ताजा अपडेट »
आईफोन १६

एप्पलले आईफोन १६ सिरिज एआई सुविधा सहीत ल्यायो, अन्य फोनभन्दा कति छ फरक?

बुधबार, २६ भदौ २०८१, ०६ : ४५
100 Shares
बुधबार, २६ भदौ २०८१
100 Shares

एजेन्सी ।आईफोनको व्यापार घट्न थालेपछि उत्पादक कम्पनी एप्पलले आफ्ना उत्पादनको बिक्री बढाउन सम्भावित क्रेताहरूलाई आकर्षित गर्ने उपाय खोज्न थालेको छ। सोमवार एपलले 'आईफोन १६' सार्वजनिक गरेको छ। त्यसमा ह्यान्डसेटको बाहिरपट्टि क्यामराको बटन छ। एप्पलले सो बटन आफ्नो नवीनतम स्मार्टफोनमा गरिएका आन्तरिक परिवर्तनहरूको "बाह्य सङ्केत" भएको जनाएको छ। एप्पलले आर्टिफिशल इन्टेलिजन्स (एआई)को नवीनतम प्रयोगबाट लाभ लिन खोजेको देखिन्छ।

एप्पल के भन्छ?
एप्पलका प्रमुख कार्यकारी टिम कुकले अहिले गरिएका सुधारले "स्मार्टफोनले के गर्न सक्छ भन्ने परिधि विस्तार गरिदिने" बताए। अन्य ब्रान्डहरूले पहिले नै आफ्ना ह्यान्डसेटमा 'जेनरेटिभ एआई' सुविधा उपलब्ध गराइसकेको जनाउँदै कुकले एप्पलले कडा प्रतिस्पर्धाको खेप्नुपरेको बताए।

एप्पलले आईफोन १६ र आफ्ना अन्य उत्पादन सार्वजनिक गर्ने समयलाई 'ग्लोटाइम' भनेको थियो। त्यस बेला एप्पलको शेयर मूल्य खस्केको भए पनि दिनको अन्त्यतिर पहिलेकै अवस्थामा फर्कियो। एप्पल कम्पनीको मूल्याङ्कन ३० खर्ब अमेरिकी डलर गरिएको छ। तर तीव्र गतिमा फैलिँदो एआईको क्षेत्रमा उक्त कम्पनीले आफ्नो प्रभाव देखाउन नसकिएको भन्दै चिन्ता र चासो व्यक्त हुने गरेको छ।

बिक्री कस्तो छ?
एप्पलको व्यापारमा सबैभन्दा महत्त्वपूर्ण भूमिका आईफोनको बजारको देखिन्छ। अहिले पनि एप्पलका उत्पादनमध्ये बिक्रीको आधा भाग आईफोनकै छ। तर केही महिनायता उक्त स्मार्टफोनको बिक्री स्थिर छ। गत जुन २९ मा अन्त्य भएको नौमहिने अवधिमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा आईफोनको बिक्री एक प्रतिशतले खस्केको थियो। 

एप्पलले आफ्ना नयाँ फोनहरूमा लामो समय टिक्ने ब्याट्री, शक्तिशाली चिपहरू र गोपनीयतासम्बन्धी विस्तारित सुविधा रहेको जनाएको छ। एप्पलका अनुसार नयाँ फोनमा एआई र 'एपल इन्टेलिजन्स'का टुलहरू छन्। तीमध्ये अधिकांश सुविधाको घोषणा गत जुन महिनामा गरिएको थियो। त्यस्ता नयाँ सुविधामा नयाँ इमोजीहरू बनाउन सकिने र ओपन एआईको च्याटबट 'च्याटजीपीटी'लाई 'सिरी'सँग जोड्ने लगायत छन्। सिरीसँग च्याटजीपीटीलाई जोडेपछि प्रयोगकर्ताहरूले सीधै प्रश्न सोध्न सक्छन्।

एअरपोडमा परिवर्तनः

एप्पलले एप्पल वाच र एअरपोड हेडफोनहरूमा सुधार गरेको घोषणा पनि गरेको छ। नयाँ घोषणाअनुसार एअरपोडहरूमा अब आवाज स्वत: कम हुने छ।फोनमा कुराकानी गरिरहेको व्यक्तिले कसैसँग व्यक्तिगत रूपमा कुराकानी गर्न थाल्दा वा टाउको हल्लाउँदा आवाज कम हुने सुविधा अब प्रयोगकर्ताले पाउने एपलले जनाएको छ।

एपलका अनुसार 'प्रो' संस्करणका एअरपोडहरू "क्लिनिकल ग्रेड"का हुने छन्।एपलका अनुसार सामान्य तथा मध्यम खालको सुन्ने क्षमता कम भएका व्यक्तिहरूले ती साधन प्रयोग गरेर आफ्नो सुन्ने क्षमता बढाउन सक्छन्। कम्पनीले यी साधनको बजारीकरणका लागि नियामक निकायको अनुमति कुरिरहेको छ र चाँडै अनुमति पाउने अपेक्षा गरेको छ।

त्यसपछि यसै शरद् ऋतुदेखि अमेरिका, जर्मनी र जापानलगायत १०० देशहरूमा उक्त सुविधा उपलब्ध हुन सक्ने एपलको आशा छ। यसअघि उक्त कम्पनीले सुन्ने क्षमता बढाउने साधनलाई आईफोन र आफ्ना अन्य डिभाइसमा जोड्न मिल्ने सुविधा दिइसकेको छ।

विरोधः
भव्य कार्यक्रममाझ एप्पलका उत्पादनहरू सार्वजनिक गरिँदै गर्दा बाहिर सडकमा केही मानिसहरूले विरोध प्रदर्शन गरेका थिए। उनीहरूले एप्पल स्टोरमा उपलब्ध हुने "खतरनाक सामान"बाट बालबालिकालाई जोगाउन माग गर्दै प्रदर्शन गरेका हुन्। यसै महिनाबाट सुरु भएका एप्पलका नयाँ उत्पादनमध्ये आईफोन-१६ को मूल्य ७९९ अमेरिकी डलरबाट सुरु हुन्छ। तर एप्पलका एआई सुविधाहरू उसको अपरेटिङ सिस्टममा अक्टोबरबाट मात्र उपलब्ध हुने छन्। 

सुरुमा अमेरिकामा उपलब्ध हुने सुविधा बिस्तारै अन्य देशहरूमा पनि उपलब्ध हुने छ। यूकेमा चाहिँ ती सुविधा डिसेम्बरमा मात्र उपलब्ध हुने छन्। बजारको अनुसन्धान गर्ने संस्था 'सीसीएस इन्साइट'का प्रमुख विश्लेषक बेन वुडले धेरै मानिसहरूले नयाँ आईफोनमा राखिएको क्यामरालाई नियन्त्रण गर्ने बटनलाई "ग्लोरिफाइड शटर बटन" अर्थात् देखावटी भाग मात्र मान्ने सम्भावना रहेको औँल्याएका छन्।

यद्यपि एआईमा आधारित सुविधा दिने परिवर्तनहरू निकै महत्त्वपूर्ण भएका र तिनले ग्राहकको मन जित्न सक्ने उनको धारणा छ। एप्पलका उपकरणहरू फोटो सम्पादन, अनुवाद र वेब ब्राउजिङ गर्ने कुरामा एआईमा आधारित सुविधा उपलब्ध गराउन प्रतिस्पर्धी सामसङ र गुगलभन्दा पछि परिरहेको देखिन्छ। एप्पलका प्रतिस्पर्धीहरूले अहिले दोबार्न र पट्याउन मिल्ने स्मार्ट फोन बनाइरहेका छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।