ताजा अपडेट »

व्यावसायिक र सृजनशील प्रशासन: विकास, समृद्धि र सुशासन

बुधबार, २६ भदौ २०८१, १२ : ५९
106 Shares
बुधबार, २६ भदौ २०८१
106 Shares

विष्णु घर्ती ‘भनभनेली’ / समयको माग बमोजिम परिवर्तन हुन सक्तछ प्रशासनिक सेवा । सार्वजनिक सेवालाई विगतकोजस्तो नबनाई समय सापेक्ष सँगैको सहयात्रीजस्तो बनाउन व्यावसायिक र सृजनशील प्रशासनको प्रयोग जरुरी छ । अहिले निजामती प्रशासनलाई हेर्ने आँखामा अनेक आयामहरू देखिन्छन् । आर्थिक, सामाजिक, नैतिक रुपमा सार्वजनिक परीक्षण गरिने पद्धतिको विकास भइरहेको छ ।

प्रविधिको प्रयोगले प्रशासनलाई व्यावसायिक बनाउँदै छ । सूचनाको सार्वजनिकीकरणले सृजनशील र सेवामैत्री प्रशासनलाई सुन्दर बनाउँदै गइरहेको छ । उहिले उहिले सेवाप्रदायककहाँ सेवा लिन जाँदा कोशेलीका साथमा धाउने प्रथा थियो तर अहिले त्यस्ता प्रथाको पर्दाफास भइसकेको छ । सेवाप्रवाहमा सक्दो सुविधाहरू नविन र सरल तरिकाले प्रदान गर्नु नै सृजनशील प्रशासनको मूल्याङ्कनको मानकताका रुपमा लिइएको छ ।

व्यावसायिक र सृजनशील प्रशासनको मूल मर्म भनेकै सेवा हो । “सेवा हीः परमो धर्म” सनातनी संस्कृति हो । मिजास र मिठासले मित्रताको पहिचान हुन्छ । व्यावसायिक र सृजनशील प्रशासन समृद्धि र सुशासनको शान हो । सेवाभावबाट प्रेरित प्रशासनको माग र अभ्यास बढीरहेको छ सार्वजनिक प्रशासनमा । सृजनशीलतापूर्वक गरिने सेवाको सार्थकता सर्वव्यापी हुन्छ । सेवालाई नविनतम र सृजनशील ढङ्गबाट सञ्चालन गर्नु व्यावसायिक र सुशासनमैत्री भावना हो । सेवाप्रवाहको सिलसिला सेवाग्राहीको अनुकूलतामा चल्न सिकाउँछ सृजनशील शासन पद्धतिले । सेवालाई सरल र सहज तरिकाले सबै प्रकारका सेवाग्राहीलाई समेट्नका लागि व्यावसायिक र सृजनशील प्रशासन चाहिन्छ । विशुद्ध सेवाभावबाट प्रेरित क्रियाकलापहरूले विकास र समृद्धिलाई थप टेवा दिन्छन् । सेवामैत्री प्रशासनमा निजामती सेवालाई उच्च प्राथमिकता वा केन्द्रविन्दूमा राखिएको हुन्छ । सेवाग्राहीका समस्यालाई आत्मसाथ गरिएको हुन्छ । 

नविनताको सोच हो सृजनशीलता । विधिको शासन हो सुशासन । थीतिको प्रशासन हो । नीतिको अनुशासन हो । उचित खालको न्याय निसाफमार्फत समाजमा समन्याय र समता कायम गराउनु राम्रो शासन हो । राम्रै राम्रा कर्मचारीले भरिएको जनताको शासन हो । साधुलाई सूली र चोरलाई चौतारो नमिलोस् र नमिलाईयोस् भन्नका लागि व्यावसायिक र सृजनशील प्रशासनको पहरेदारी अपरिहार्य हुन्छ । ऐन कानुनसम्मत सञ्चालित र कर्तव्यको भावनावाट परिचालित हुन्छ सार्वजनिक प्रशासन । निजामती सेवाले राष्ट्र, राष्ट्रियता र जनताप्रति समर्पित हँुदै सेवाभावले कार्यसम्पादन गर्दछ । संघीयताको संस्थागतीकरणसँगै व्यावसायिक र सृजनशीलको दायित्व र जिम्मेवारी अझ वृद्धि हुँदै आएको छ । राज्यको लोकतान्त्रिकरणसँगै सबै तहको प्रशासनिक सेवालाई व्यवसायिक बनाउँदै समग्र विकास र समृद्धिलाई गतिशील तुल्याउँन समद्ध पक्ष सबैको एक्यवद्धता जरुरी छ ।

बदलिदो परिस्थितिमा बुहआयामिक सेवामुखी सरकारी क्रियाकलापहरू सेवाग्राहीसम्म सिर्जनशीतासहित पुगून् भन्ने सबैका चाहना छन् । सरल रुपमा उपलब्ध गराउँन खडा भएका छन् अनेक खालका संरचनाहरू । यिनै संरचनामार्फत कर्मचारीले सेवाप्रवाहमा जीवन्तता एवम् सृजनशीलता दिएका छन् । राज्य सञ्चालन आँफै हुँदैन । सञ्चालन गर्ने भनेको सुव्यवस्थित तबरबाट सरकारले नै हो । सरकार÷प्रशासन राज्यको मष्तिष्क हो भने कर्मचारीहरू उसका इन्द्रीय÷कर्मेन्द्रीयहरू । मष्तिष्कको निर्देशनमा चल्दछन् इन्द्रीय÷कर्मेन्द्रीयहरू । कर्मचारीहरू जति सृजनशील र क्रियाशील हुन्छन् त्यति मात्रामा सुशासनको प्रत्याभूति रहन्छ । मष्तिष्क र इन्द्रिय दुबैले काम गर्दा आ–आफ्नै तरिकाले सम्पादन गर्न थाले भने शरीर ठिक अवस्थामा रहन पक्कै सक्तैन ।

त्यसैगरी सरकार र कर्मचारी दुबैले पनि आ–आफ्नै तरिकाले काम गर्न थाले भने त्यहाँ सुुशासन पलाउन सक्तैन । आशातित प्रतिफल प्राप्त गर्न सकिदैन आपसी समन्वयको अभावमा । मष्तिष्कले आफ्ना कर्मेन्द्रियहरूको क्षमताका बारेमा जान्नु पर्दछ र कर्मेन्द्रियहरूले पनि मष्तिष्कको मान राख्नु पर्दछ । सरकारको नीति विपरित कर्मचारीले काम गर्ने वा कर्मचारीको क्षमताभन्दा बाहिरको काम सरकारले लगाउने कार्य व्यावसायिक र सृजनशील प्रशासनका शोभा होइनन् । यसो गर्दा सृजनशीलता हुन सक्तैन र व्यावसायिकता पनि । सरकार र कर्मचारीको बुझाई एउटै भएमा मात्र सही विकास हुन्छ । सबैतिर सही विकास सही समयमा भयो भने समृद्धि समिपमै आउनेछ र सुशासनको उच्च आसन हुन्छ । 

सरकारको संरचना, उसको कार्यक्षेत्र, कार्यसंस्कृति, सेवा वितरणको स्थिति, उत्तरदायित्वको न्यूनता, अपारदर्शिता, भ्रष्ट आचरण, उत्प्रेरणा, मनोवल, अनुशासन र नैतिकतामा रहेको गिर्दो अवस्था, कमजोर अनुगमन÷मूल्याङ्कन पद्धतिजस्ता विषयले प्रशासनिक सेवाप्रवाहमा थप जटिलता थपिएको हो । यिनै जटिलताको निराकरण गर्दै प्रशासनमा व्यावसायिक र सृजनशीलयुक्त सुशासनलाई स्थापति गर्दै जानु पर्ने टडकारो आवश्यकता बनेको हो । सेवाग्राहीका नजरमा विद्यमान सरकारी संरचना र प्रक्रियाहरू बोझिला मानिएका छन् । एकभन्दा बढी निकायबाट एकै प्रकृतिका कार्यहरू सम्पादन हुँदा खासै औचित्य नदेखिने, दोहोरो रुपमा स्रोत, साधन र समयको खर्च हुने र उपलब्धी न्यून प्राप्त हुन्छ । कार्यक्षेत्र अत्यन्तै व्यापक बन्दै गइरहेको छ सेवाप्रवाहको । सरकारको चाँसो र सहभागिता गैरसरकारी संस्थाबाट सञ्चालन भएका कार्यक्रममा पनि देखिन्छ । निजी क्षेत्र, स्थानीय निकाय, गैसस, नागरिक समाज तथा लोक हीत प्रयोजनार्थ स्थापित सञ्जालहरूलाई परिचालन गर्नु पर्ने देखिन्छ । सरल खालका नीति निर्माण गरी सहजकर्ताको काम गर्दै समन्वयात्मक भूमिका होस् भन्ने सबैको चाहना तीब्र छ । 

संविधानद्वारा नै देशको शक्ति केन्द्र र तल्ला तहका सरकारमा साधन र स्रोतको बाँडफाँट गरिन्छ । राज्यहरू सङ्घीय सरकारको रूपमा रुपान्तरित हुन्छन् सामुहिक उद्धेश्य प्राप्तिका लागि । जुनसुकै व्यवस्था भए पनि दक्ष, जवाफदेही, सेवामुखी, सहभागितामुलक र भरपर्दो भएमा जनतालाई खासै फरक पर्दैन । अबका दिनमा राज्य सञ्चालनको पुरानो संरचनालाई विश्लेषण गर्दा पुःनर्संरचना अर्थात सङ्घात्मक सुहाउँदो तरिकाबाट सञ्चालन गरिनु पर्दछ । सरकारको कार्यक्षेत्र तथा सेवाप्रवाहका संरचनालाई सुधार्न सकिने अवसर आएको छ । अनुभव, अध्ययन र अनुसन्धानबाट प्रतिपादित सिद्धान्त र असल अभ्यासलाई सार्वजनिक प्रशासनमा अनुसरण गर्न सकिने सम्भावना छ । 

जनसंख्यामा भएको वृद्धि र कर्मचारीको अनुपात अमिल्दो हुँदा सेवाप्रवाहमा कम प्रभाकारिता देखिएको छ । थप प्रभावयुक्त पार्न सबल र सक्षम सुशासनकर्मीहरूले आफ्नो सेवाप्रवाहलाई सुमार्गमा कुदाइरहेका छन् । यिनीहरूको मर्म र भावना पनि समाजमा व्यावसायिकता र सृर्जशीलता ल्याउँदै विकास, समृद्धि र सुशासनलाई टेवा दिनु रहेको छ । सुशासनलाई टेवा दिनु भनेको नवितम तर सहज प्रक्रियालाई परपरसम्म फैलाउँदै जानु हो । यस्ता खालका सत्कार्य गर्ने सेवा प्रदायकहरूलाई सुशासनका हिमायतीको रुपमा लिइन्छ । राम्रो हुन वा पार्नका लागि एक्लो प्रयासले मात्र सम्भव हुँदैन । विकास, समृद्धि र सुशासन विशाल ढुङ्गाको भित्री खास तत्व शालिग्रामजस्तै हो ।

गण्डकीको शिरभागबाट बग्ने सबै ढुङ्गा सालिग्राम बन्न सक्दैनन् । धेरैजसो ढुङ्गाका वरिपरि वा बाहिरपट्टी चुच्चा चुच्ची र विकारका वस्तुहरू बाक्लो गरी टालिएका हुन्छन् । कुशासन रुपी विकृति, विसङ्गति, भ्रष्टाचार, अन्यायजस्ता वस्तुहरू पखालिएका छैनन् । यस खाले ढुङ्गा सालिग्राम होइनन् । शालिग्राम रूपी सुशासनको प्राप्तिका लागि सालिग्राम बाहेकका ढुङ्गाहरूलाई गण्डकीमा होमिनु पर्दछ । चुच्चा चुच्ची फालेर, पखालेर, कञ्चन र कामयावी भई आएका सुशासन रूपी शालिग्रामलाई छानेर विकास, समृद्धि र सृजनशील प्रशासन सञ्चालनमा समर्पित गराउनु पर्दछ अनि विकास, समृद्धि र सुशासनमा हामी रमाउनु पर्दछ । (लेखक घर्ती शुद्धोधन गाउँपालिका प्रमुख प्रशाुकीय अधिकृत हुन् ।)


 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।