ताजा अपडेट »

तीजमा लुम्बिनी पुग्दा...

शनिबार, २२ भदौ २०८१, ०८ : ४६
376 Shares
शनिबार, २२ भदौ २०८१
376 Shares

गौतमबुद्धको जन्मथलो पवित्र लुम्बिनी पुग्दा साँझको साढे चार बज्दै थियो । कुरो शुक्रबार तीजको थियो । बुटवल कालिका क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर गलामीको अनुरोधमा जापानीज नागरिक यूइका र कालिका मानवज्ञान माविकी शिक्षक सिम्रन पनि हाम्रै यात्राका सारथी थिए । सन् १९९७ देखि लुम्बिनी विश्व सम्पदा सूचीमा सूचिकृत भएको हो । बौद्धमार्गीका लागि पवित्रभूमि मानिएको लुम्बिनी हाम्रा लागि पानी पँधेरो भएको छ । बुटवलबाट ४४ किलोमीटर दूरीमा रहेको यो भूमि टेक्न यातायातका साधन सहज भएका छन् । बाटो पनि फराकिलो । 

होमबहादुर दाइले यूइकालाई लुम्बिनी घुमाउन लैजान पर्यो भनेपछि म पनि उनीहरुको साथमा लागेको हुँ । जापानीज नागरिक यूइका, उमेरले १८ वर्षकी भइन् । सानै उमेरमा उनी संसारका धेरै देश पुगेकी रहेछिन् । यतिबेला उनी स्वयम्सेवक शिक्षकका रुपमा बुटवल आएको पनि एक महिना पुग्यो । दुई हप्ता अझै यतै बस्ने कुराको जानकारी अध्यक्ष गलामी दाइले जानकारी दिदैं मोटर हाँक्दै थिए । यूईका जिज्ञासु छिन् । टुटेफुटेको अंग्रेजीमा घरिघरि दाइसँग आफूलाई आवश्यक कुरा मुस्कुराउँदै सोध्छिन् । दाइले पनि आफ्नै लयमा उत्तर फर्काउँछन् र उनको जिज्ञासा मेट्न प्रयत्न गर्छन् । 

lumbini1

हामीले लुम्बिनी पुगेपछि लुम्बिनी शान्ति स्तूप हेरेका थियौं । जापानीज मन्दिरको पनि दर्शन गर्यौं । आफ्नो देशले बनाएको शान्ति स्तूप र मन्दिर घुमेपछि यूइका खुसी प्रकट गर्दै हामीसँग  फोटो खिच्न हतारिइन्  । सात वर्ष लगाएर बनाइएको उक्त स्तूपको डिजाइनर्स जापानीज डा.एम ओओका रहेछन् । ४१.५ मिटर अग्लो उक्त स्तूपको आधारस्तम्भ ५९ मिटर र गोलाई २० मिटर रहेछ । मैले पनि स्तूप अघिपट्टि रहेको जापानीज मन्दिरको पूजाघरमा एकसय २० रुपैयाँ तिरेर ४ वटा शान्तिदीप बालेर आफ्नो जन्मदिन मनाएँ । 

त्यसपछि हामी भियतनामी मन्दिर हेर्न पुग्यौं । कलात्मक मन्दिर हेरेपछि हामीहरु दङ्ग परियो । गलामी दाइले भियतनामका बारेमा छोटो जानकारी गराए । लडाइँ भइरहने देशमा भियतनाम पनि पर्दोरहेछ । तर लुम्बिनीमा सो देशले निर्माण गरेको मन्दिर हेरेपछि मन शान्त भयो । हतारहतारमा हामी लुम्बिनीको अखण्ड विश्व शान्तिदीप हेर्न पुग्यौं । त्यतिबेला घाम अस्ताउनै लागेको थियो । विश्व शान्तिदीप सन् १९८६ नोभेम्वर १ तारिखमा तत्कालीन अधिराजकुमार ज्ञानेन्द्रले प्रज्ज्वलित गरेका थिए । छेउकै नहरमा डुंगा भने चलेको थिएन । पानी कञ्चन नदेखेपछि मन पनि उज्यालो हुन सकेन । 

shanti deep

हामी छिटोछिटो मायादेवी मन्दिरतिर लम्कियौं । विदेशी नागरिक भएको कारण यूइकालाई मायादेवी मन्दिर प्रवेशका लागि नेपाली सात सय रुपैयाँ तिर्नुपर्ने भयो । रुपन्देहीबासीले प्रवेश शुल्क तिर्न नपर्ने रहेछ ।  मायादेवी मन्दिरभित्र गौतमबुद्धको पाइला देखायौं । यूइकाले बढो कौतुहलतापूर्वक हेरिन् । त्यतिबेला सिम्रनले मन्दिरको इँट्टामा हातका औंला घसारेर निक्लिएको माटोको धूलोलाई निधारमा लुीम्बनीको टीका ठानेर लगाइन् । दुवैजना खुसी भए । 
मन्दिर बाहिर हामीले अशोकस्तम्भलाई इन्सेटमा राखेर फोटो खिच्यौं । ई.प.२४९ मा लुम्बिनीको दर्शन गरेका प्रसिद्ध मौर्य सम्राट अशोकले उक्त स्तम्भ बनाएको कुरा थाहा पाउन सकिन्छ । साथै सोही स्तम्भले नै गौतमबुद्ध नेपालमा जन्मिएका थिएभन्ने सूचना  दिने गरेको छ । मायादेवी मन्दिरनिरको शान्त पोखरी, ध्यान गर्ने पीपलको रुख, ध्यान गरिरहेका भिक्षुहरुलाई देखेपछि कैयौं दिनदेखि विक्षिप्त मेरो मन शान्त भएको थियो । 

फर्केर तीन पाङग्रे टेम्पोमा फेरि चढ्यौं । महिलवारमा रहेको दाइको मोटर नजिक ओर्लियौं । यूइकालाई लुम्बिनीको चिनोस्वरुप गौतमबुद्धको लकेट उपहार दिने अवसर मिल्यो । खुसीले उनी पुलकित भइँन् । हामीले पर्सा चौराहमा चिया, नमकिन, भुजुरी र पकौडी खायौं । चिया अतिनै मीठो थियो । यूइकाले भुजुरी र नमकिन मीठो मानेर खाइन् । खाइएका बस्तुहरुको उच्चारण समेत उनले गतिलरी गरिन् । उनले नेपाली परिकार मिठो लाग्ने समेत सुनाइन् ।

team lumbini 

बुटवल फर्किदा साँझको साढे सात बजिसकेको थियो । छोटो तर मीठो लुम्बिनी अवलोकन भ्रमणले हामीलाई र हाम्रो मनमस्तिष्कलाई पुनर्ताजगी बनायो । यूइकालाई लुम्बिनी घुमाउन पाएकोमा गलामी दाइ असाध्यै खुसी भए । सिम्रनले पनि तीजको दिन लुम्बिनी घुम्न पाएकोमा खुसी ब्यक्त गरिन् । तीजलाई लुम्बिनीमा खर्चिन पाएकोमा मपनि विपत्ता खुसी भएँ । जाँदा बुद्धनगर र आउँदा भलवारीचोकमा तीजको गीत र नृत्य चलिरहेकै थियो । यसरी लुम्बिनीमा घुमघाम गर्दै तीज मनाउन पाउँदा खुसीको सीमा रहेन । 


 

दलबहादुर गुरुङ
लेखकको बारेमा
दलबहादुर गुरुङ
स्तम्भकार