ताजा अपडेट »

प्रकाश सपूतको चलचित्र ‘वसन्त’को शुभमूर्हत

शनिबार, २२ भदौ २०८१, २१ : ५२
20 Shares
शनिबार, २२ भदौ २०८१
20 Shares

गण्डकी । गलबन्दी प्रडक्सनको ब्यानरमा बन्न लागेको चलचित्र ‘वसन्त’को शनिबार बागलुङको प्रसिद्ध कालिका भगवती मन्दिर परिसरमा शुभमूर्हत गरिएको छ । चलचित्रका निर्देशक एवं अभिनेता प्रकाश सपूत र अभिनेत्री स्वस्तिमा खड्काले क्यामेरामा पूजाअर्चना गरी चलचित्र छायाँकनको सुरुआत गरेका हुन् । सोही क्रममा चलचित्रमा सपना विकको भूमिकामा रहेकी कलाकार शिवाङ्सी श्री र प्रेमआर क्षेत्रीको भूमिकामा रहेका कलाकार प्रभातपाल ठकुरीले चलचित्रको छोटो सम्वाद सुनाएका थिए । 

शुभमूर्हत समारोहमा बोल्दै चलचित्रका निर्मातासमेत रहेका अभिनेता सपूतले चलचित्र ‘वसन्त’ आफ्नो पुस्ताले बाँचेको समयको कथामा आधारित रहेको बताए । चलचित्रको ९० प्रतिशत छायाङ्कन आफ्नो गृहथलो बागलुङमा हुने उनको भनाइ छ ।  “चलचित्रलमा दर्शकले आफ्नै गाउँठाउँको कथा पाउनुहुनेछ, यसमा नेपालीपन हुनेछ, मौलिक लवज र सङ्गीत हुनेछ”, सपूतले भने, “चलचित्रले हाम्रै समयको कथा भन्छ, सामाजिक विषयवस्तु यसमा मुखरित छ ।” 

चलचित्रलमा आफ्नै जन्मगाउँ बागलुङ्को धम्जा गाउँको परिवेश र कथावस्तु चित्रित हुने उनको भनाइ छ । अभिनेता सपूतले चलचित्र ‘वसन्त’ मार्फत बागलुङको सभ्यता, कला, संस्कृति र जनजीवनका कथाव्यथा उजागर गर्नमा मद्दत पुग्ने विश्वास व्यक्त गरे । 

अभिनेत्री खड्काले चलचित्र छायाङ्कनका क्रममा बागलुङ आउन पाउँदा थप ऊर्जा मिलेको प्रतिक्रिया दिइन् । गलबन्दी प्रडक्सनका कार्यकारी प्रमुख दिल शिरीषका अनुसार दुई महिनामा चलचित्र छायाँकन पूरा गर्ने लक्ष्य लिइएको छ । 

चलचित्रको छायाङ्कन बागलुङसहित केही भाग काठमाडौं र तराईमा गरिने उनको भनाइ छ । गायन क्षेत्रमासमेत चर्चित सपूतले पहिलोपटक आफ्नै चलचित्र निर्देशन गर्न लागेका हुन् । गायन करिअरको शिखरमा रहेकै बेला उनले चलचित्र निर्माण तथा निर्देशन गर्न लागेका हुन् । सपूत नारायण रायमाझीद्वारा निर्देशित चलचित्र ‘परेदशी–२’ बाट अभिनेताका रुपमा उदाएका थिए । ‘वसन्त’मा पनि उनी आफैं मुख्य पात्रका रुपमा देखिँदै छन् । 

चैते दसैँ र नयाँ वर्षलाई लक्षित गरी आगामी चैत २२ गतेलाई चलचित्रको प्रर्दशन मिति तोकिएको छ । विश्वकर्मा समुदायको युवकले लेखक बन्ने सपना पूरा गर्न गरेको सङ्घर्ष र उसको प्रेमकथालाई चलचित्रमा देखाउन खोजिएको निर्देशक सपूतले बताए । कथा, सङ्गीत, निर्देशन, पात्र र चरित्र निर्वाहका दृष्टिले चलचित्रमा नेपालीपन दिन खोजिएको उनको भनाइ छ । 

चलचत्रिमा ‘शान्ति’ पात्रका रुपमा अभिनेत्री स्वस्तिमा खड्काले सपूतलाई साथ दिनेछिन् । गलबन्दी प्रडक्सनको ब्यानरमा बन्ने चलचित्रमा अनुप बराल, प्रकाश घिमिरे, कमलमणि नेपाललगायतको अभिनय रहनेछ । चलचित्रको कथा र सङ्गीत पनि सपूत आफैँले तयार पारेका छन् । चलचित्रको सह-निर्देशन सुनिल विकले गर्ने जनाइएको छ । चलचित्रको कार्यकारी निर्मातामा मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नेन्सी शेरचन रहेका छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।