ताजा अपडेट »

मितेरी सहकारी प्रकरण: धनराजको डिभोर्स कागजी मात्र, एक महिना अगाडी तिरेका थिए ऋण

शुक्रबार, २८ भदौ २०८१, १५ : ३६
110 Shares
शुक्रबार, २८ भदौ २०८१
110 Shares

काठमाडौं । सहकारी ठगी प्रकरण छानबिन गर्न गठन गरिएको संसदीय छानविन विशेष समितिले कांग्रेसका उपसभापति धनराज गुरुङ मुछिएको मितेरी सहकारीको स्थलगत निरीक्षण गरको छ । समितिका सभापति सुर्य थापासहित सबै सदस्यले सहकारीको स्थलगत निरीक्षण गरेर जानकारी लिएका छन् । त्यसक्रममा समितिले सहकारीका अध्यक्ष कुम्भराज गुरुङसँग धनराज दम्पती जोडिएको १५ करोड बचत हिनामिना बारे सोधपुछ गरेको थियो ।

श्रीमतीसँग डिभोर्स भएको भनिए पनि श्रीमतीको नाममा रहेको ऋण धनराज गुरुङ आफैंले पटक पटक आएर तिरेको सहकारीका अध्यक्ष गुरूङले समितिलाई बताएका थिए । एक महिनाअघि मात्रै आएर धनराजले ऋणको पैसा तिरेको बताउदै कुम्भराजले कागजीरूपमा मात्र डिभोर्स भएको बताएका छन् । यसअघि समितिमै बोलाएर पनि कुम्भराजको बयान लिइएको थियो । त्यसक्रममा उनले तत्कालीन महाप्रबन्धक ज्योति गुरुङले गरेको रकम हिनामिना र त्यसपछि धनराज आफैं सन्चालक समिति बैठकमा बसेर रकम फिर्ता गर्ने सम्झौता गरेको समितिलाई जानकारी गराएका थिए । 

धनराज गुरुङले भने २०७६ सालमै ज्योतिसँग सम्बन्ध बिच्छेद भइसकेको र ज्योतिले गरेको सहकारी बचत हिनामिनासँग आफ्नो सम्बन्ध नरहेको बताउँदै आएका छन् । आफ्नो प्रतिवेदन बुझाउने अन्तिम तयारीमा रहेको समितिले विहिबार कार्यविधिबमोजिम निर्णय गरी ३ वटा सरकारी  निकाय र १३ वटा सहकारी संस्थाहरूको स्थलगत  निरीक्षण गरेको सभापति थापाले जानकारी दिएका छन् ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।