ताजा अपडेट »

चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा

आइतबार, २३ भदौ २०८१, १३ : १२
32 Shares
आइतबार, २३ भदौ २०८१
32 Shares

काठमाडौं । रसुवागढी र सान्जेन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रसारण लाइनमा जाडिने चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण अन्तिम चरणमा पुगेको छ । त्रिशूली नदी र त्यसका सहायक खोलाहरूमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह हुने उक्त प्रसारण लाइनको निर्माण अन्तिम चरणमा पुगेको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलगायत टोलीले शनिबार प्रसारण लाइन निर्माण कार्यको स्थलगत अनुगमन गरेका छन् । अनुगमनपछि सो प्रसारण लाइन निर्माणको काम दसैंअघि नै सक्ने समयसीमा तय गरिएको प्राधिकरणले जनाएको छ । रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचे चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंसीस्थित त्रिशूली थ्री बी हब सबस्टेसनसम्मको २८ किलोमिटर प्रसारण लाइन निर्माण अन्तिम चरणका कामहरु नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्रसारण लाइन निर्माणका बाँकी काम सम्पन्न गरी दसैं अगाडि नै सञ्चालनमा ल्याउने गरी धमाधम काम भइरहेको छ । चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत नै २२०१३२/३३ केभीका चिलिमे हब र त्रिशूली थ्री बी हब सबस्टेसन निर्माणको काम सम्पन्न भइसकेको छ । प्रसारण लाइनमा पर्ने ७६ वटा टावरमध्ये ७५ वटाको निर्माण सम्पन्न भएको छ । एउटा टावर जडान कार्य अन्तिम चरणमा छ । २८ किलोमिटर प्रसारण लाइनमध्ये पाँच किलोमिटर मात्र तार तान्न बाँकी रहेको प्राधिकरणले बताएको हो । टावर जडान र बाँकी रहेको तार तान्न करिब २ सय जना श्रमिकहरू परिचालित छन् । आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीबीच छलफल गरी निर्माण कार्यमा ढिलाइ नगर्न,  कामदार थपेर कामलाई तीव्रता दिन अनुगमन टोलीले आग्रह गरेको छ ।

टोलीले बाँकी रहेका हरेक काम सम्पन्न गर्ने तालिका तय गरी सोहीअनुसार कार्यसम्पादन गर्न निर्देशन दिएको हो । अन्तिम टावरको जडान कार्य भइरहेको र तार तान्न बाँकी रहेको ठाउँको समेत अनुगमन गरिएको थियो । प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा निर्माण भएका १११ मेगावाटका रसुवागढी र ४२.५ मेगावाटको सान्जेन जलविद्युत् आयोजनाको विद्युत् यही प्रसारण लाइनमा जोडिने छ । दुवै आयोजना निर्माण सम्पन्न भई विद्युत् उत्पादनको चरणमा छन् । जसले गर्दा प्रसारण लाइन निर्माण जतिसक्दो छिट्टो सम्पन्न गर्नु पर्ने दबाब प्राधिकरणलाई छ । कार्यकारी निर्देशक घिसिङले भौगोलिक रूपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा निर्माणाधीन प्रसारण लाइन निरन्तरको प्रयासपछि अब सम्पन्न हुने अवस्था पुगेको बताए ।

‘यो लाइन बन्न नसक्दा दुई जलविद्युत् आयोजनाहरूले विद्युत् उत्पादन सुरु गर्न सकिरहेका छैनन्,’ घिसिङले भने, ‘विकट भौगालिक अवस्थालाई पार लगाउँदै लाइन निर्माण अन्तिम चरणमा पुगेको छ । बाँकी काम सम्पन्न गर्न सबैले अन्तिम प्रयास गरौं र दसैं अगाडि जसरी पनि निर्माण सम्पन्न गरौं ।’ उत्तरगया गाउँपालिका-१ तिरुबाट सोही वडाको सिरुचेतसम्म १ हजार २ सय ३५ मिटर लम्बाइमा तार तान्न बाँकी छ । मैलुङखोलामाथि पर्ने उक्त खण्डमा ड्रोनको प्रयोग गरी तार तानिने प्राधिकरणले जनाएको छ । मैलुङ क्रसिङका लागि लागि सम्पूर्ण तयारी पूरा भएको छ ।

प्रसारण लाइन समुद्री सतहबाट ६८० देखि २६०० मिटरसम्म पर्ने भू-भागमा निर्माण गरिएको छ । ३३ वटा टावर पहुँच सडक नै नभएका ठाउँमा निर्माण गर्नु पर्ने अवस्था थियो । उक्त स्थानसम्म पुग्न छुट्टै पहुँच सडक निर्माण गरिएको छ । आयोजनाले लाइन निर्माणका लागि २० किलोमिटरभन्दा बढी पहुँच सडक बनाएको छ । खच्चड र मानिसबाट निर्माण सामग्री र उपकरणहरू ढुवानी गरी ९ वटा टावर निर्माण गरिएको हो । २ वटा टावर हेलिकोप्टरबाट निर्माण सामग्री ढुवानी गरी निर्माण भएको छ ।

प्रसारण लाइन अन्तर्गत चिलिमे-मैलुङ खण्ड २० किलोमिटर डबल सर्किट र मैलुङ-त्रिशूली थ्री बी हबसम्म ८ किलोमिटर चार (मल्टी) सर्किट लाइन निर्माण गरिएको छ । कोरियन कम्पनीहरूको अगुवाइमा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको विद्युत् जोड्नका लागि मल्टी सर्किट लाइन बनाउन लागिएको प्राधिकरणले जनाएको छ । माथिल्लो त्रिशूली-१ ले मल्टी सर्किट लाइन बनाउँदा भएको खर्चको ६० प्रतिशत रकम बेहोर्नेछ ।

प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि चिनियाँ कम्पनी पिङ्गाओ ग्रुप अफ कम्पनीसँग २०७४ को कात्तिकमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता २०७४ को पुसमा कार्यान्वयनमा आएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।