ताजा अपडेट »

भरतपुरको महानगरीय चक्रपथकाे निर्माणअन्तिम चरणमा, डेढ अर्ब लगानी

शनिबार, २२ भदौ २०८१, २३ : ०५
10 Shares
फाइल फाेटाे
शनिबार, २२ भदौ २०८१
10 Shares

चितवन । भरतपुर महानगरपालिकाले रु. एक अर्ब ५० करोडभन्दा बढीको लगानीमा महानगरीय चक्रपथ निर्माण अन्तिम चरणमा पुर्‍याएको छ । सङ्घ र प्रदेश सरकारसँगको सहकार्यमा यो बृहत् आयोजना अन्तिम चरणमा पुर्‍याइएको हो । 

राप्ती र नारायणी नदी, मध्यवर्ती र सामुदायिक वन किनार हुँदै महानगरको अधिकांश भागलाई समेट्ने गरी ८८ दशमलव छ किलोमिटर लामो चक्रपथ निर्माण गरिएको हो । महानगर प्रमुख रेणु दाहालले भरतपुर महानगरपालिका, सङ्घीय सरकारको डिभिजन सडक कार्यालय, सघन सहरी तथा भवन निर्माण आयोजना र प्रदेश सरकारको प्रदेश पूर्वाधार कार्यालयले विभिन्न खण्ड छुट्टाएर चक्रपथ निर्माण गरिएको जानकारी दिइन ।

उनका अनुसार झन्डै ९० प्रतिशत काम सम्पन्न भएको छ । बाँकी कामका लागि पनि बोलपत्र आह्वान गरिसकिएको छ ।चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती र वन क्षेत्रमा रुख कटानको समस्याले केही साँघुरो भए पनि अधिकांश ठाउँमा सात मिटर कालो पत्र गरिएको छ । चक्रपथले पूर्वपश्चिम राजमार्ग, नारायणगढ–मुग्लिङ सडक, बाइपास सडक र प्रचण्ड मार्गलाई समेत ठाउँ ठाउँमा जोडेको  बताउँदै महानगर प्रमुख दाहालले सङ्घीयताको नमुना परियोजनाका रूपमा  यसलाई लिन सकिने बताइन ।”

यो देशकै सबैभन्दा लामो चक्रपथ भएको उनको भनाइ छ । दाहालले एउटै निकायले मात्र काम गर्न सम्भव नभएपछि सबैसँगको सहकार्यमा काम गरिएको बताइन । काम सम्पन्न गरेर थप व्यवस्थित बनाउने काममा महानगर जुट्ने उनको भनाइ छ । यसले पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको, आर्थिक गतिविधि चलायमान भएको, जीवनस्तर उकास्न सहयोगी बनेको प्रमुख दाहालले बताइन ।

भरतपुर महानगरपालिकाका इन्जिनियर साकार लामाले ठाउँ ठाउँमा गरेर चार दशमलव एक किलोमिटर सडक कालो पत्र गर्न बाँकी रहेकामा बोलपत्र आह्वान भइसकेको बताए। सङ्घीय सरकारको रु १० करोडको लागतमा बोलपत्र आह्वान भएको हो । यो काम सम्पन्न भएपछि चक्रपथको सम्पूर्ण भाग कालो पत्र हुनेछ । भरतपुर महानगरपालिकाको वडा नं २७ र २८ क्षेत्रको नारायणी नदी वारिका तीन ठाउँमा बाँकी रहेका भागको सडक डिभिजन कार्यालयले ठेक्का लगाएको हो । लामाले भने, “गाउँ गाउँलाई भरतपुरको मुख्य सहरसँग जोड्न चक्रपथ उपयोगी भएको छ ।

 पश्चिम चितवनमा रहेका ठुला होटेल हुँदै चक्रपथ बनेकाले पर्यटन क्षेत्रमा पनि यसले सकारात्मक प्रभाव पार्ने उहाँको भनाइ छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।