देशले नयाँ सविधान पाएपछि नेपालीहरुको सामाजिक आर्थिक अवस्था परिवर्तन हुने अपेक्षा सबै नागरिकहरुमा रहेको थियो । देशको साशकीय प्रणालीले देश विकासका लागि आवश्यक मानवीय जनशक्ति उत्पादन गर्नुको सट्टामा भ्रष्टचार, आर्थिक अपारदर्शिता, अनिमितता, तस्करीमा रमाउने राजनैतिक नेतृत्वको सिर्जना गर्न पुग्यो । जसका कारणले आज विद्यालय तहका विद्यार्थीहरुमा समेत नेपालमा राम्रो काम गर्ने बस्न सक्दैन भन्ने विचार आईरहेको छ । नेपालको राजनीतिबाट पीडित बनेकै कारण आर्थिक वर्ष ०७५/७६ देखि आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्ममा चार लाख ६४ हजार सात सय ७७ विद्यार्थी अध्ययनका लागि विदेशीएको वैदेशिक अध्ययन अनुमति शाखाको तथ्यांकले प्रमाणित गरिसकेको छ ।
युवा जनशक्ति रोजगारीका लागि वैदेशिक रोजगारीमा जाँदा हाम्रो आन्तरिक विकासको गतिमा सुस्तता आएको छ । यति मात्रै नभई देशको पूँजी निर्माणका लागि सक्रिय योगदान गर्ने रकम रु. तीन खर्ब ८२ अर्ब ११ करोड ३६ लाख रकम बाहिरिएको तथ्यलाई नेपाल राष्ट्र बैंकले पुष्टि गरेको छ । विगत छ वटा आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा धेरै युवाहरु शैक्षिक भिसामा विदेश पुगेका छन् । आर्थिक वर्ष ०८०/८१ मा एक लाख १२ हजार २६९ विद्यार्थी विदेशीएकामा छन् । सोही आर्थिक वर्षको ११ महिनासम्ममा रु. एक खर्ब १७ अर्ब ५८ लाख बाहिरिएको छ । आर्थिक वर्ष ०७९/८० मा एक खर्ब ४२ करोड ३३ लाख रुपैयाँ बाहिरिएको थियो । त्यस्तै, ०७८/७९ मा ६७ अर्ब ७० करोड १६ लाख, ७७/०७८ मा २४ अर्ब ९५ करोड ९४ लाख, ७६/०७७ मा रु.२५ अर्ब ८१ करोड ३२ लाख र ७५/०७६ मा रु.४६ अर्ब २४ करोड तीन लाख बाहिरिएको थियो ।
नविन व्यवसायको तयारी गर्ने, व्यवसायको स्थापना गर्ने, त्यसका बारेमा विविध प्रकारका खोज अनुसन्धान गर्ने, जोखिम लिन चाहने, सञ्चालन गर्नका लागि जागरुकता, उत्सुकतासहित ईच्छाँशक्ति र सिर्जनात्मक सोचाई तथा क्षमतालाई उद्यमशिलता भनिन्छ । युवा उद्यमी भन्नाले २० वर्षदेखि ४० वर्ष उमेर समुहका व्यक्तिहरुबाट सञ्चालित उद्योग, व्यवसाय वा उनीहरुबाट सिर्जना गरिएको नयाँ व्यवसायिक रणनीतिक योजनालाई बुझाउँदछ । यस्तो व्यवसायिक रणनीति, उद्योग व्यवसायले व्यक्ति स्वंयमको रोजगारीका आवश्यकता मात्रै पूरा नगरेर सम्रग रुपमा त्यही समाज र राष्ट्र तथा अन्तर्राष्ट्रिय स्तरमा बेरोजगार भएर बसेका युवाको आवश्यकतालाई क्रमिक रुपमा पूरा गर्ने सामाथ्र्यतता राख्ने गर्दछ । नेपालको सन्दर्भमा युवा उद्यमी भनेर १६–४० वर्ष उमेर समुह भित्रका युवाहरुबाट सञ्चालित उद्योग व्यवसाय वा उनीहरुबाट सिर्जना गरिएको व्यवसाय सञ्चालन सम्बन्धि योजना वा रणनीतिलाई बुझिन्छ भनी राष्ट्रिय तथ्याङ्क विभागले परिभाषित गरेको छ ।
युवा जनशक्ति जुनसुकै मुलुकका लागि पनि समृद्धिको प्राप्तिका लागि मेरुदण्ड मानिन्छ । युवावर्ग मुलुकको राजनीतिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक रूपान्तरणको संवाहक शक्ति भएको सर्वस्वीकार्य छ । विश्वभरिका युवालाई जागृत गराउनुका साथै सही दिशा र सुनिश्चित गन्तव्य निर्माणमा प्रेरणा प्रदान गर्न संयुक्त राष्ट्रसंघद्वारा प्रत्येक वर्ष अन्तर्राष्ट्रिय युवा दिवस मनाउने गरिन्छ । यही दिवसकै सन्दर्भ पारेर आयोजना गरिएको ‘नेपाल युवा सम्मेलन, २०२४’ मा ‘दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि : डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि’ मूल नारामा केन्द्रित रहेर युवा उद्यमशीलता विकासमा गहन छलफल समेत गरिएको छ ।
मुलुकको कुल जनसङ्ख्याको ४० प्रतिशत युवा रहेको जनसाङिख््यकीय लाभको अवसरलाई पूँजीकृत गरी आर्थिक समृद्धिमा युवाको योगदान सुनिश्चित गर्न सरकारले विशेष योजना तर्जुमा गर्नु अपरिहार्य छ । युवावर्गमा रहेको नवीन सोच र प्रविधिको ज्ञानलाई उत्पादनशीलतामा लगाएर वस्तु तथा सेवाको व्यापार वृद्धि गर्नेतर्फ सरकारले सुरुवाती पूँजीसहितको प्रोत्साहन प्रदान गर्नुपर्ने युवाको मागको सम्बोधन हुनै पर्छ । चिन्ता गरेर र भाषणले सुमसुम्याएर मात्र समस्याको दीर्घकालिन समाधान आउँदैन । यसका लागि राज्यको नेतृत्वसँग स्पष्ट कार्ययोजना हुनुपर्दछ । दुःखका साथ भन्नुपर्छ वर्तमान नेतृत्वले देशमा युवालाई उद्यमशील बनाउने भन्दा पनि भ्रष्टाचारीहरुलाई नै संरक्षण गरिरहेको छ । वैदेशिक रोजगारीमा गई केही धन, अनुभव र सीप आर्जन गरेका युवाहरुले देशमा नै केही गर्ने योजना नबनाउने होईन तर हाम्रो राजनैतिक र प्रशासनिक नेतृत्वले तिनीहरुलाई सुरुवाती चरणमा नै निरास बनाउन उद्दत रहन्छ । पुराना राजनैतिक दलहरु हुन वा नयाँ युवाका लागि कुनैसँग ठोस योजना छैन ।
उद्यमशीलता सम्बन्धि सोच प्रत्येक व्यक्तिमा हुन्छ तर लगानीका लागि पूँजी र अवसर नहुँदा उत्पादनमा रुपान्तरण हुन सकिरहेको छैन । उद्यम भनेको ठूला उद्योग, कलकारखाना सञ्चालन गर्नु मात्र नभएर जीविकोपार्जनका लागि गरिने सेवा, व्यापार, व्यवसाय सबै उद्यम हुन् । उद्यम गर्नका लागि कुशलता, सिर्जनशीलता, नवप्रवर्तन र जोखिम वहन क्षमता आवश्यक हुन्छ । यसैका लागि सरकारले आँट, पूँजी र संरक्षण गरेर युवामा विश्वास र साहस वृद्धि गर्न सक्नु पर्छ । कृषि, पर्यटन तथा सेवा क्षेत्रमा मानव पूँजी तथा वित्तीय स्रोतको सही सदुपयोगबाट छिट्टै उचित प्रतिफल पाउन सकिन्छ । छिटो प्रतिफल नै मुख्य आकर्षण पनि हो । नेपालमा पछिल्लो समयमा युवाहरुले आफ्नो प्रयासमा केही नयाँ कर्म गर्न खोजिरहेको भएता पनि स्पष्ट र निष्पक्ष नीतिको अभावमा पूँजी र युवा जनशक्ति दुवै विदेश पलायन भईरहेका छन् ।
नेपालको राष्ट्रिय युवा नीतिको आधारमा पछिल्लो तथ्याङ्क देशमा अहिले ४१ लाख युवा उद्यमीले उद्यमशिलताको विकास प्रवर्द्धन तथा नयाँ नयाँ व्यवसायिक रणनीति तथा कार्ययोजनाको बारेमा कार्यक्रम गरिरहेको बताएको छ । विशेष गरी युवा उद्यमीहरु वस्तुको उत्पादनमुलक गतिविधिमा उत्पादन लागत कसरी गर्न सकिन्छ भनेर आफ्नो ध्यान केन्द्रित गरेका छन् । नेपालमा सफल भएका युवा उद्यमीका योजनाहरुमा ईसेवा, फोन पे, दराजा, टुटल बैंकलाई लिन सकिन्छ । केही समयअघि गरिएको श्रमशक्ति सर्वेक्षणले बर्सेनि पाँच लाखको हाराहारीमा नयाँ श्रमशक्ति बजारमा आउने देखाएको छ । स्वदेशमा रोजगारीको अभावमा दैनिक हजारौँ युवा विदेशीने यथार्थ जगजाहेर छ । मुलुकको अर्थतन्त्रको मूल आधार भनेकै विप्रेषण आप्रवाह भएकाले वैदेशिक रोजगारी मुलुकका लागि पनि अत्यावश्यक जस्तै बनिसकेको अनुभूत हुन्छ तर यो दीर्घकालीन समाधान होइन । ‘देशमा केही छैन, केही हुँदैन, विदेश नगए के गर्नु’ भन्ने नकारात्मक भाष्य चिर्न युवा उद्यमशीलतालाई नीतिगत सम्बोधनसहित गुणस्तरीय जीवनयापनका लागि अनेकौं आयामहरुमा केन्द्रित भई उचित मार्गदर्शन गर्नु राज्यको प्रमुख दायित्व हो ।
नेपालमा सामाजिक न्यायमा आधारित समतामूलक समाजको निर्माणका आधारहरु सिर्जना गर्नका लागि सबैभन्दा पहिले राज्यले युवालाई उद्यमशीलता तथा नवप्रवर्तनका क्षेत्रमा आर्कषित गर्नु आवश्यक छ । जुन कुरा वर्तमान राजनैतिक नेतृत्वबाट असम्भव छ । यसका लागि युवा जनशक्तिले रचनात्मक र सकारात्मक विद्रोह गर्न सक्नु नै वर्तमानको आवश्यकता हो । त्यो विद्रोहका माध्यबाट आउने विज्ञान र प्रविधि सुहाउँदो नेतृत्वले नै नेपाली युवाको सपना पूरा गर्नेछ ।
प्रतिक्रिया