ताजा अपडेट »

प्रहरी महानिरीक्षकद्वारा प्रहरीको महिला भलिबल टोलीलाई बिदाई

आइतबार, २३ भदौ २०८१, २० : २८
66 Shares
आइतबार, २३ भदौ २०८१
66 Shares

काठमाडौँ । नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले मित्रराष्ट्र मालदिभ्समा भदौ ३० गतेदेखि असोज ५ गतेसम्म हुन गइरहेको काभा वुमन्स भलिबल क्लब च्याम्पियनसिपमा सहभागी हुने नेपाल प्रहरीको महिला भलिबल टोलीलाई शुभकामना सहित बिदाइ गरेका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित कार्यक्रमबिच प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीको महिला भलिबल टोलीलाई बिदाइ गरेका हुन । उक्त टोलीमा १२ जना खेलाडी सहित ४ जना अफिसियलहरु रहेका छन् । बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले खेलकुद नेपाल प्रहरीको ऐतिहासिक र अभिन्न अङ्गको रूपमा जोडिएको बताउँदै देशको खेलकुद विकासमा नेपाल प्रहरीले उल्लेखनीय  योगदान  पुर्‍याएको बताए ।

नेपाल प्रहरीका महिला खेलाडीहरूले विभिन्न कालखण्डमा हासिल गरेका उपलब्धिहरूले नेपाल प्रहरीमा सशक्त र क्षमतावान् महिला खेलाडीहरू रहँदै आएका छन् भन्ने कुरालाई समेत पुष्टि गरेको र अन्तर्राष्ट्रिय स्तरमा हुने यस्ता प्रतियोगिताले महिला खेलाडीहरूको क्षमतालाई पुष्टि गर्न थप अवसर प्रदान गर्ने  पनि उल्लेख गरे ।  

प्रहरी महानिरीक्षक कुँवरले महिला भलिबल टोलीले नेपाल प्रहरीको मात्र नभई देशकै प्रतिनिधित्व गरेको हुँदा उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी देश र सङ्गठनको गरिमा उच्च बनाउन सम्पूर्ण खेलाडी तथा प्रशिक्षकहरूलाई शुभकामना समेत दिएका थिए ।  

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।