ताजा अपडेट »

बुटवलको हैदराबादी दम बिरयानीलाई २२ हजार जरिवाना, सञ्चालकले स्वीकार गरे गल्ती

सोमबार, २४ भदौ २०८१, १७ : ४७
9.95K Shares
सोमबार, २४ भदौ २०८१
9.95K Shares

बुटवल । हैदराबादी मट्का बिरयानी नामले परिचित बुटवलको पुरानो बसर्पाक स्थित ‘हैदराबादी मट्का दम बिरयानी एन्ड मट्का लस्सी’ लाई बुटवल उपमहानगरले २२ हजार रुपैयाँ जरिवाना गरेको छ । कुहिएको मासुबाट विरयानी गराउने गरेको भेटिएपछि उपमहानगरले उक्त पसललाई कारबाही गरेको हो । 

बुटवल उपमहानगरकी उप प्रमुख सावित्रादेवी अर्यालका अनुसार उक्त होटलमा पटक–पटक अनुगमनका क्रममा फोहोर तथा अव्यवस्थित देखिएकाले सुधारका लागि निर्देशन गर्दा पनि नटेरेपछि जरिवानासहित उपमहानगरको अनुमति विना पुनः सञ्चालनमा रोक लगाइएको छ । होटलका सञ्चालक जनक खड्कालाई सोमबार उपमहानगरले छलफलका लागि बोलाएको र सो क्रममा उनले आफ्नो होटलमा कमजोरी भएको स्वीकार गर्दै सुधार गर्ने प्रतिवद्धता गरेका छन् । साथै उपमहानगरको अनुगमनपछि विभिन्न सञ्चारमाध्यमहरुमा प्रकाशित समाचारको खण्डन गर्दै विज्ञप्ती सार्वजनिक गरेका खड्काले सो विज्ञप्ती सार्वजनिक गर्नु समेत कमजोरी भएको स्वीकार गरेका छन् । उक्त विज्ञप्ती अरु कसैले लेखेको र आफूले हस्ताक्षर मात्रै गरेको उनले बताए । 

भदौ २० गते ग्राहकले विरयानी खाने क्रममा फोहोर भाडामै दिएको गुनासो पछि हैदरावाद दम बिरयानीमा अनुगमन गरिएको थियो । सो क्रममा कुहिएको मासु मःम बनाउनका लागि राखिएको होटल म्यानेजरले बताएका थिए भने होटल सञ्चालकले बंगुर पालन गर्नेहरुलाई दानाको रुपमा दिने गरेको भनि अनुगमन टोलीलाई बयान दिएका थिए । उनीहरुबो बीचको बयाननै बाझिएपछि उपमहानगरले थप निगरानी बढाएको उपप्रमुख अर्यालले बताइन् । बुटवल उपमहानगरपालिका, उपभोत्ता हित संरक्षण मञ्च बुटवल नगरकमिटि सहितको टोली अनुगमनमा पुगेको थियो । उक्त होटलमा ५÷६ महिना अघि पनि अनुगमन गर्दा फोहोर र सुधार गर्नुपर्ने अवस्थामा भेटिएपछि सञ्चालकलाई निर्देशन गरे पनि अटेर गरेको अर्यालले बताइन् । 

बुटवल उपमहानगरपालिकाका अनुगमन तथा मुल्यांकन शाखाका ठगिश्वर पोखरेलले ग्राहकको गुनासोको आधारमा हैदराबादी दम विरयानीमा अनुगमन गरिएको र ६५ केजी मासु र कुखुराको छाला नष्ट गरिएको बताए । खाद्य ऐन, २०२० ले कुनै पनि खाद्य व्यवसायीलाई जनस्वास्थ्यमा हानी नपुराउने गरी स्वच्छ, सुरक्षित, र स्वस्थ खाद्य पदार्थ उपलब्ध गराउनुपर्ने प्रावधान गरेको छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।