ताजा अपडेट »
पदधीकारी नियूक्त

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी नियुक्त, दूरसञ्चार क्षेत्रमा तीन दशकाे अनुभव

शुक्रबार, २१ भदौ २०८१, २१ : १४
70 Shares
शुक्रबार, २१ भदौ २०८१
70 Shares

काठमाडौं ।  सरकारले नेपाल टेलिकमको प्रमुखमा संगीता पहाडीलाई नियुक्त गर्ने निर्णय गरेकाे छ। बिहीबार बसेको मन्त्रिपरिषद्‌ बैठकले उनलाई नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो । पहाडीलाई आगामी चार वर्षको लागि उक्त पदमा नियुक्त गर्ने निर्णय गरीएकाे हाे । तीन दशक लामो समय दूरसञ्चार क्षेत्रमा बिताएकी संगीता पहाडीले हाल सम्म निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाली रहेकी थिइन ।

तत्कालीन सञ्चार सचिव रामकृष्ण सुवेदीको संयोजकत्वमा गठित छनोट समितिले असार २०, २१ र २२ मा १६ उम्मेदवारलाई कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता लिएर पहाडीसहित जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झा र विमल आचार्यको  नाम सिफारिस गरेकाे थियाे । सिफारिस तीन जना मध्यबाट पहाडी लाइ मन्त्रीपरीषादले नियूक्त गरेकाे हाे ।

यसअघि सरकारले पहाडीलाई अर्को व्यवस्था नभएसम्मका लागि भन्दै  निमित्त प्रबन्ध निर्देशक भई कामकाज गर्ने जिम्मेवारी ताेकेकाे थियो । टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल भ्रष्टाचार मुद्दामा मुछिएसँगै पहाडीले असोज २०८० यता कम्पनीको निमित्त प्रबन्ध निर्देशकको रूपमा काम गर्दै आइरहेकी छिन् ।

त्यसअघि उनले कम्पनीको नायव प्रबन्ध निर्देशकको रूपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आएकी थिइन् । उनले भारतको अलाहावाद युनिभर्सिटीबाट बीई र थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एमई गरेकी छिन् ।

२०४९ चैत २३ गते तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर टेलिकम सेवामा उनले प्रवेश गरेकी थिइन् । २०५१ फागुन १० गते दूरसञ्चार संस्थानमा स्थायी नियुक्ति लिएकी उनी २०७८ माघ १८ गते नायब प्रबन्ध निर्देशक पदमा बढुवा भएकी थिइन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।