ताजा अपडेट »

भाटभटेनीको २९ औं शाखा चितवनमा, अध्यक्ष गुरुङद्वारा भूमि पुजन

बुधबार, २६ भदौ २०८१, १० : १९
532 Shares
बुधबार, २६ भदौ २०८१
532 Shares

काठमाडौं । मुलुककै ठूलो चेन सुपर मार्केट भाटभटेनीको २९ औं शाखा चितवनमा स्थापना हुने भएको छ । भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष तथा प्रबन्ध निर्देशन मीनबहादुर गुरुङले २९औँ स्टोर चितवनको टाँडीस्थित शान्ति चोकमा सञ्चालनमा ल्याउन लागिएको जानकारी दिए ।

एक वर्षभित्रैमा उनले उक्त स्टोर सञ्चालनमा ल्याउने तयारी गरिएको भए पनि केही प्राविधिक कामले ढिलाइ भए १४ महिनाभित्रमा सञ्चालनमा आउने बताए । पोखराको तालचोकमा भूमि पुजन गरेर २८ औँ स्टोर सञ्चालनको तयारी गरेको भाटभटेनी सुपरमार्केट्सले चितवनमा २९औँ स्टोर सञ्चालनमा ल्याउने भएको हो ।

bhatbhateni-chitwan

कोरोनाकालमा इटहरीदेखि झापासम्म स्टोर बनाएर सञ्चालनमा ल्याएको भाटभटेनीले यो २९औँ स्टोरले चितवनको टाँडी क्षेत्रका जनतालाई सहजता प्रदान गर्ने जनाएको छ । टाँडीमा सञ्चालनमा आउन लागेको स्टोर बेसमेन्टसहित सात तलाको हुनेछ । एक तलामा ४६ हजार स्क्वायर फिट रहन्छ । चितवनमा नक्सा पासदेखि, कित्ताकाटलगायतका काम तत्कालै भए एक वर्षभित्रै स्टोर सञ्चालनमा आइसक्नेछ । चितवनस्थित नयाँ स्टोरमा करिब पाँच सयले रोजगारी प्राप्त गर्ने जनाइएको छ । चितवनकै भरतपुरमा भाटभटेनीको अर्को स्टोर भने पहिल्यै सञ्चालनमा आइसकेको छ ।

यसअघि भाटभटेनीले देशका विभिन्न स्टोरमा ७ सय बढीलाई पार्टटाइम काम दिएको छ । १८ देखि २१ वर्ष उमेर समूहका युवायुवतीलाई लक्षित गरेर काम दिइएको छ । उनीहरुले आफ्नो अध्ययनलाई जारी राखेर काम गर्न पाउनेछन् । अहिले काठमाडौं उपत्यकाभित्रका स्टोरमा यसरी रोजगारी दिइए पनि अब छिट्टै काठमाडौंबाहिरका स्टोरमा पनि यस्तो रोजगारी दिने तयारी रहेको अध्यक्ष गुरुङले बताए । पढ्दै रोजगारी कार्यक्रम अन्तर्गत भाटभटेनीले विदेशमाजस्तै पार्ट टाइम कामको व्यवस्था गरिएको जनाएको छ ।

अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गरेर यो रोजगारी सिर्जना गरिएको हो । कम्तिमा पनि दुई हजार जनालाई देशभर यसरी नै रोजगारी प्रदान गर्ने जनाइएको छ । पार्टटाइम जागिर गर्नेहरुले हप्ता दिनमै उनीहरुको पारिश्रमिक पनि प्राप्त गर्नेछन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।