फागुन २,
ग्लोबल आवाज
बुटवल । बुटवल उपमहानगरपालिका वडा नं. ११ कालिकानगरमा अवस्थित इन्टलेक्च्युअल एकेडेमीको ११ औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाईएको छ । शुक्रबार बिद्यालयमा कार्यक्रमको आयोजना गरि मनाईएको बार्षिकोत्सव तथा अभिभावक दिवस समारोहमा बोल्ने वक्ताहरुले अबको शिक्षा सीपयुक्त र व्यबहारिक हुनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका शिक्षा तथा स्वास्थ्य महाशाखाका प्रमुख मित्रमणी खनालले अबको शिक्षा प्राबिधिक र उपयोगी हुनु पर्नेमा जोड दिए। सीप बिनाको शिक्षाको कुनै औचित्य नरहेको बताउँदै उनले अब सबै बिद्यालयले प्राबिधिक शिक्षालाई जोड्नुपर्ने भनाई राखेका थिए । उनले शिक्षामा नीजि क्षेत्रलाई अव कसैले पनि नकार्न नसक्ने बताउँदै आत्तिहाल्नुपर्ने अवस्था नरहेको जानकारी गराए । त्यस्तैगरी बुटवल उपमहानगरपालिका वडा नं. ११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले बिद्यालय स्थापनाको छोटो समयमा नै पहिचान स्थापित गर्न सफल भएको बताउँदै स्थापित पहिचानलाई कायम राख्नकालागि शिक्षाको गुणस्तरलाई अझै बृद्धि गर्नुपर्ने भनाई राखेका थिए । कार्यक्रममा बोल्दै प्याब्सन रुपन्देहीका अध्यक्ष लेखनाथ पौडेलले नेपालका शैक्षिक बिकासमा नीजि बिद्यालयको भूमिका महत्वपूर्ण रहेको बताउँदै नीजि क्षेत्रलाई हेर्ने दृष्टिकोणमा सुधार गर्नुपर्ने भनाई राखेका थिए ।
बिद्यालय सञ्चालक समितिका अध्यक्ष डिल्लीराज अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिका कार्यपालिका सदस्य सुस्मा अर्याल, बिद्यालयका प्रवन्ध निर्देशक रामराज पाख्रेल, बिद्यार्थीहरु सिमरन थापा, झरना थापा, एञ्जिला पोख्रेल, संगिता पौडेल लगायतले भनाई राखको थिए । बिद्यालयको बार्षिकोत्सव समारोहमा बिद्यालय स्थापना कालदेखि हालसम्म निरन्तर काम गर्दै आएका १० जना शिक्षक तथा कर्मचारीलाई कदरपत्र सहित सम्मान गरिएको थियो भने अघिल्लो शैक्षिक सत्रमा उत्कृष्ट भएका बिद्यार्थी तथा बिद्यालयले सञ्चालन गरेका अतिरिक्त कार्यक्रममा प्रथम, द्वितीय तथा तृतीय भएका बिद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो । त्यसै अवसरमा बिद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया