ताजा अपडेट »

'नारायणगढ–बुटवल र हुलाकी राजमार्गको यात्रा निकै सकस पूर्ण’ : महामन्त्री थापा

शुक्रबार, २८ भदौ २०८१, २३ : १६
56 Shares
शुक्रबार, २८ भदौ २०८१
56 Shares

बुटवल ।नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नारायणगढ–बुटवल सडक खण्ड तथा हुलाकी राजमार्गको निर्माण समयमै सम्पन्न गर्न सरकारसँग माग गरेका छन्। उनले यी सडक खण्ड समयमा निर्माण नहुँदा जनताले निकै सकस ब्यहाेर्न परेकाे बताएका हुन् ।

२०७६ सालको मङ्सिरमा ठेक्का लागेकाे हुलाकी राजमार्ग हाल सम्म पनि निर्माण सम्पन्न नभएको भन्दै सयमै निर्माण सम्पन्नको माग गरी आमरण अनसनमा बसेका पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवसँगको भेटपछि महामन्त्री थापाले उक्त सड्क खण्ड समयमै निर्माण सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गरेका हुन्।  

उनले गाउँपालिकाका अध्यक्ष यादवको मागलाई सरकारले तत्काल सम्बोधन गरी हुलाकी राजमार्ग निर्माणमा संलग्न निर्माण व्यवसायीलाई तत्काल काम सुरु गर्न दबाब दिनुपर्ने पनि बताए । सो अवसरमा गाउँपालिकाका अध्यक्ष यादवले जनताले हुलाकी राजमार्गमा यात्रा गर्दा सस्ती खेप्नुपरेको उल्लेख गर्दै समयमै सडक निर्माण सम्पन्न गर्न पहल नहुँदा आफू अनशनमा बस्नुपरेको बताए।

तीन खण्डमा निर्माण हुँदै गरेको उक्त हुलाकी राजमार्ग  परासी–नारायण चोक खण्ड, नारायण चोक–त्रिवेणी खण्ड र बेलाटारी खण्ड गरेर तिन भागमा निर्माण हुँदैछ। नारायण चोक–त्रिवेणी खण्डको साढे ६ किलोमिटर हुलाकी राजमार्ग यादव अध्यक्ष रहेको प्रतापपुर गाउँपालिका भित्र पर्दछ।

उक्त राजमार्ग पालिकालाई सरदमुकामसंग जोड्ने मुख्य सड्क हो। नारायण चोकदेखि त्रिवेणीसम्मको १५ किलोमिटर हुलाकी राजमार्ग निर्माणका लागि बज्रगुरु–महालक्ष्मी जेभी कपुन्डोलले २०७६ मङ्सिरमा रु ४९ करोड ६० लाखमा ठेक्का लिएको हो। हालसम्म उक्त सडकमा ग्राभेल मात्रै हाल्ने काम भएको छ भने धेरै ठाउँमा ठूला–ठूला खाल्डाखुल्डी भएकाले वर्षाको पानी सड्कमै जम्ने गरेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।