ताजा अपडेट »

आज थारु समुदायले बड्की अट्वारी मनाउँदै : लुम्बिनीका ६ जिल्लामा सार्वजनिक विदा, मुख्यमन्त्रीले दिए शुभकामना

आइतबार, २३ भदौ २०८१, ०७ : २६
148 Shares
आइतबार, २३ भदौ २०८१
148 Shares

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले थारु समुदायले मनाउने बड्की अट्वारी विशेष धार्मिक र सांस्कृतिक पर्व भएको बताएका छन् । बड्का अट्वारी पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले यस पर्वले थारू समुदायको धर्म, संस्कृति, र परम्परालाई जोगाइराख्न महत्वपूर्ण भूमिका खेल्दै आएको बताए ।

‘थारू समुदायमा बड्काअट्वारी (बड्की अत्वारी)  पर्वको निकै महत्व रहेको छ । कुशे औंसीपछिको पहिलो आइतबार यो पर्व मनाउने गरिन्छ । आइतबार मनाइने हुँदा यो पर्वको नाम अट्वारी राखिएको मान्यता छ । ’ शुभकामना सन्देशमा भनिएको छ, ‘आइतबारलाई रविवार पनि भनिन्छ । रवि अर्थात् सूर्य । सूर्य अग्निको प्रतीक पनि हो । प्रकृति पूजक थारू समुदायले विशेषगरी सूर्यको उपासना, पूजाआजा गरी बड्का अट्वारी पर्व धुमधामका साथ मनाउने प्रचलन रहिआएको छ । यस पर्वले थारू समुदायको धर्म, संस्कृति, र परम्परालाई जोगाइराख्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।’ 

लुम्बिनी प्रदेश सरकार प्रदेशभित्र बसोवास गर्ने सबै जाति, समुदायले मनाउने आ–आफ्नै मौलिक, धार्मिक, सांस्कृतिक परम्पराहरूको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनको लागि प्रतिबद्ध रहेको मुख्यमन्त्री आचार्यले बताए । मौलिक, कला, संस्कृतिहरूको प्रवर्द्धनबाट प्रदेशको पर्यटन विकास गर्न सकिने भएकाले संरक्षणसँगै यसको प्रवर्द्धनमा जुट्न पनि आह्वान गरेका छन् ।

लुम्बिनी प्रदेश सरकाले बड्कीअट्वारी पर्वको अवसरमा लुम्बिनी प्रदेशका थारू समुदायको बसोवास धेरै रहेका दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासी जिल्लामा सार्वजनिक बिदा समेत दिएको छ । थारु समुदायको लोकप्रिय चाड माघि पछिकाे लाेकप्रिय चाडका रूपमा बड्की अट्वारीलाई लिने गरिन्छ । पश्चिम तराईका थारु थारु समुदायमा यसको विशेष रौनक छ। दिनभर बिभिन्न मिठामिठा भोजनहरु गरी साँझ धुमधामपूर्वक नाचगान गर्ने प्रचलन रहेको छ ।

बड्काअट्वारी पर्वमा थारू समुदायका पुरुषहरू उपवास ‘ब्रत’ बस्ने चलन छ । यो पर्व निराहार व्रत बसी सूर्यको पूजा गरी मनाइने सांस्कृतिक मान्यता छ । थारू समुदायले सूर्यलाई उज्यालोको प्रतीकको रूपमा मान्दै आएका छन् । कुशे औंसीपछिको पहिलो आइतबार यो पर्व मनाउने गरिन्छ । आइतबार मनाइने हुँदा यो पर्वको नाम अट्वारी राखिएको मान्यता छ ।

पौराणिक किवदन्ती अनुसार थारु राजा दंगीशरण, पाण्डव र कौरवको बीचको युद्धका नायक भिमसंग समेत जोडेर यो पर्वलाई मनाउने गरिएको बताइएको छ। थारु राजा र पाँच पाण्डवको सम्बन्धलाई बलियो बनाउन यो पर्व मनाइने गरिएको छ । अट्वारीमा शनिवार साँझ दर खाएका थारु समुदायले अर्को दिन दिनभर पानी समेत नपिएर ब्रत बस्ने गर्दछन् । थारु समुदायको प्रमुख पर्व मध्येको यो पर्वमा आजै बेलुका पख घरका छुट्टै कोठामा लिपपोत गरेर चोखो रुपमा रोटी, पूरी पकाएर अट्वारी पूजा गर्ने चलन छ ।

अट्वारीमा रोटी काँक्रा, दही, केरा, अग्रासन झिकेर पूजा गर्ने परम्परा छ । भोलिपल्ट बिहान पाँच अथवा सात प्रकारका गेडागुडीयुक्त तरकारी, भातको फलाहार गरिन्छ । फलाहार गरिसकेपछि आफ्ना चेलीबेटीलाई कोशेली अग्रासन दिन जाने चलन रहेको छ । अट्वारी पर्वलाई आफ्ना चेलीवेटीलाई सम्मान तथा दाजुभाई र दिदीबहिनीबीच एक आपासमा सद्भाव साटासाट गर्ने पर्वका रुपमा पनि लिइने गरेको पाइन्छ । यो पर्वमा थारु समुदायिले विशेष गरी नयाँ विवाहित छोरी–ज्वाँईलाई विशेष सम्मान गर्ने पर्वको रुपमा पनि लिने गर्छन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।