुस्तकालयनिर पुगेपछि हामी फर्कियौं । वाइपी भने दौडिए खरासरि । जिल्ला प्रहरी कार्यालय अघि सानो छाप्रे होटलमा चिया पियौं । चिनी नहालेको दूध चिया पनि मिठो लाग्यो । एकछिन घनश्याम जी र म पार्टी प्रशिक्षणका कुरा गर्यौं । 

विहान ८ बजे हुने भनेको पार्टी प्रशिक्षण कार्यक्रम भूगोलका कारण उपस्थितिमा कमजोरी देखिएपछि मध्यान्हको १२ बजेदेखि सुरु भयो । औपचारिक कार्यक्रम भयो । सामुहिक रुपमा ब्यानर पढेर प्रशिक्षक प्रशिक्षणको उद्घाटन भयो । प्रदीप ज्ञवालीले उद्घाटन मन्तव्य दिएका थिए । उनले सामयिक राजनीतिका बारेमा आफ्ना विचार प्रस्तुत गरेका थिए । 

resunga gate

मंगलवार विहानै वाइपी, गणेश दाइ र म रेसुङ्गा जाने भइयो । मोटरको प्रबन्ध चक्रवन्धु अर्यालले मिलाई दिए । तम्घास बजारदेखि पूर्वतिर करिव आठ किलोमीटर मोटरमा गुडेपछि रेसुङ्गा डाँडाको घेंच पुगियो । पुग्नु अघि जनगायक जीवन शर्माको गीतको याद आयो । मोटरबाटै उनलाई फोन लगाएँ । कुराकानीको क्रममा म आफू तम्घास रहेको र रेसुङ्गाको डाँडो चढ्ने तयारीका साथ हिडेको बताउँदै गर्दा आफूले गाएको गीत–‘प्याउली पलायो, रेसुङ्गाको डाँडाले फेरि बोलायो’ सुनाए । 

घेंचबाट ढुंगाको सिमेन्टेड खुड्किलो चढ्यौं रेसुङ्गाको डाँडो पुग्न । थोरै उकालो हिडेपछि गरुणको प्रतिमा भेट्यौं । रामकुवा हेर्यौं । बाटामा डिभिजन वन कार्यालयले रोपेका अनेक जातका बिरुवा पनि देख्यौं । सुरक्षाका लागि तारजाली गरिएका रहेछन् । हाडे काफलको जंगलै रहेछ । चैत्र, बैसाखमा यहाँ काफल खानेहरुको भीड लाग्दो होला । रेसुङ्गा यज्ञशाला पुगेपछि प्रतिव्यक्ति पच्चीस रुपैयाँको दरले टिकट काटेपछि भ्यूटावर चढ्यौं । टावरबाट तराईका फाँटहरु र उत्तरतिरका अन्नपूर्ण, धवलागिरी, माछापुछ्रे हिमालहरु लहर देखिने रहेछन् । नजिकै सिद्धबाबा मन्दिर रहेछ । शिवजीको मन्दिर भएकै कारण साउनमा भव्य मेला लाग्ने कुरा गणेश दाइले सुनाएका थिए । समुद्रीसतहदेखि दुई हजार सात सय मीटर उचाइँमा रेसुङ्गाको डाँडो रहेछ ।

kiran pustakalaya

उकालो चढ्दा र ओरालो लाग्दा बाटाभरि गणेश दाइ र वाइपीले अनेक दर्शन र वादका बारेमा तर्क, वितर्क गरे । नेपाल नै वादहरुको प्रयोग थलोको रुपमा रहेको विमर्श गरे । पार्टीहरुले सिद्धान्तलाई व्यवहारमा प्रयोग गर्न नसकेकोमा आलोचना गरे । व्यवहारवादी हुन नसक्दा पार्टीहरु फितला हुने हुन् कि भन्ने चिन्ता प्रकट गरेका थिए । झर्दा घेंचनिरै तलाउ पनि भेट्यौं । शान्त तलाउमा आफ्नो छायाँ सजिलै देखिन्थ्यो । जीवन दाइले गाएको गीतमा झैं प्याउली पलाएको हेर्ने रहरभने पूरा भएन । 

तम्घास झर्यौं । वारिपारि हेरियो । खाना खाएर म किरण पुस्तकालय पुगें । साथीहरु प्रशिक्षकका भूमिकामा रहे । २०२५ सालमा स्थापित किरण पुस्तकालयको आफ्नै तीन तले भवन र तीनजना कर्मचारी समेत रहेछन् । १२ हजार पुस्तक रहेछन् । सुविधा सम्पन्न पुस्तकालय हेरेपछि मेरो मनै फुरुङ्ग भो । प्रविधिमैत्री पुस्तकालय बनिसकेको रहेछ । इभीमा चढेर तानसेनतिर हिड्दा दिउँसोको तीन बजिसकेको थियो । धर्म विक र बालसिंह काउचा दाइसँग बिदा भएर हिड्दा चक्रवन्धुको मुहार विदाइका कारणले उज्यालो हुन सकेन । तैपनि म हिडें । तम्घासलाई न्यानो माया दिएर । 

अघिल्लो साँझ ज्ञानबहादुर महतारासँग भेटेपनि विदा हुनेबेला हात हल्लाउन पाइएन । उनले खुवाएको गुल्मेली काँक्रो र भुटेको अरिङ्गालको यादलाई मनमै गाँठो पारें । मैले तम्घास छाड्नेबेला  प्रदीप ज्ञवाली र वाइपी आचार्य भने रिडीबजार पुगेको खबर कानमा पर्यो । सवा सातमा तानसेन बजारमा रहेको ओमबहादुर घर्तिमगरको घरमा गाँस र बास मिल्यो । एकछिन बातचित गरियो । भोलिपल्ट पाल्पा देवीनगरमा हुने युवाहरुको तालिमका लागि आवश्यक सामग्री तयार पार्नुनै थियो मलाई । सुत्दा १२ बज्यो । 

lali-gunrash

देवीनगर पुगेपछि युवाहरु भेला भए । जनप्रतिनिधिहरु भुवनसिंह भाइ, वडाध्यक्ष मेहरसिंह, रेवती र रविन भेटिए । करिव दुईघण्टाको प्रशिक्षणपछि मेरो बुटवल फर्किने बेला आयो ।  बुटवल आइपुग्दा साँझको सात बजिसकेको थियो । शरीर भने हलेदोपानी खाने भइसकेको थियो । तैपनि मनमा उत्साह र जाँगरमा कमी आउन नदिन एक गिलास तातोपानी काफी भयो मलाई । 

यात्राले मन पुनर्ताजगी गरायो । भेटले नयाँ उमङ्ग छायो । नौलो चिनाजानीले मन फुरुङ्ग भो । नबिर्सिने यात्रामा सामेल हुँदा खुसीले पुलकित भएँ । चैत, बैसाखतिर फेरि पनि रेसुङ्गाको डाँडोमा पुग्ने मन छ । काफल खाने मन छ । तराइका फाँटहरु र हिमालहरु एकैपटक मज्जाले हेर्ने लोभ छ । सायद प्याउली पलाउँदा रेसुङ्गाको डाँडाले कसो नबोलाउला र ? 
satyawati tample in resunga


 

दलबहादुर गुरुङ
लेखकको बारेमा
दलबहादुर गुरुङ
स्तम्भकार